उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने
काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने भएकाे छ ।
मंगलबार गृहमन्त्रालयमा भएको बैठकमा उखु किसानको रकम भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, कृषिमन्त्री घनश्याम भुसाल, र सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत सहभागी थिए ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार मन्त्रालयमा उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बारे छलफल भएको बताए ।
उनले नेपालप्रेसँग भने,‘अब उद्योगीहरु को को छन् त्यसको खोजी गरेर कारबाही गर्ने तयारी गरिराखेको छ ।’
गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका हुन् ।