जो जतिबेलै बिरामीको सहारा बन्छन्
काठमाडौं । झम्के साँझ, मध्येरात वा झिसमिसे बिहान । दिनरात, घामपानी नभनी साइरन बजाउँदै हुँइकिरहेका हुन्छन्, राम फुँयाल । उनलाई जतिबेलै एउटै कुराको चिन्ता हुन्छ, कतिबेला बिरामीसम्म पुगेर छिटोभन्दा छिटो अस्पताल पुर्याउनु !
प्रायः उनको दैनिकी शुरू हुन्छ फोनको घण्टीबाट । अफिस होस् वा घर । फोनको घण्टी बज्नासाथ उनी तयार भइहाल्छन्, बिरामीसम्म पुग्न । एघार वर्षदेखि उनी जीवन–मरणको दोसाँधमा छट्पटाइरहेका बिरामीसँग मात्रै ‘संगत’ गरिरहेका छन् ।
दीर्घरोगले थलिएका मानिस वा सुत्केरी व्यथाले च्यापेकी महिला । रोगका बारेमा थाहै नभएका अबोध बालक वा रगताम्य भएर सडकमा लडिरहेको घाइते । सबै प्रकारका बिरामी बोक्छन् उनी । उनले बोक्ने बिरामी फरक हुन्छन् तर, पीडा उही । त्यही पीडामा मलम लगाउन पुग्छन् उनी ।
ढिलो भन्ने शब्द छैन उनीसँग । ‘जति चाँडो त्यति नै धेरै बिरामीको ज्यान बच्ने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘समयसँग म कुनै सम्झौता गर्दिनँ । मलाई थाहा छ, बिरामीको पीडा र अस्पताल पुग्ने अभिलाषा ।’
उनले रोगका किटाणुले मान्छेलाई भित्र–भित्रै खाइरहेको मात्र होइन सिङ्गो शरीर निलेको कैयौं पटक देखेका छन् । बिरामीलाई अस्पताल पुर्याउँदा होस् वा अस्पतालबाट डिस्चार्ज गरेर घर फर्काउँदा, आफ्नै आँखा अगाडि कैयौंको प्राण गएको दृश्यले उनको मन अमिलो बनाउँछ । यी दृश्यबाट ओझेल पर्नै सक्दैनन् उनी । ‘मान्छेको जीवन कहाँ सजिलो रहेछ र ! प्राण त्याग्न झनै गाह्रो !’ बोल्दा बोल्दै एकछिन रोकिए उनी । धेरैपटक यी दृश्य देखिरहँदा मन थाम्न नसकेर आँशु समेत झरेका छन् उनका । हरेक बिरामीको पीडा उनलाई आफ्नै पीडा जस्तो लाग्छ ।
धेरै प्रेसरमा एम्बुलेन्स कुदाउनुपर्छ, हाम्रो उद्देश्य चाँडोभन्दा चाँडो बिरामीलाई कसरी अस्पताल पु¥याउने भन्ने हुन्छ । तर, बाटोमा एम्बुलेन्सको साइरन सुनेर पनि बाटो छोड्दैनन्, जसकारण बिरामीको ज्यानै जान सक्छ ।
‘भर्खरै आफन्त साथीभाइसँग रमाइरहेको व्यक्ति एकैछिनमा ‘हट–अट्याक’ को शिकार बन्छ । कैयौं सपना बोकेका जोसिला युवा हेर्दाहेर्दै संसारबाट बिदा हुन्छन् । अबोध बालक जसले जीवन र जगतको किताब पढ्नै पाएको छैन, रोग र मृत्यु के हो भन्ने थाहै छैन, ऊ निको नहुने रोगबाट ग्रसित छ । यी सबै दृश्यको साक्षी बनिरहँदा उनको मनमस्तिष्क कहिलेकाहीं चेतनशून्य बन्छ पुग्छ । ‘मानिसको जीवन कहाँको जन्म, कहाँको मरण !’ यी शब्दलाई मनन् गर्दै उनी चित्त बुझाउन बाध्य हुन्छन् ।
एम्बुलेन्स चालकका रूपमा काम गर्दाका शुरूआती दिन उनका लागि निकै कठिन थिए । ‘दिनरात बिरामीसँग मात्र हिंड्नुपर्ने । सधैं बिरामीसँग सम्पर्क हुने भएकाले परिवारका सदस्य समेत सशंकित बने । अर्कोतिर यसले रोग ल्याउने भो भनेर परिवार, छर–छिमेक सबै त्रसित थिए’, उनले भने ।
