विज्ञान भर्सेस अध्यात्म
फिल्म समिक्षा : डाकिनी
फिल्म शुरू हुनुअघिको कि–नोट स्पिचमा निर्देशक खिन्से नोर्बु भन्छन्, “अहिले मानिसहरू विज्ञान र तर्कतिर निकै आकर्षित भैरहेका छन् । जेमा पनि प्रमाण खोजिरहेका हुन्छन् । मलाई लाग्छ सधैं तर्क र कारणको दास हुनु ठीक होइन । म यो कुरा बुझाउन, पढाउन चाहन्छु ।”
बौद्ध धर्मका यी ठूला गुरुको वाक्यमा फिल्म ‘डाकिनी’को बटमलाइन लुकेको छ । डाकिनी अर्थात् अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, तारादेवी जस्ता देवी (डाकिनी)हरूका मिथक र कथा निहित छन् । फिल्मले बौद्ध दर्शनको यही मिथकको कथा पेश गर्छ । समीक्षकसँग सँगै फिल्म हेरेकी आनी छोइङ डोल्माकै भनाइमा ‘बुझ्नेलाई कुरा गहिरो छ ।’
काठमाडौंमा क्याफे चलाएर बसिरहेको एक युवालाई सपनामा केही संकेत मिल्छ । एकदिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि शुरू हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।
फिल्मको मुख्य द्वन्द्व चाहिं विश्वास, अन्धविश्वास, चमत्कार र मिथक हुन् । बौद्ध ज्ञान पढाउने माध्यमका रूपमा ‘डाकिनी’ एउटा क्लासरुम फिल्म पनि बन्न सक्छ । एक साताभित्रै मर्नुपर्ने बाध्यता आइलागेपछि मुख्य पात्रको जीवन, सोच र दर्शनमा कसरी बाध्यात्मक रूपान्तरण आइलाग्छ भन्ने दृश्यभाषालाई रोचक रूपमा भनिएको छ । जब कुनै उपाय हुँदैन, तब बुद्धले परिभाषित गरेजस्तो विकारलाई आत्मसात् गर्न बाध्य हुने मानवीय चरित्र ‘डाकिनी’ को मर्म हो । लियिनर स्टाइलको न्यारेसनमा रिम्पोछेले कथा वाचन गरेका छन् ।
बौद्ध मिथक प्राग्ऐतिहासिक भनिए पनि फिल्मले नेपाली समाजको आधुनिक डाकिनीलाई चित्रण गर्छ । ती मोर्डन डाकिनी जोसँग स्टाइलिस आवरण छ र लुकेको दैवी शक्तिरूपी आत्मा पनि । झट्ट हेर्दा नचिनिने यी डाकिनीलाई चिन्न चाहिने त्याग र तपस्याबारे फिल्मको सन्देश शक्तिशाली महसूस हुन्छ । पाटन र पनौतीको सेटिङ एवं भूकम्प पछाडिको सामाजिक मनोविज्ञानमा लुकेको सुषुप्ततालाई फिल्मले चित्रण गर्छ । दर्शन, समाज र राजनीतिलाई मिश्रित गरेर बनाइएको सरल फिल्म हो ‘डाकिनी’ ।
तिब्बती मूलका भुटानी निर्देशक रिम्पोछेले एउटा महत्वपूर्ण दार्शनिक सवाल खडा गरेका छन् । त्यो हो : ओरिएन्टेल भर्सेस अक्सिडेन्टल । भन्नुको अर्थ कुनै चीजलाई हेर्ने पूर्वीय र पश्चिमा मान्यताबीचको लडाइँ । तर्क र प्रमाण खोज्ने पश्चिमा मूल्य र आध्यात्मिक चमत्कारमा विश्वास गर्ने पूर्वीय समाज । घुमाउरो ढंगले पूर्वीय दार्शनिक मूल्यको जित चित्रण गर्छ फिल्म ‘डाकिनी’ले । सपना र चमत्कारमा विश्वास नगर्ने प्रोटागोनिस्ट तेन्जिङ क्रमशः यी मिथकलाई स्वीकार्ने पूर्वीय मान्यतातर्फ अघि बढ्नुलाई महत्वपूर्ण बिम्बको रूपमा लिन सकिन्छ ।
