एट्लेटिको मड्रिड ला लिगाकाे शीर्षमै, रियल बराबरीमा रोकियो


एजेन्सी । गएराति गेटाफेलाई पराजित गरेपछि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमै रहेर सन् २०२० लाई बिदाई गरेको छ ।
घरेलु मैदान स्टाडियो मेट्रोपोलिटिनोमा पहिलो हाफमा लुइस स्वारेजले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । एट्लेटिकोमा प्रशिक्षक डिएगो सिमोनीका लागि यो ५ सयौं खेल पनि थियो ।
जितपछि एट्लेटिकोले शीर्ष स्थानमा स्पष्ट २ अंकको अग्रता बनाएको छ । किनभने त्यसअघि रियल मड्रिडले एल्चेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
लुका मोड्रिचले पहिलो हाफमा गोल गरी लिएको अग्रता जोगाउन नसकेको रियलले दोस्रो हाफको सुरुमै पेनाल्टीमा गोल खान पुग्यो ।
अंकतालिकामा एट्लेटिकोको १४ खेलबाट ३५ अंक छ । २ खेल बढी खेलेको रियलको २ अंक कम छ ।
सिमोनीले एट्लेटिको सम्हालेयता सन् २०१४ मा टोलीले ला लिगाको उपाधि जितेको थियो । उनको प्रशिक्षणमा एट्लेटिकोले ३०१ खेले जितेको छ ।