सांसद झोवा कामीको संघर्ष र साहसको कथा
काँक्रा चोरेर खाइयो, जबर्जस्ती गराइयो विवाह
सुर्खेत । कर्णाली प्रदेशसभाकी सांसद झुवा कामीको जीवन संघर्ष र सहसको कथा रोचक मात्रै छैन, उत्प्रेरक पनि छ । ४० सदस्य रहेको प्रदेशसभामा एक मात्र भोटे भाषा बोल्ने सांसद् छिन्, झोवा कामी । उनी समानुपातिकतर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेश सभामा पुगेकी हुन् ।
अहिले कर्णाली प्रदेशसभामा उनले गरेका भाषण सबैको चासो र चर्चाको विषय बन्न थालेको छ । उनले सदनमा उठाएका कुरालाई सञ्चारमाध्यमले पनि उत्तिकै प्राथमिकता दिन्छन् । उनका यसअघिका कतिपय अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
समानुपातिक सांसद भन्नासाथ हेयभावले हेर्ने हाम्रो समाजलाई सदनमा झोवाको दरिलो र गर्विलो उपस्थितिले जवाफ दिएको छ ।
झोवाले सदनमा गरेको सम्बोधनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले शेयर गरिसकेका छन् ।
काँक्रा चोरेर खाइयो
साविकको मुगु जिल्ला माँग्री गाविसमा भएको थियो झोवाको जन्म । हालको मुगुकार्मारौंङ्ग गाउँपालिका वडा नम्बर ७ मा पर्छ उनको जन्मघर । जुन ठाउँ मुगु सदरमुकामदेखि सात घण्टाको पैदल यात्राबाट मात्र पुगिन्छ ।
‘बाल्यकालमा गोठालो जाने गर्थेँ । गाई, बाच्छी, १५ वटा थिए । झोवा जातको चौँरीगाई हेराउन जान्थ्यौँ । बुवा- आमा दिदी र म मात्रै थियौँ । दिदी विवाह गरेर गईन ।
उनी चाहिँ श्रीमानसँगै माइतमा बसिन्, नेपाल प्रेससँग बाल्यकाल अनुभव सुनाउँदै उनले भनिन्, ‘नौ वर्षको उमेरमा जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर चोट लागेको थियो । टाउकोमा दाग छ । सानोमा दुई-चार जना साथी मिलेर काँक्रा चोर्ने र खाने गर्थ्यौँ । राति चोर्न जान्थ्यौँ । कसैले पनि हामीले काँक्रा चोरेर खाएको थाहा पाएनन् ।’
जबर्जस्ती गराइयो विवाह
१९ वर्षको हुँदा विवाह बन्धनमा बाँधिएकी गरेकी झोवा आफ्नो इच्छाविपरीत विवाह गराइएको बताउँछिन् । दिदीले विवाह गरेपछि उनका बुवा-आमाले घरज्वाइँ खोजेर विवाह गराइदिए ।
‘त्यो विवाह मैले चाहेर गरेकी होइन । मेरो बाबु-आमाले अर्काकोमा भागेर (विवाह) जान्छ कि भनेर घर ज्वाइँ ल्याउनुभयो । त्यसअगाडि दिदी गइसक्नु भएको थियो । भाइ नभएका कारण मेरो जबर्जस्ती विवाह भयो । म रुदैं थिएँ तर पनि बाध्य भएँ । मलाई समाजले एक दिन विवाह गर्नेपर्छ भनेर फकाए’, उनले भनिन् । उनले २० वर्षकै उमेरमा पहिलो सन्तान जन्माइन् ।
खस आर्य देखे भाग्ने चलन
‘हाम्रो चलन के थियो भने खस आर्यहरू घरगाउँमा देख्नासाथ हामी लुक्थ्यौँ । गाउँमा हामी भोटे भाषा नै प्रयोग गर्थ्यौँ । हामीमध्ये कोहीले लामा भाषामा पढ्थे । हामीलाई कसैले पढ्न भनेन । पढ्ने कि काम गर्ने भन्ने हुन्थ्यो ।
त्यो समयमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता सबैमा थियो’, उनले सुनाइन्, ‘२०५८ सालमा गमगढीमा आयौं । ५९ सालमा माओवादीको चहल-पहल गाउँमा धेरै थियो । मेरो पुर्खा नै नेपाली कांग्रेसमा थियो । मलाई त्यहाँका स्थानीय दाजुभाईले वडा सभापति बनाएछन् । म वडासभापति भएको खबर माओवादीले सुनिसकेका थिए । सभापति बनाएपछि मलाई घरमै कसैले जानै दिएनन् । मेरो घर माओवादीले लुटयो । यार्सागुम्वा लिए । मलाई गमगढीमै मार्न भनेर आए ।’
उतिवेला तत्कालीन गाविसको ८ नम्बर वडाको सभापति भएकै कारण मलाई माओवादीले लखेटेका थिए । देशमा संकटकाल थियो । यो नै मेरा लागि राजनीतिको आरम्भ थियो भन्ने अहिले लाग्छ । उतिवेला गमगढी जान पनि नसकिने, गाउँ पनि जान नसकिने अवस्था थियो । जंगलै जंगलको यात्रा गरेर म गमगढी आएँ ।
गमगढीमै कोठा भाडामा लिएर बस्यौँ । शुरूमा धेरै दुःख पायौँ । दुनियाँको भारी बोक्ने होटल खोलेर भाँडा माझ्ने काम गर्यौँ । जिल्लामा आइसकेपछि राजनीति धेरै भएन । म गमगढीमा जिल्ला कार्य समितिमा दुईजनाको प्रतिस्पर्धा भयो । सोरु गाउँपालिकाका तुल्सी नेपालीले ७६ मैले ७७ मत ल्याएँ । म एक मतले विजयी भएँ । धेरै खुशी भएँ । एक मतले विजय पाउँदा आफूले गर्व गरेँ । सबै खुशी पनि भए ।
राजीनामा दिने सोच आयो
उनी समानुपातिक संसद भइसकेपछि पहिलो पटक सुर्खेत आइन् । ‘सुर्खेत आइसकेपछि दुःख पाइयो । पढाइ थिएन । भाषा आउँदैन थियो । पाँच वर्ष कहिले जाला भनेर लाग्थ्यो । पहिलो अधिवेशनमा मैले एक शब्द पनि बोल्न सकिन । पत्रकारले समाचार नै लेखे । आफैँलाई हिनताबोध पनि भयो । मेरो बेइज्जती भएको ठानेर सदनमा बोल्न दबाब पर्यो’, झोवा भन्छिन्, ‘ सभामुख राजबहादुर शाही र मेरो दलका नेता जीवन बहादुर शाहीले बारम्बार सदनमा बोल्न भन्थे । राति बोल्छु भनेर जान्थेँ तर हलमा जाँदा पसिना छुट्थ्यो । एक मनले राजीनामा दिने सोच आयो तर कोर्चुग लामाले हिम्मत दिनुभयो । दोश्रो अधिवेशनमा मैले बोलेँ ।’
तर, त्यही बोलीले आफूलाई चर्चामा ल्याएकोमा दंग पर्दै उनी स्मरण गर्छिन् । ‘जब मैले बोलेँ, सबैतिर फैलियो खुशी लाग्यो । आफ्ना गाउँका जनताले भोगेको कुरा टक्कर लिएरै डर नमानी राख्ने गर्छु । मेरो बारेमा समाचार नआएको भए सायद म राजीनामा नै दिन्थेँ होला । त्यो समाचारले मलाई थप कुरा गर्न, बोल्न, दबाब त दियो नै, सबैले बोल्छन् मैले किन नबोल्नु, विग्रे विग्रोस भनेर मैले सदनमा सुरुमा दुइ मिनेट मात्रै सुरुमा बोलें । गाउँमा सिँचाइ नभएको, बाटोघाटो नबनेको कुरा उठाएँ । त्यसपछि मलाई सयौंको फोन आएको थियो । त्यो फोनले साहस थपियो ।
विकास गर्न सकिएन
‘हामी जनजाती, दलित, विपन्न व्यक्तिलाई राज्यले अवसर दियो । दलले हामीलाई छान्यो । गाउँबाट तालीगाली दुवै पाउँछु’ उनी भन्छिन्, ‘जनताको चित्त बुझाउन पाएको भए, विकास गर्न पाएको भए मन खुशी हुन्थ्यो । साधन र स्रोत थोरै छ । जनताको इच्छा पूरा हुँदैन ।’