शुरूका दिनमा आफ्नो पेशाप्रति उनी आफैं पनि सशंकित नभएका होइनन् । कतै आफू पनि बिरामी हुने हो कि भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो । ‘बिरामी पीडाले छटपटाइ रहँदा आफू पनि बिरामी भइयोे भने यस्तै पीडा हुन्छ होला भनेर मन पोल्ने गरेको’ उनी वेदना सुनाउँछन् ।
बिरामीको स्याहार गर्दा गर्वानुभूत
एकताका त उनलाई जागिर नै छोडिदिउँ कि भन्ने पनि लाग्यो । तर, पछि उनको मनले भन्यो, योभन्दा ठूलो मानवीय सेवा के होला र ? मृत्युको मुखमा पुगेको बिरामी बचाउन प्रयत्न गर्नुभन्दा ठूलो धर्म कहाँ पाइएला ? त्यसपछि उनले पेशा नछाड्ने प्रण गरे ।
उनले र् याल–सिंगान र रगतले शरीर पोतिएका कैयौं बिरामीलाई अस्पताल पुर् याएका छन् । आफ्नै हातले कैयौं पटक बिरामीको र् याल–सिंगान पुछिदिएका छन् । आजकाल त उनलाई घिन पनि लाग्न छाडिसकेको छ । उनले बिरामीको छटपटी, पीडा, दुःख, जीवनको अन्तिम सत्य सबै देखे/भोगेका छन् ।
एम्बुलेन्स रोकेर सुत्केरी गराउँदा…
उनको पेशागत अनुभवमा पीडा मात्रै छैनन्, खुसीका क्षण पनि उत्तिकै छन् । उनले एम्बुलेन्स सडक छेउमा रोकेर कैयौं महिलालाई सुत्केरी समेत गराएका छन् । उनी यसका लागि तालिमप्राप्त छन् । एकछिन अघि व्यथाले चिच्याइरहेकी महिलालाई एकछिनपछि साल–नाल काटेर बच्चा हातमा दिंदाको क्षण निकै सुखद् भएको उनले सुनाए । त्यस्तै, कैयौं बिरामी र घाइतेलाई चाँडैै अस्पताल पुर् याएर बचाएको क्षणले पनि उनलाई उत्तिकै खुसी दिएको छ ।
उनीसँग यस्ता पनि क्षण छन् जसमा उनी आफैंसँग कृतज्ञ बन्छन् । उनले त्यस्तै एउटा घटना सुनाए । ‘एकजना बिरामी बोकेर काठमाडौंबाट इटहरी जाँदैथिए, सिन्धुलीमा पुगेपछि बिरामीलाई लगाउने अक्सिजन सकियो । बिरामी अक्सिजन नपाएर छटपटिन थाल्यो । जंगलका बीचमा थियौं, मैले यति चाँडो एम्बुलेन्स कुदाएँ, त्यहाँ दुर्घटना हुनसक्ने संभावना धेरै थियो ।
मलाई एम्बुलेन्स दुर्घटना हुन्छ होला भन्ने पीरभन्दा पनि बिरामीलाई कसरी बचाउने भन्नेमा ध्यान केन्द्रित थियो । जसोतसो सिन्धुली पुग्यौं । त्यहाँका अस्पतालमा अक्सिजन नै भेट्टाइएन । बिरामीका आफन्तको ओठमुख सुकिसकेको थियो । बिरामीको अवस्था झन्–झन् नाजुक बन्दै गइरहेको थियो । धेरै ठाउँमा खोज्दा पनि अक्सिजन नपाएपछि म पनि निरास बनिसकेको थिएँ तर, आशा भने मारिनँ । आफूले सक्ने प्रयत्न गरें । अन्त्यमा एउटा अक्सिजनको सिलिन्डर भेटियो । र, बिरामीको ज्यान बच्यो’ बोल्दा बोल्दै उनी गर्वानुभूतिले पुलकित भए ।
आफैं गर्छन् प्राथमिक उपचार
