इन्टरनेट नचलेका कारण नेपाल आउने सामान तातोपानी नाकामा रोकिए
काठमाडौं । चीनबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने सामान इन्टरनेट नचलेका कारण बीचैमा रोकिएका छन् । नेट नचलेका कारण सोमबार विहानदेखि नेपाल आउने सामान नाकामा रोकिएको हो ।
तातोपानीस्थित लामाटाङमा रहेको फाइबर नेटमा समस्या आएका कारण सामान पास हुन नसकेको तातोपानी भन्सार कार्यलयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
‘हिजोबाट नेट चलेकै छैन । लामाटाङमा फाइबर नेट बिग्रिएका कारण सामान नेपाल भित्रन सकेको छैन । नेट बनाउने काम भइरहेको छ । मंगलबार साझबाट नेट चल्ने छ । र, सामान पास हुन्छ,’ उनले भने । चीनबाट ल्याइने समान इन्टरनेट कै माध्यमबाट नेपाल भित्रन सम्भव भएकाले इन्टरनेर बिग्रिएको खण्डमा समस्या उत्पन्न हुने खत्रीले बताए ।
नेपाल दूरसंचारका कर्मचारीले नेट बनाउने काम गरिरहेको प्रमुख खत्रीले बताए । हाल तातोपानी नाकाबाट दैनिक ८ देखि १० ओटा कन्टेनरहरु नेपाल भित्रिरहेका छन् ।