गुलियो उखु बेचेर नुनिलो आँशु पिइरहेकाहरू – Nepal Press
गुलियो उखु बेचेर नुनिलो आँशु पिइरहेकाहरू
किसानको कहर
समर्पण श्री २०७७ पुष ७ गते १५:०३
२०७७ पुष ७ गते १५:०३

काठमाडौं । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक माहोल तातेको छ । पार्टीका झण्डा र ब्यानरसहित कार्यकर्ता सडकमा ओर्लिएका छन् ।

एकीकरण भएको तीन वर्ष नबित्दै नेपाल कम्युनिष्ट पार्टी विभाजनको सँघारमा छ । अचानक फरक मोड लिएको नेपालको राजनीतिमाथि धेरैको चासो छ– अब के हुन्छ ?

तर, आफ्नो उखुको भुक्तानी नपाएर भोको पेट सडकमा उत्रिएका उखु किसान यो माहोलबारे बेखबर छन् । उनीहरूलाई एउटै चिन्ता र चासो छ– हाम्रो उखुको पैसा कहिले आउँछ ?

चिसो काठमाडौंबाट पोहोर पनि कठ्याग्रिंदो मन लिएर फर्किएका थिए उनीहरू । यसपालि पैसा लिएरै फर्किने आशा मरेको त छैन । सरकारसँग वार्तामा बस्दा झिनो आशा त पलाएको छ तर, पनि ग्यारेन्टी भने छैन ।

गगनदेव रायलाई देशको घटनाबारे उतिसारो चासो छैन । उनलाई आफ्नै चिन्ता छ– रित्तो हात गाउँ गए घाटको बास हुन्छ । रुन्चे अनुहार लगाउँदै उनी भन्छन्, ‘मेरो कमाइ नपाए म कसरी बाँच्नु ?’

०००
कृषि विकास बैंकले पठाएको पत्र भतिजाले हातमा थमाइदिए । पत्र पाएपछि गगनदेव राय खङ्ग्रङ्ग भए । मुजा परेको उनको निधारबाट चिट्चिट् पसिना चुहुन थाल्यो । हत्केलाले जमेका आँसु पुछ्दै उनी सुँक्सुकाउन थाले, ‘अब हम् क्या करे ?’

उमेरले ७० वर्ष काटेका गगनदेवसँग जीवनका थुप्रै अनुभव छन् । बुढेसकालको यो बिन्दुमा आएपछि उनको जोश हराउन थालेको छ ।
सर्लाहीको रामनगर गाउँपालिका–१ मा पर्छ उनको घर । मुख्य खेती– उखु । त्यही खेती गर्न महाजनसँग ऋण लिए । खेती गरे, उखु मिललाई उत्पादित उखु पठाए ।

सोचेका थिए– यही उखुले तिर्छु ऋण, यही उखुले बनाउँछु घर, यही उखुले पाल्छु जहान !

साहुको कागजमा कर्जामाथि चर्को ब्याज थपिंदै गयो । तर, उखु मिलका मालिकले पैसा पठाएनन् । ऋण नतिरी सुखै पाएनन् । त्यसपछि गगनदेवले घरजग्गा धितो राखेर कृषि विकास बैंकबाट १० लाख ऋण लिए । उखुको पैसाबाट कर्जाको ब्याज तिर्ने आशा थियो । दिन, महिना र वर्ष बित्दा पनि गगनदेवले उखुको भुक्तानी पाएनन् ।

२९ मंसिरमा गगनदेवको हातमा परेको पत्रले उनलाई घर न घाटको बनायो । उनको घरजग्गा लिलामी भएको पत्र बैंकले पठाएको थियो । ‘अब मसँग कुनै बल छैन । न कुनै सम्पत्ति, न घर । मेरो त सबै सकियो’ हातमा कृषि विकास बैंकको पत्र देखाउँदै गगनदेवले भने ।

१० लाख ऋण लिएका गगनदेवको थाप्लोमा ब्याजसहित १६ लाखको बोझ थपिएको थियो । अब २० जनाको परिवार कसरी पाल्ने ? उनलाई यसैको पिरलो छ ।

उखु मिलले गगनदेवलाई चार लाख भुक्तानी गर्न बाँकी छ । त्यो चार लाखको निम्ति उनले थुप्रै कष्ट झेल्नु प¥यो । ‘भन्न र हात जोड्न केही गर्न बाँकी राखेको छैन । न नेताले हाम्रो दुःख सुने, न सरकारले’, गगनदेव सुनाउँछन् ।

अघिल्लो वर्षझैं फेरि पनि आन्दोलन गर्न भनेर उनी ८ दिन अघि काठमाडौं आइपुगे । ‘चिसो छ । खानको राम्रो ठेगान छैन । थाहा छैन कुन दिन बिरामी भइने हो अब’, उनी सुनाउँछन् ।

 

गगनदेव मात्र हैन, ६५ वर्षका राम आश्रय चौधरी पनि खालीहात घर जाने अवस्थामा छैनन् । यही पैसाबाट उनले नून, तेल किन्नु छ । सावाँको ऋण तिर्नुछ ।

चार दिनअघि कठ्याग्रिंदो जाडोमा सर्लाही हरिऔनबाट उनी काठमाडौं आए । न ज्याकेट छ, न ट्राउजर, न मोजा । जाडोमा काम्दै काम्दै उनी आन्दोलनमा निस्किए । ‘यही पैसाले जाडो कटाउनु थियो, यही नपाएपछि वर्षमा एक जोर कपडा किन्न पनि सकिएन’ राम आश्रय मलिन स्वरमा भन्छन् ।

अन्नपूर्ण मिलले कति दिन बाँकी छ ? उनी कागज पल्टाउँदै भन्छन्, ‘यी हेर्नोस् त । एक लाख भन्दा धेरै तिर्नुछ । हाम्रो कमाइ यसरी चुस्न पाइन्छ ?’
अघिल्लो साल पनि उनी यसैगरी काठमाडौं आएका थिए । आशा बोकेर फर्किएका थिए । सरकारले दुःख सुन्यो भन्ने लागेको थियो उनलाई । तर, आशालाग्दो अनुहार बोकेर गएका राम आश्रय फेरि निराश हुँदै तेस्रो पटक पनि यही जाडोमा काठमाडौं फर्किए ।

२०७३ सालदेखि नै जुट मिलले राम आश्रयलाई झुलाउँदै आयो । ‘अहिलेसम्म न सरकारले भलाइ ग¥यो, न जुट मिलले’ उनी दुःखेसो पोख्छन् ।
चुनावमा उम्मेदवारहरूले भोट माग्दा भनेका थिए, ‘तपाईंको बाँकी रकम हामी जसरी पनि उठाइदिन्छौं ।’ त्यही आश्वासनले भोट हाले । चुनाव जिताए । तर, ती नेताले फेरि मुख देखाउन कहिल्यै आएनन् ।

तीन लाखभन्दा धेरै ऋण थियो राम आश्रयको । अघिल्लो पटक खेत बेचेर चुक्ता गरेका थिए । यसपालि पनि ऋण थपिएको छ । उनलाई थाहा छैन, त्यो ऋण कसरी तिर्ने ?


०००