जो आँखाले होइन, हातले देख्छन् – Nepal Press
जो आँखाले होइन, हातले देख्छन्
‘देख्ने हात’का कथा
समर्पण श्री २०७७ पुष २० गते ११:२१
विजय गजमेर २०७७ पुष २० गते ११:२१

काठमाडौं । सिइङ ह्याण्ड्स नेपाल मसाज सेन्टर हो । ठमेलका केही गल्लीहरू छिचोल्दै यहाँ पुग्ने हो भने एउटा मीठो अनुभूति सञ्चारित हुन्छ । प्रवेशद्वारमा ‘टिङ् टिङ्’ बज्ने घण्टीले स्वागत गरेलगत्तै हाम्रा आँखा सामुन्नेमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोक्किन्छन् ।

त्यो हँसिलो अनुहार ३६ वर्षीय चिरन पौडेलको हो । हामी पुग्दा उनी कान नजिकै मोबाइल लगेर कुनै लोकप्रिय कार्यक्रम सुनिरहेका थिए ।

‘वेलकम’ को इशारा गर्दै चिरनले बस्नका लागि आग्रह गरे । उनको ‘वेलकम कक्ष’ लाई नियाल्दै जाँदा दायाँ साइडको भित्तामा ठूला अक्षरले लेखिएको संस्थाको परिचय देखिन्छ– सिइङ ह्याण्ड्स नेपाल । अर्थात् देख्ने हातहरू ।

‘हामी देख्छौं, केवल हातको स्पर्शले देख्छौं । मानिसका अनुभूति, दुखाइ वा उनीहरूका समस्या’ चिरनले संवादको पोको खोले ।

उनी यहाँका सिईओ । ठमेल मात्र हैन, पाटन र बौद्धमा पनि यसलाई विस्तार गरेका छन् उनले । ती तीनै ठाउँमा देख्ने हातहरू छन्, जसले दुखाइदेखि रिल्याक्सेसनका लागि आउनेसम्मलाई स्फूर्त बनाएर पठाउँछन् । चिरन बेलाबखत विदेशबाट आउने एउटा असल साथीको भनाइ सम्झिन्छन्, ‘म नेपाल आउनुका दुई कारण छन् । एउटा पशुपतिनाथ, अर्को सिइङ ह्याण्ड्स नेपाल ।’

अघिल्लो वर्ष एक जना विदेशी प्रोफेसरले भनेर गएका थिए, ‘मैले मसाजबाट जुन प्रकारको उपचार पाएँ, अमेरिकामा पनि यस्तो राम्रो शायदै थियो ।’

मसाजमा बदनाम ठमेललाई सिइङ ह्याण्ड्सले नयाँ स्वरुप दिएको छ । अहिले सिइङ ह्याण्ड्स अन्तर्राष्ट्रियस्तरमै चर्चित छ । यो उपचार पद्धतिका लागि विदेशीहरू ठमेलमा धाउने समेत गर्छन् ।

चिरनलाई विदेशी पाहुनाका यिनै शब्दहरूले उत्साहित बनाउँछन् । र आफ्नो पेशाप्रति अझै गौरव गर्छन् । ‘हाम्रो क्षमतालाई मानिसहरूले स्वीकार गर्दैछन् । हाम्रा हातहरूको बलियो सेन्सेटिभिटीमाथि विश्वास गर्दैछन्’ आजकल उनले यो अनुभूति गरेका छन् ।

चिरन दृष्टिविहीन हुन् । तर, उनले आफूजस्तै सयौं दृष्टिविहीनलाई रोजगारी सिर्जनाको सपना देखेका छन् । अहिले पनि दुई दर्जन दृष्टिविहीनलाई सिइङ ह्याण्ड्समै रोजगारी दिएका छन् चिरनले । ‘उहाँहरू तालिमप्राप्त फिजियोथेरापिस्ट हुनुहुन्छ । जसले हाम्रो क्लिनिकमा आउने सेवाग्राहीलाई मसाज र थेरापी गर्नुहुन्छ’, चिरन सुनाउँछन् ।

मसाजको नाममा बदनाम ठमेल शहरको त्यो स्वरुपलाई फेरेको छ सिइङ ह्याण्ड्सले । त्यसैले विदेशी पर्यटकको पहिलो रोजाइ नै बन्न पुगेको छ यो । ‘मैले ठमेलमा शुरु गर्दा धेरैको अनुहारमा निराशा थियो । तर, फोहोर सफा गर्न फोहोरमै हात हाल्नुको विकल्प थिएन’, चिरन विगतबारे सुनाउँछन् ।

यो भिन्न किसिमको व्यावसायिक मसाज हो । लण्डनमा तयार पारिएको एकवर्षे कोर्स गरेर मात्र यो सीप आर्जन गर्न सकिन्छ । चिरन भन्छन्, ‘यो एउटा उपचार पद्धति नै हो ।’

फाेटाे/भिडियाे: विजय गजमेर

संयोगले उज्यालिएको जीवन

चिरन स्वयम् नेपालमा स्थापित मसाज थेरापिस्ट हुन् । तर, यहाँसम्म आइपुग्न १५ वर्षको संघर्षरत यात्रा पार गरेका छन् उनले । विगतमा फर्कंदै गर्दा उनले आफूलाई पोखराको अँधेरी दोहोरी साँझमा विरक्तिरहेको पाउँछन् । सन् २००४ तिर चिरन पोखराको दोहोरी साँझमा गीत गाएर गुजारा टार्थे ।

दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला हुन्थ्यो, जब चुरोट र रक्सीका गन्ध बोक्ने मानिसहरूको अपमान अत्यधिक सहनुपर्दथ्यो । ‘के दृष्टिविहीनहरूको करिअर दोहोरी साँझमा मात्र हो, शिक्षण पेशामा मात्र हो, अरू कतै छैन ?’ उनी आफैंलाई यी प्रश्नहरू गर्थे । जवाफ आफैंसँग हुन्नथ्यो । चिरन निराश हुन्थे ।

बीएडको अन्तिम वर्षको परीक्षा चल्दै गर्दा पनि चिरनका अनुहारमा खुशी थिएन । ‘न कुनै अवसर, न समाजको विश्वास । फेरि घर फर्किएर बेरोजगार बस्न म सक्दिनथें’ ती दिनहरूमा रुमल्लिंदाको क्षण सम्झन्छन् उनी ।

मसाजको नाममा बदनाम ठमेल शहरको त्यो स्वरुपलाई फेरेको छ सिइङ ह्याण्ड्सले । त्यसैले विदेशी पर्यटकको पहिलो रोजाइ नै बन्न पुगेको छ यो ।

सन् २००५ तिर, ब्रिटिश दम्पती रब र सुयन्लीले पोखरामा मसाज क्लिनिक सम्बन्धी एउटा प्रस्ताव लिएर पुगे । त्यतिबेला नेपालमा व्यावसायिक मसाज थिएनन् । भएकाहरूले पनि बदनामीको पगरी गुतेका थिए । हुन त रब स्वयम् युकेमा मसाज थेरापिस्ट, फिजियोथेरापिस्ट र अष्ट्रियोप्याथो भएको हुँदा उनले मसाजलाई उपचार पद्धतिको रूपमा स्थापित गर्न चाहन्थे ।

चरम निराशाले घेरिएका चिरनलाई एकदिन कसैले भनिदियो, ‘पोखरामा नयाँ मसाज सेन्टर खुल्दैछ । जसमा दृष्टिविहीनहरूले रोजगारी पाउँछन् ।’

‘मसाज सेन्टर…!?’ चिरनलाई यसमा कुनै मोह थिएन । केही दिनअघि मात्र उनले राष्ट्रिय दैनिकमा एउटा लेख पढेका थिए । जसमा मसाजसम्बन्धी नकारात्मक चित्रण गरिएको थियो । एक दुई पल्ट इन्कार गरेपछि मनले फेरि एकपल्ट सोच्यो– दोहोरी रेस्टुरेन्टमा काम गर्नुभन्दा त बरु यही पो ठीक हो कि ! विदेशीले चलाउने भनेपछि त राम्रै होला !

त्यसपछि उनी विदेशीले लिने अन्तर्वार्तामा सहभागी हुन पुगे । ४० जना दृष्टिविहीनले दिएको अन्तर्वार्तामा पाँच जना छनोटको सूचीमा परे । सूचीमा चिरन अटाए ।

अन्तर्वार्तामा छनोट भएको एक महिनापछि उनीहरूको तालिम शुरु भयो । उनलाई लाग्यो– मसाजको पनि कोर्स गर्नुपर्दो रहेछ । कोर्स अगाडि बढ्दै गएपछि उनमा रुचि जाग्दै गयो । थप बुझ्दै गएपछि आफूलगायत आम मानिसको मसाजबारे धारणा गलत रहेको चिरनले बुझे । ‘खासमा हामीले विश्वव्यापी वैकल्पिक उपचार पद्धति स्वीकार गरेका रहेछौं । अर्को कुरा त दृष्टिविहीनहरूले अरूको सहयोगविना नै गर्न सकिने रोजगारीको अवसर रहेछ’, चिरन सुनाउँछन् ।

दृष्टिविहीनहरूको डाक्टर बन्ने सम्भावना थिएन । यो वैकल्पिक उपचारले चिकित्सकीय पद्धति अपनाएको जब चिरनले बुझे उनलाई गर्व अनुभूति भयो– हामी पनि डाक्टर बन्न सक्ने रहेछौं ।

एक वर्षको कोर्स पूरा गरेपछि पोखरामा काम शुरु भयो ।

चिरनले कामको थालनी गर्दा उनीबारे टीकाटिप्पणी पनि नभएका होइनन् । कतिपयले भनेको उनले सुने, ‘खुट्टा माडेर खाने काम पनि गर्छन् ?’ तैपनि चिरनलाई यसले रत्तिभर प्रभाव पारेको थिएन । आफ्नो पेशाप्रति उनी प्रष्ट थिए, र सन्तुष्ट पनि ।

‘परिवारबाट कुनै छेकबार भएन । हाम्रो परिवारमा चार जना दृष्टिविहीन हौं । बरु काम गरेपछि सबै जना खुशी चाहिं हुनुभयो’ चिरन सुनाउँछन् ।

शुरुमा चिरनको ब्याचमा उनीसहित पाँच जना थिए । पछि, उनका साथीहरूले छाडे । उनीहरूले नयाँ बाटो रोजे । तर, चिरनले यसैलाई समातेर अघि बढिरहे । चिरनले पाँच वर्ष पोखरामा बसेर काम गरे । डिप्लोमापछि त्यहाँ उनले एसिस्टेन्ट टिचरको जिम्मेवारी पाए । थेरापिस्टहरू थपिंदै गएपछि थेरापिस्ट इन्चार्जको रूपमा काम गरे ।

जब उद्यमी बन्ने सोच पलायो

‘जति काम गरे पनि विदेशीहरूले चलाइरहेको संस्थामा हाम्रो पहिचान बन्दैन’ एकदिन मसाज गरिरहँदा चिरनलाई लाग्यो । उनले सोचे, ‘दृष्टिविहीनको नाम बेचेर गरिने च्यारिटी भन्दा फरक प्याट्रन पनि त छ होला । सोच्ने क्रममा उनी एउटा टुंगोमा पुगे, अब आफैंले शुरु गर्ने हो ।’
सन् २०१० तिर आफैंले मसाज क्लिनिक खोल्ने निर्णयमा पुगे । सिइङ ह्याण्ड्स नेपाल नामक क्लिनिकका लागि चिरनले काठमाडौं छनोट गरे ।

‘परिवारबाट कुनै छेकबार भएन । हाम्रो परिवारमा चार जना दृष्टिविहीन हौं । बरु काम गरेपछि सबै जना खुशी चाहिं हुनुभयो’ चिरन सुनाउँछन् ।

काठमाडौंमै शुरु गर्नुमा उनका केही विशेष कारण थिए । ‘काठमाडौंमा धेरै दृष्टिविहीन थिए । उनीहरूलाई नयाँ रोजगारी सिर्जना गर्न सकिन्थ्यो । काठमाडौंमा यस्तो व्यावसायिक क्लिनिक नभएको हुँदा व्यवसाय फस्टाउन सक्थ्यो’, उनको अनुमान थियो ।

त्यतिबेला अन्नपूर्ण बेसक्याम्पतिर जम्मा ३० प्रतिशत पर्यटक मात्र जान्थे । अधिकांश कञ्चनजंघा, लाङटाङ, एभरेष्ट बेस क्याम्पतिर जान्थे । ती पर्यटकलाई समेट्न उनले काठमाडौं नै उपयुक्त ठाने ।

ठमेलमा बदनाम मसाज

विकृत मसाजको नाममा बदनामी कमाएको थियो ठमेलले । जहाँ मसाजको नाममा यौनजन्य क्रियाकलाप हुन्थे । यही छाप आम पर्यटक र नागरिकमा थियो । यही छापका कारण चिरनले मसाज क्लिनिक खोल्न निकै संघर्ष गर्नुपर्यो । सुरुआती दिनमा त उनले बोर्डमा सिइङ ह्याण्ड्स क्लिनिक भनेर मात्र लेखे । ‘अहिले पो सिइङ ह्याण्ड्स ब्लाइण्ड मसाज नै लेखेका छौं । त्यो बेला मसाज क्लिनिक लेख्न नै डर थियो’ उनी सम्झन्छन् ।

दृष्टिविहीन भएकै कारण साथ र सहयोगको अभाव थियो । ‘दृष्टिविहीनले पनि यस्तो काम गर्न सक्छन् र’ प्रश्नहरूले हैरान पार्थे । क्लिनिक खोल्ने बेलामा घरबेटीले चिरनको नाममा हस्ताक्षर गर्न समेत मानेनन् । ‘पोखराका फाउण्डर नै आएर हस्ताक्षर गर्नुप¥यो’, उनी सम्झन्छन् ।

ठमेलमा व्यवसाय शुरु गर्दा कतिपयले सुझाएका थिए– यस्तो फोहोर ठाउँमा हात नहाल्नु ! यसमा चिरनको जवाफ हुन्थ्यो, ‘फोहोर सफा गर्न फोहोरमा हात नै हाल्नुपर्छ ।’

तर, त्यही फोहोर सफा गर्न कम्ता सास्ती खेप्नुपरेको थिएन । सुरुआती दिनमा ग्राहकहरू गलत सोचेर आउँथे । नेपाली र भारतीयहरूको समूहले ‘लड्की मिलेगी’ भन्ने खालका प्रश्न गर्ने गर्थे । कति त दुःख दिने नियतका समेत हुन्थे । तिनीहरूलाई पुलिसको धम्कीसमेत दिनुपथ्र्यो ।

शुरुमा त आजित पनि भए उनी । ‘तर, हामीलाई ठमेल नै चाहिएको थियो । कारण यो कालान्तरमा प्रोफेसनल मसाज हो, ठमेल पर्यटनको हब हो भनेर नै अघि बढाउनु थियो’, चिरन भन्छन् ।

केही समय त प्रहरीले पनि पिछा गर्न छाडेनन् । ‘बिहानदेखि साँझसम्म प्रहरीले हाम्रो चियोचर्चो गर्थे । यसले मानसिक चिन्ता बढाइरह्यो’, उनी सम्झन्छन् ।

मसाजमा बदनाम ठमेललाई सिइङ ह्याण्ड्सले नयाँ स्वरुप दिएको छ । अहिले सिइङ ह्याण्ड्स अन्तर्राष्ट्रियस्तरमै चर्चित छ । यो उपचार पद्धतिका लागि विदेशीहरू ठमेलमा धाउने समेत गर्छन् । ‘कालान्तरमा ग्लोबल्ली रिनाउन्ड गाइडबुकहरू जस्तो, ट्रिप एडभाइजर, लोन्ली प्लानेड, रफ गाइड, रिनाउन्ड जस्ता गाइडबुकहरूले पनि हामीलाई रिकग्मेन्ट गर्न थाले । त्यसपछि उकालो लागेको बिजनेश लाभदायक नै भयो’, चिरन सम्झन्छन् ।

केही समय त प्रहरीले पनि पिछा गर्न छाडेनन् । ‘बिहानदेखि साँझसम्म प्रहरीले हाम्रो चियोचर्चो गर्थे । यसले मानसिक चिन्ता बढाइरह्यो’, उनी सम्झन्छन् ।

यस घडीसम्म आइपुग्दा सिइङ ह्याण्ड्सले अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा धेरै अवार्ड हात पारिसकेको छ । संस्थाले सन् २०१२ मा सूर्य नेपाल आशा सोसल एन्ट्रोपेनरसिप अवार्ड हात पार्यो, त्यसपछि धेरै मिडियाले सिइङ ह्याण्ड्सलाई समुदायमा फरक पहिचानका साथ चिनाए । ‘मसाज एउटा उपचार पद्धति रै’छ भनेर बुझ्न थालियो । दृष्टिविहीनले पनि यो काम गर्न सक्दारहेछन् भनेर विश्वास हुन थाल्यो’, चिरन सुनाउँछन् ।

व्यवसायको सफलतासँगै सन् २०१४ मा चिरनले ललितपुरको पाटनमा दोस्रो क्लिनिक खोले । त्यसको तीन वर्षपछि सन् २०१७ मा बौद्धमा अर्को क्लिनिक पनि स्थापना गरे ।

कोरोनाको मार

व्यावसायिक सफलता हासिल गर्दै जाँदा चिरनमा उत्साह बढेको थियो । उनी अझै व्यवसायमा नयाँपन दिई विस्तार गर्न चाहन्थे । उनको योजना थियो सन् २०२० भित्र बैंकक् अथवा एभरेष्टतिर अर्को क्लिनिक स्थापना गर्ने । तर, विश्वभर फैलिएको कोरोना महामारीले उनको योजनामा पूर्णविराम लगाइदियो ।

विदेशी पर्यटकहरू आउनै बन्देज भएपछि उनको व्यवसाय एकाएक ओरालो लाग्यो । ‘कुनै समय महिनामा एक हजार भन्दा धेरै सेवाग्राही आउँथे । कोरोनाले शून्यमा झारिदियो’, चिन्तित हुँदै चिरन सुनाउँछन् । चिरनको भाडा तिर्नमै लाखौं खर्च हुन्छ । जोरजाम गरेको पैसा पनि सकिंदै जान थाल्यो ।

अहिले माहोल सामान्य हुँदै गए पनि पर्यटन क्षेत्र भने अझै ब्युँतन सकेको छैन । त्यसको प्रत्यक्ष मारमा छन् चिरन । ‘निश्चित समयसम्म भाडा त तिर्यौं । ललितपुरमा बिजनेस नहुँदासम्म भाडा नलिने शर्त छ । अरू त ऋण खोजेर चलाइरहेका छौं’, चिरन भन्छन् ।

ऋणको मामिलामा पनि साह्रै कठिन छ चिरनलाई । ‘दृष्टिविहीनलाई बैंकले ऋण दिंदैन । खाता खोल्न पनि दिइँदैन । व्यक्तिगत ऋण लिनुपर्ने बाध्यता छ’, उनी दुःखेसो पोख्छन् ।

समस्या त यो बेला थुप्रै छन् । तैपनि आशा मरेको छैन । संघर्षदेखि भागेर कहीं जानु छैन चिरनलाई । बरु देख्नुछ, अझै ठूला सपना । स्थिति सामान्य भएपछि उसैगरी पर्यटकहरू आउनेछन् । थेरापी गर्दै दुखाइ, पीर–मर्का सिइङ ह्याण्ड्समा बिसाउनेछन् । अघिल्ला वर्षहरूमा झैं सन्तोष मान्दै फर्कनेछन् । प्रवेशद्वारको सामुन्नेमा स्वागत गर्दै मुस्कुराइरहने चिरनलाई यो पनि थाहा छ, उनीहरूले आ–आफ्ना देशमा गएर सुनाउनेछन्– देख्ने हातहरूको कथा !

भिडियाे