निर्देशकले फिल्ममार्फत गर्न सक्ने एउटा ठूलो राजनीति हो यो । एउटा व्यक्ति एकैसाथ कसरी बुद्धिस्ट र राजनीतिक हुनसक्छ भन्ने पुष्टि हो यो । धर्ममा राजनीतिक तत्व मिसाएर बनाइने यस्ता फिल्मले यथास्थितिलाई प्रश्न गर्छन् र मूल्यहरूको निर्माण गर्छन् । जस्तै, उनी निर्देशित पहिलो फिल्म कप, ट्राभल्स एन्ड म्याजिसियन्स, हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आइ वेटजस्तै डाकिनी पनि यसअर्थमा निकै अब्बल क्राफ्ट हो । डाकिनीले एजेन्डा सेट गर्छ र समाजलाई प्रश्न तेस्र्याउँछ ।
आफ्ना फिल्ममा रिम्पोछे ‘ननएक्टर’लाई मुख्य भूमिकामा लिन्छन् । नन–एक्टरमार्फत अभिनयमा ताजापन खोजी गर्ने रिम्पोछे प्रयत्न डाकिनीमा महसूस गर्न सकिन्छ । भियतनामदेखि आएका छिरिङ तासी र अमेरिकादेखि आएकी तेन्जिङ कुन्सेलका लागि यो पहिलो फिल्म हो । भारतमा जन्मिएका यी दुवै तिब्बतीको अभिनयमा ताजापन महसूस गर्न सकिन्छ । कर्मा, दिव्यदेव, रवीन्द्रसिंह बानियाँ जस्ता अनुभवी कलाकारसँग यी ननएक्टरले आफूलाई पात्रमा ढाल्ने प्रयास गरेका छन् । मुख्य पात्र बनेका छिरिङले तेन्जिङ पात्रको भूमिका र त्यसको सफरिङका लागि आफूलाई रूपान्तरण गरिदिएका छन् । खासमा भौतिकभन्दा पनि मानसिक द्वन्द्व भएकाले छिरिङ यो पात्रमा फिट छन् ।
कथा नेपाली र निर्देशक भुटानी । ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषा । भुटानी निर्देशकले दृश्यमार्फत नेपाली समाज चित्रणमा प्रयत्न त गरेका छन् तर, यो समग्रता होइन । साँघुरो क्यानभासमा नेपाली समाज, मूड र चरित्रको गहिराइ अझै आउन सकेको छैन । निर्देशक लिनियर पटकथा र उपरी द्वन्द्वमार्फत कथा वाचनमा केन्द्रित छन् । अर्को देशको निर्देशकले अर्को समाजको कथा भन्दा त्यसको दार्शनिक गुदीलाई आत्मसात् गर्नु महत्वपूर्ण पक्ष हुन आउँछ जुन रिम्पोछेले गरेका छन् । सरल तरिकाले द्वन्द्वहरूको तह सिर्जना गर्नमा उनी सफल छन् ।
फिल्मको सबैभन्दा बलियो पक्ष यसको छायांकन हो । मार्क लि पिङ बिङका प्रत्येक सट्हरू क्यानभासमा पोतिएका आकृति जस्ता लाग्छन् । विश्व फिल्मका यी हाइप्रोफाइल छायांकार रङ, गति र प्रकाशमा गजबले लुकामारी खेल्छन् । ‘डाकिनी’को पटकथालाई छायांकनले डोमिनेट गरेको छ भन्दा अन्यथा हुँदैन । कहिलेकाहीं फिल्ममा क्यामेराले कथालाई निर्देशित गरिरहेको हुनसक्छ जस्तो डाकिनी ।क्यामेरालाई नै पात्र बनाएर बुर्कुसी मार्न लगाउने डिरेक्टर अफ फोटोग्राफीको कला यसमा निहित छ ।
२१ वटा अन्तर्राष्ट्रिय अवार्ड पाएका ताइवानका मार्कले सन् २००० मा वङ कार वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि क्यान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज जितेका थिए । यी हाइप्रोफाइल छायांकार भन्ने वित्तिकै हामीले सिनेम्याटोग्राफीमा प्रयोगधर्मिताको अपेक्षा गर्नु स्वाभाविक हो । पाटन र पनौतीका ओसिला गल्ली नाप्नु र पात्रको गतिलाई क्यामेरामा मजाले तैराउन सक्नुमा उनको ‘डाकिनी’ कला लुकेको छ । पिङ बिङले प्राकृतिक प्रकाश र रङमा आकृति निर्माण गरेका छन् जसले नेपाली फिल्मको दृश्य विन्यासमा नयाँ आयाम थप्ने पक्का छ । उनको यस्तो स्टाइल इन द मुड फर लभसहित असासियन, रेनोयर, नर्वेजियन उड र फ्लाइट अफ रेड बेलुनमा हेर्न पाइएको थियो ।
फिल्मको अन्तिम दृश्यमा लिइएको सट् निकै सशक्त छ । यो सट्ले एकैसाथ स्वतन्त्रता, पुनर्जन्म र रहस्यलाई चित्रण गर्छ । यही सट्ले दर्शकलाई प्रश्न गर्छ र आफू सकिन्छ । प्रप्स अर्थात् प्रडक्सन भ्यालु निकै आकर्षक छ फिल्मको । सय वर्ष अगाडिको जस्तो लाग्ने पाटन र पनौतीका गल्ली र टुँडालहरूले दर्शकलाई स्वैरकाल्पनिक संसारको भ्रमण गराउँछन् । हामीले यस्तो खालको दृश्य विन्यास र पटकथाको गुदी नेपालमै छायांकन भएको हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा हेरेका थियौं जहाँ पनि बौद्ध परम्पराको अन्तरनिहित शक्तिलाई चित्रण गरिएको थियो । मार्क धेरै प्रकाश प्रयोग नगर्ने छायांकार मानिन्छन् ।
फिल्मको ध्वनि अर्को सशक्त पक्ष हो । ३६० डिग्रीमै कम्पोज गरिएको साउन्ड इन्जिनियरिङले दर्शकलाई गहिराइमा लैजान्छ । फिल्ममा प्रयोग गरिएका मिजाएन्सिङ सट्हरू पावरफूल लाग्छन् । स्वैरकल्पना (सररियल)लाई चित्रण गर्ने मामिलामा यी दृश्य र ध्वनि कम्पोज निकै महत्वपूर्ण छन् फिल्ममा । एक वाक्यमा भन्दा ‘डाकिनी’ आवरणसँगै आत्मा भएको फिल्म हो । अर्गानिक फिल्मको रूपमा ‘डाकिनी’लाई लामो समयसम्म आत्मसात् गर्न सकिनेछ । पोस्ट–कोभिड फिल्मको ट्रेन्डको रूपमा डाकिनीले कथा भन्ने शैलीमा नयाँ मानक पक्कै खडा गर्नेछ ।
रेटिङ : ३.५/५
निर्देशक/पटकथाः खिन्से नोर्बु
निर्माता : रविन्द्रसिंह बानियाँ, दिपेश म्याक्स खत्री
छायांकार : पिङ बिङ ली
कास्ट : छिरिङ तासी ग्याल्जेन, टल्कु कुन्जोङ, तेन्जिङ कुन्सेल, नवाङ तेन्जिङ