कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल – Nepal Press
पेरिसडाँडामा ओलीलाई गाली

कुर्सीबाटै गलहत्याए–प्रचण्ड, त्यसपछि चेत्नुभयो–माधव नेपाल

पार्टी विभाजन हुनसक्ने भन्दै तलको स्थिति आँकलन

काठमाडौं । पार्टी विभाजनको अवस्थामा कुन जिल्लामा आफ्नो पक्षको अवस्था कति मजबूत छ भनेर रिपोर्टिङ लिने र माथिबाट आफ्नो रणनीति बुझाउने उद्देश्यले शुक्रवार नेकपाको प्रचण्ड–माधव नेपाल पक्षको पेरिसडाँडाको भेलामा दुवै नेताले केपी ओलीबाट पीडित बनेर आफूहरु मिल्ने ठाउँमा आइपुगेको सुनाए ।

सातै प्रदेशका जिल्ला अध्यक्ष र सचिवको भेला गर्ने तयारी अनुरुप पहिलो दिन प्रदेश १ का १४ जिल्लाका नेतालाई पेरिसडाँडा बोलाइएको थियो । भेलामा प्रचण्ड र माधव नेपाल पक्षधर जिल्ला अध्यक्ष,सचिव,केन्द्रीय सदस्यहरु सहभागी थिए । १४ जिल्लाका २८ जना पदाधिकारीमध्ये ओली पक्षका ११ जना र योगेश भट्टराई निकट बलबहादुर साम्सोहाङ सहितका केही बाहेक अरु सहभागी रहेको एक नेताले बताए ।

भेलामा प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले केपी ओलीका गतिविधिले अब पार्टी एकता जोगिने सम्भावना कम हुँदै गएको बताएका थिए । यद्यपि आफूहरु पार्टी एकता जोगाउन र विधि पद्धति स्थापित गर्न प्रयासरत रहेको बताएका थिए ।

भेलाका एक सहभागीका अनुसार ओलीविरुद्ध आफूहरु कसरी एकै ठाउँमा मिल्न बाध्य भइयो भन्ने किस्सा पनि रोचक पारामा सुनाएका थिए । ती सहभागीले उपलब्ध गराएको रेकर्डबाट उदृत अंश पढ्नुहोस् ।

आफैंलाई पेल्न थालेपछि प्रचण्डजीले चेत्नुभयो

माधव नेपाल 
केपी ओलीको बारेमा प्रचण्डजीलाई त भ्रम नै थियो । तर हामीले त राम्रोसँग चिनेको र भोगेको हो । प्रचण्डजीले हिजो पार्टी एकतापछि केही समय त ओलीसँग मिलेरै काम गर्नुभएको थियो । हामीलाई निरन्तर पेलेर, अपमान गरेर, जिम्मेवारीविहीन बनाएर राख्दा उहाँले पूर्व एमालेको समस्या भनेर शायद केही वास्ता गर्नुभएन । केपी ओलीले हामीलाई मात्रै पेलिराखेका थिए । पछि आएर प्रचण्डजीलाई नै पेल्न थालेपछि उहाँले देख्नुभयो र चेत्नुभयो ।

अहिले ओलीले राज्यशक्तिको दुरुपयोग गरेर, अव्यावसायिक मिडिया हाउस, अव्यावसायिक पत्रकारको पंक्ति खडा गरेर, पत्रकार खरिद गरेर पार्टीभित्र भएका छलफल र सहमतिलाई तोडमरोड गर्न लगाएर गलत कुरालाई सही साबित गर्न अनेकौं प्रचारबाजी गर्दैछन् । वास्तवमा ओली गोयबल्सको प्रचारशैलीमा लागेका छन् । पार्टीभित्र यो अहिलेको परिस्थिति निर्माण गर्ने केपी ओली नै हो । प्रचण्डजीलाई म केही भन्दिनँ ।
हामी पार्टीमा विधि पद्दति स्थापित गर्न लाग्ने हो । पार्टी एकताको पक्षमा तपाईहरु पनि लाग्नुस्, गलत प्रचारको भण्डाफोर गर्नुस् ।

कुर्सीबाट गलहत्याएर सातजनाको लहरमा पुर्‍याए

प्रचण्ड
वास्तवमा माधवजीले भनेको कुरा सही नै हो, म हुबहु समर्थन गर्छु । त्यतिबेला म पनि भ्रममै परेको हुँ । यत्रो पार्टी एकता गरिएको छ, होला त नि भनियो । केपी ओलीले जे भन्छन् लौ होस् भनेर छाड्दै गएँ ।
मरिहत्ते गरेर मलाई एक नम्बर अध्यक्ष बनाऊ भन्नुभयो । पार्टीको हितको लागि हो भनेर लौ तपाई नै एक नम्बर हो भनेर भन्दिएँ । बैठकको अध्यक्षता त मैले नै गर्नुपर्ने भयो भन्नुभयो । धेरैचोटि गनगन गर्नुभयो । नत्र त हाम्रो आलोपालो बैठकको अध्यक्षता गर्ने भन्ने विधानकै व्यवस्था थियो ।

मैले लौ भैगो त बैठकको अध्यक्षता गरे पनि गर्नुस् भनेर छाड्दिएँ । उहाँले जिद्दी गर्दै जानुभयो, मैले छाड्दै गएँ । उहाँले भनेको मान्दै मान्दै गएँ । प्रधानमन्त्रीको पूरै कार्यकाल मलाई चाहियो भन्नुभयो त्यो पनि मान्दिएँ । अन्तिममा त मलाई नै घोक्रेठ्याक लाएर कुर्सीबाटै निकाल्दिए । मलाई त रबरस्टाम्प जस्तै बनाइदिए ।

अन्ततः मलाई नै घोक्रेठ्याक लगाएर सात जनाको पंक्तिमा पाे हाल्दिनुभयो । जब उहाँले सात जनाको पंक्तिमा हाल्दिनुभयो त्यो बेला माधव नेपालले मलाई के भन्नुभयो भने–जानुस् न अलि पर्तिर सर्नुस् म यहाँ बस्छु भनेर भन्नुस् न ।
मैले चाहिं त्यसो नभनेर मलाई तपाईले दुई जना अध्यक्षको ठाउँबाट सात जनाको लहरमा पठाउनुभयो, अब म यतै बस्छु भनेर भनेँ । माधवजी र मैले भनेको कुरा सायद मिल्यो जस्तो लाग्छ ।

वास्तवमा परिस्थितिले हामी माधवजी र मलाई एक ठाउँमा ल्यायो । आज हामी सबै सिनियर र जेनुइन लिडरहरु एक ठाउँमा आइपुगेका छौं । तपाईहरु कुनै पनि कुप्रचारको भ्रममा नलाग्नुस् । सशक्त भएर संगठित ढंगले पार्टीको विधि विधानको पक्षमा उभिनुस् ।

केपी ओलीका सबै तरिका र व्यवहार हेर्दा एउटै पार्टीमा बस्ने खालको छैन, अलग पार्टी बनाउने कोशिश भइरहेको छ । कहिले गर्नुहुन्छ तर उहाँको तरिकाले म अलग बस्छु भन्ने बताइरहेको छु । कहिले फुटाउने भन्ने मात्रै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर