वीपीलाई राखिएको सुन्दरीजल जेल पुनर्निर्माणको अन्तिम चरणमा – Nepal Press
सन्दर्भ - पुस १

वीपीलाई राखिएको सुन्दरीजल जेल पुनर्निर्माणको अन्तिम चरणमा

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालासहितका नेताहरुले बन्दी जीवन विताएको वीपी संग्रहालयको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । गोर्कणश्वर नगारपालिका –१ सुन्दरीजलमा रहेको वीपी संग्रहालय ०७२ को भूकम्पले क्षति पुर्‍याएको थियो ।

नेपाली काग्रेसका नेताहरु बन्दी बसेको घरहरुको पुनर्निर्माण सकिएपनि शालिक बनाउने काम र कार्यलय भवन बनाउने काम अझै बाँकी छ ।

पुरातत्व विभागले पहिलो ठेक्का संग्रहालय पुनर्निर्माण, पर्खाल लगाउने, कार्यलय बनाउने र सुरक्षा गार्डको भवन बनाउनको लागि टेन्डर प्रकृया मार्फत सीएम पतली भैरब जेवीलाई जिम्मा दिएको थियो ।

०७३ देखि पुनर्निर्माण थालेको सीएम पतली भैरब जेबीले ०७५ असार मसान्त सम्ममा काम सक्नुपर्ने गरी जिम्मा पाएको थियो । संग्रहालय पुनर्निर्माण लगायत पहिलो चरणको काममा ३ करोड ४३ लाख लागत लागेको छ ।

पुरातत्व विभागका साइट इन्जिनियर पुर्ण बहादुर श्रेष्ठले संग्रहालयको पुनर्निर्माणको काम सकिएको र कार्यलय बनाउने काम केही बाँकी रहेको बताए ।

उनले भने, ‘अरु काम सकिसकेको छ । कार्यलयको काम फिनिसिङ मात्रै बाँकी छ । त्यो कार्यलय पहिले एक तला मात्रै बनाउने छलफल भएको थियो पछि थप गरिने भएपछि अलि पछि सरेको हो ।’

२४ रोपनी क्षेत्रफलमा रहेको संग्रहालय बन्नुअघि त्यहाँ नेताहरुले बन्दी जीवन विताएका थिए ।

यहाँ काग्रेस नेताहरु बसेको घर र उनीहरुले प्रयोग गर्ने सामानहरु हेर्न पाइन्छ । तर भूकम्पले घरमा क्षति पुर्‍याएपछि केही सामानमा पनि क्षति पुगेको थियो । त्यसपछि बीपी संग्रहालय समितिले ती सामानहरु भण्डारण गरेर राखेको छ ।

संग्रहालय पुनर्निर्माण सम्पन्न भएपछि ती सामानहरु पहिले जस्तै गरी राखिने समितिका कार्यालय सचिव सुशील पोखरेलले बताए । ‘संग्रहालय भित्रको घरहरु पुनर्निर्माण भइरहेको छ केही बाँकी छन् । संग्रहालय विभागले हामीलाई हस्तारण गरेपछि ती सामानहरु राख्नेछौं ।’

भूकम्पपछि सुनसान संग्रहालय

भूकम्पपछि संग्रहालय सुनसानजस्तै छ । वीपी कोइरालाले पञ्चायत विरुद्ध विरोध गर्दा १० बर्ष जेल जीवन विताएको ठाउँ हेर्न भूकम्पअघि दिनँहु भीड हुने गथ्र्यो । तर ०७२ को भूकम्पले संग्रहालयमा पूर्ण क्षति पुर्‍याएपछि संग्रहालय आउनेको सख्या पनि घट्दो छ । भूकम्पअघि संग्रहालय घुम्न आउनेको संख्या घटेको संग्रहालय समितिका कर्मचारीहरु बताउँछन् ।

भुकम्पअघि दिनको २ सयभन्दा बढी संग्रहालय आउँथे, अहिले २० जना पनि पुग्न मुस्किल छ । समितिका कार्यलय सचिव पोखरेलका अनुसार स्मृति दिवस, सभा समारोहहरु पनि एकदमै कम भइरहेको छ । ‘भूकम्पमा सबै संरचना भत्किएपछि पुनर्निर्माण नहुन्जेलसम्मका लागि यस्ता कार्यक्रमहरु स्थगित गरिएको हो,’ उनले थपे।

संग्रहालयमा विशेष गरी वीपी कोइराला जेलमा बस्दाको दैनिकी, उनले प्रयोग गर्ने सरसामानहरु, उनी बसेको घरहरु छन् र उनले रुख मुनि बसेर पुस्तक लेख्ने ठाउँहरु हेर्न पाइन्छ ।

यसरी संग्रहालय बन्यो वीपीलाई राखिएको जेल

२०१७ साल अगाडि सुन्दरीजलमा नेपाली सेनाका अधिकृतहरुको क्वाटर थियो । ०१७ पुस १ गते राजा महेन्द्रको ‘कु’पछि पर्खाल लगाएर यसलाई जेल बनाइयो । धेरै पछि मात्रै जेलको स्वरुप दिइयो । प्रथम नवनिर्वाचित तत्कालीन प्रधानमन्त्री वीपी कोइराला, लगायत तत्कालीन सभामुख, मन्त्री, सहायक मन्त्रीहरुलाई सुन्दरीजलमा बन्दी बनाए ।

नेपाली कांग्रेसका वीपी कोइराला, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, प्रेम राज आङदेम्बे, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ शिव राज पन्तसमेतलाई यही जेलमा बन्दी बनाइएको थियो ।

जसमध्ये गणेशमान र वीपीले यही जेलमा १० वर्ष विताए भने अन्यलाई केहि वर्षको अन्तरमा रिहा गरिएको थियो । नेताहरुले आफ्नो जीवनको उर्जाशील समय विताएको स्थानलाई कांग्रेसका पछिल्ला पुस्ताले संरक्षण गर्न चासो दिएका हुन् ।

कांग्रेसका दुवै शीर्ष नेता ०३४ सालमा जेलमुक्त भएपछि यो स्थान सेनाको निगरानीमा थियो । सेनाले आफ्ना गोली बारुद, हातहतियार भण्डारणका लागि यो ठाउँ प्रयोग गरेको थियो । २०४७ सालमा जनआन्दोलनले प्रजातन्त्र पुनस्थापना गरेपछि बन्दीगृहलाई बीपी संग्रहालयमा परिणत गर्ने प्रयास सुरु भएको हो । त्यतिबेलै वीपी संग्रहालय समिति गठन भए पनि वीपी संग्रहालय अवधारणासम्बन्धी प्रस्ताव तत्कालीन महामन्त्री सुशील कोइरालाले २०५४ सालमा मात्र स्वीकृत गरेका थिए ।

सेनाले यो ठाउँ छाडेपछि ०६१ सालमा ९१ औं वीपी जयन्तीको दिनदेखि औपचारिक रुपमा वीपी सग्रंहालय बनाइएको घोषणा गरियो ।

कांग्रेसले अपहरण गरेको जहाज राख्न हेलीप्याड

पुरातत्व विभागले संग्रहालयको पुनर्निर्माण मात्र नभई २०३० सालमा नेपाली कांग्रेसका नेताले अपहरण गरेको जहाज राख्ने हेलीप्याड पनि निर्माण गरेको छ ।

विभागले सिएम कन्सन्ट्रसनलाई जहाज राख्ने ट्रस्ट, चेन्जिङ रुम र हेली प्याड निर्माणको लागि जिम्मा दिएको थियो । ०७४ बैसाख मा ठेक्का पाएको कन्सन्ट्रसनले ०७४ पुसमा निर्माण सम्पन्न गरेको हो । यसको लागि ९२ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

२०३० सालमा नेपाली काग्रेसले पञ्चायती विरुद्ध लड्नको लागि पैसा अभाव भएपछि शाही नेपाल वायुसेवा निगमको (नाइनएनएबिीबी) जहाज अपहरण गरेको थियो । विराटनगरबाट काठमाडौं आउदै गरेको यो जहाजमा नेपाल राष्ट्र बैकको २० लाख भारु थियो ।

अपहरणकारीले डाइभर्ट गरी भारतको फारबिसगन्ज पु¥याएर भारु आफैंले राखेर जहाज सकुशल काठमाडौं फर्काएका थिए । जहाजले पछिसम्म पनि उडान भरिरहेको थियो । ०७० साल फागुन ४ गते अर्घखाँचीमा यो जहाज दुघर्टना भयो । दुर्घटना भएको २ बर्ष सम्म त्यतिकै राखियो । ०७३ सालमा भग्नावशेषमा परिणत जहाजका पाटपूर्जा संग्रहालयमा ल्याएर जोडिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर