सरकारले ल्यायो फिल्म हल संचालन तथा अनुगमन मापदण्ड


काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सिनेमा हल संचालन तथा अनुगमन मापदण्ड २०७७ ल्याएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले १९ बुँदे संचालन तथा अनुगमन मापदण्ड मंगलबार सार्वजनिक गरेको हो ।
पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म हल संचालनको अनुमति दिएको थियो । क्याबिनेटको अनुमतिपछि संचार मन्त्रालयले फिल्म हलमा कोभिड प्रोटोकल ल्याएको हो ।
मन्त्रालयले सिनेमा घरमा मापदण्ड पालना भए नभएको अनुगमन गर्न मन्त्रालयका सहिसचिवको संयोजकत्वमा चलचित्र विकास बोर्डका अध्यक्ष सदस्य रहने गरि अनुगमन समिति पनि गठन गरेको छ ।
काठमाडौं उपत्यकाबाहिरका फिल्म हलले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)सँग समन्वय गरेर हल चलाउनुपर्ने उल्लेख छ । मापदण्डमा सामाजिक दूरी, सरसफाइ, मास्क र स्वास्थ्यकर्मीको उपलब्धताको अनिवार्य व्यवस्था गर्नुपर्ने उल्लेख छ ।