उनले एम्बुलेन्स चलाएर बिरामीलाई अस्पताल लैजाने ल्याउने काम मात्रै गर्दैनन् । परिआएको खण्डमा बिरामी र घाइतेलाई प्राथमिक उपचार समेत गर्छन् । रित्तो एम्बुलेन्स गुडाइरहेको अवस्थामा सडकमा सवारी दुर्घटना भएको देखे भने घाइतेलाई बचाउन अघि बढिहाल्छन् उनी । ‘घाइतेलाई देख्दा–देख्दै त्यतिकै सडकमा छाडेर अगाडि बढ्नै सक्दिनँ म । घाइतेलाई बचाउनु आफ्नो पहिलो जिम्मेवारी ठान्छु । अस्पताल पुर्याउनु अघिको उपचारसहित घाइतेलाई नजिकभन्दा नजिकको अस्पताल पुर् याउँछु’, उनले भने ।
असहाय र गरीब बिरामी बोक्दा उनी निकै संवेदनशील हुन्छन् । ‘नाजुक आर्थिक अवस्था भएका बिरामीका आफन्तलाई बिरामीको अवस्थाले त पोलिरहेकै हुन्छ, त्यो भन्दा पनि ठूलो पीडा अस्पतालमा लाग्ने खर्च कसरी धान्ने भन्ने हुन्छ । यस्ता बिरामीलाई म कहिल्यै पनि निजी अस्पताल पुर् याउँदिन । सरकारी अस्पताल नै लैजाने गर्छु । जहाँ बिरामीको उपचार पनि राम्रो होस् पैसा पनि कम लागोस्’, उनले भने ।
एम्बुलेन्समा हुँइकिरहँदा उनले कैयौं समस्या झेलेका छन् । हाल विश्वभर फैलिरहेको ‘कोभिड–१९’ को महामारीले रामको जीवनमा समस्यै–समस्याको चाङ थपिदिएको छ । उनको काम गर्ने संस्थाका केही एम्बुलेन्सले कोरोनाका बिरामी समेत बोक्ने भएकाले उनी धेरै नै संवेदनशील क्षेत्रमा छन् । यो कुरा उनलाई थाहा छ । र, यसमा उनी निकै संवेदनशील र सचेत पनि छन् ।
समझदार परिवार, असामाजिक छिमेकी !
उनको समस्या परिवारले पनि बुझेका छन् । तर, छिमेकी र नातेदार भने उनलाई देख्ने बित्तिकै भागाभाग गर्छन् । छिमेकीले गर्ने छि–छि र दुरदुरको अवस्थाभन्दा पनि उनी आफैं छिमेकीलाई केही नहोस् भनेर चिन्तित बन्छन् । आजकाल उनी कसैलाई भेट्दैनन् । काममा आउँदा र जाँदा बाहेक घर बाहिर समेत निस्किन छाडेका छन् उनी । ‘मलाई बाटो वा पसलमा देख्नासाथ अन्य मानिसहरू भागेको देख्दा निकै चित्त दुख्छ, म पनि मान्छे हुँ । तर, मेरा कारण अरूले दुःख भोग्नु नपरोस् भन्नेमा म आफैं सचेत छु ।’
‘सडकमा प्राथमिकता नपाउँदा चित्त दुख्छ’
नेपालमा एम्बुलेन्सको साइरनलाई बेवास्ता गरेर अन्य सवारी साधनले बाटो नछोड्ने प्रवृत्तिप्रति उनको दुःखेसो छ । ‘धेरै प्रेसरमा एम्बुलेन्स कुदाउनुपर्छ, हाम्रो उद्देश्य चाँडोभन्दा चाँडो बिरामीलाई कसरी अस्पताल पुर् याउने भन्ने हुन्छ । तर, बाटोमा एम्बुलेन्सको साइरन सुनेर पनि बाटो छोड्दैनन् जसका कारण बिरामीको ज्यानै जान सक्छ’, उनले भने ।
रामले कुदाउने एम्बुलेन्स ‘नेपाल एम्बुलेन्स सेवा’ को हो । जसमा एकजना स्वास्थ्यकर्मीसहित बिरामी अस्पताल पुर् याउनु अघिको प्राथमिक उपचारका सबै सामग्री उपलब्ध छन् । उनी पनि मेडिकल तालिमप्राप्त चालक हुन् । उनले पाटन अस्पतालबाट विभिन्न समयमा मेडिकल सम्बन्धी विभिन्न तालिम लिएका छन् । आपतकालीन अवस्थामा महिलालाई सुत्केरी कसरी गराउने भन्ने कुराको तालिम लिएका छन् उनले ।
एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बिरामीलाई अस्पताल पुर् याउनु अघिको प्राथमिक उपचार सबै गरिन्छ । उनी चाँडै यो पेशाबाट ‘रिटायर्ड’ नहुने बताउँछन् ।