सक्नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै
मोरङ (पथरी) । पूर्वी नेपालका विभिन्न शिविरमा रहेका १ लाखभन्दा बढी भुटार्नी शरणार्थी पुन:स्थापना कार्यक्रममार्फत तेश्रो मुलुक पुगेका छन् ।
पुन:स्थापना कार्यक्रममार्फत अमेरिका, क्यानडा, बेलायत, नेदरल्यान्ड्स, डेनमार्कलगायतका मुलुकमा उनीहरू परिवारसँगै बस्दै आएका छन् । तर, परिवारका सदस्य तेस्रो मुलुक गएपछि सहाराविहीन बनेका एकल महिला, वृद्धवृद्धा र बालबालिकाको दैनिक जीवन शिविरभित्र कष्टकर बनेको छ । झापा र मोरङका विभिन्न शिविरका भुटानी शरणार्थीलाई खान र लाउनै समस्या हुन थालेको छ ।
दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका सामग्री दिन छाडेको र आफन्तले पनि कुनै भरथेक नगरेपछि साहाराविहीन बनेका एकल महिला, वृद्धवद्धा र बालबालिका थप पीडित बनेका हुन् । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत पुन:स्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका धेरै भुटानी शरणार्थीमा खानलाउन नै समस्या हुन थालेको छ ।
झापा र मोरङस्थित ७ वटा शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्याको एकमाथि अर्को चाङ थपिएको छ ।
मोरङको पथरी-शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांग रहेकाले आवश्यक खाद्यान्न, लत्ताकपडालगायतका सामग्री नहुँदा उनीहरुको जीवन कष्टकर बनेको बताए । राईका अनुसार कतैबाट सहयोग नपाएपछि जोखिममा परेका ती समुदायलाई जीवन चलाउन नै सकस परेको छ ।
शिविरभित्र अहिले वृद्धवृद्धा, अपांगता भएका र एकल महिला गरी १ सय २० जना रहेको उनले बताए । सहाराविहीन बालबालिका २४ जना छन् ।
‘शिविरमा धेरै वृद्धवृद्धा, अशक्त र अपांग छन्’, उनले भने,‘सहाराविहीन उनीहरुलाई दैनिकी चलाउन नै समस्या छ । बस्नलाई छाप्रो त छ तर चुल्होमा पकाउने ग्याँस, दाउरादेखि खाद्यान्न र शरीर ढाक्ने कपडाको अभाव छ । छिमेकीको सहारामा बाँच्नुपरिरहेको छ ।
शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेका छ । यूएनएचसीआरले वृद्धवृद्धा, अशक्त र एकल महिलाका लागि भने तीन/तीन महीनामा सामान्य घर खर्चका लागि बैंक खातामा केही रकम पठाइदिन्छ ।
सुनसान शिविर
भुटानी शरणार्थीहरुको चापले कुनै बेला बाक्लो चहलपहल देखिने झापा र मोरङका शिविर हिजोआज सुनसान छ । अधिकांश तेस्रो मुलुक गएका छन् । विभिन्न कारण तेस्रो देश जान नपाएकाहरू मात्र अहिले शिविरमा बसिरहेका छन् ।
थोरै संख्यामा झापा र मोरङका यी शिविरहरु रहेका उनीहरुको कारण अहिले प्राय सुनसान छन् । शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गरिएका छन । झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षारोपण गर्न उमारिएका बिरुवा र बीउ उमारिएको छ ।
झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरूमा करिब १ लाख भुटानी शरणार्थीहरुको बसोबास थियो । मोरङको पथरीमा १५ हजारभन्दा बढी शरणार्थीहरू थिए ।
सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीहरुलाई भुटान फर्काउन नेपाल सरकारले पटक-पकट भुटानसँग वार्ता ग-यो । तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन । त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरू अमेरिकालगायतका तेस्रो मुलुकमा सारिएका छन् ।
झापाका विर्तामोड, दमक र मोरङ पथरी बजार शरणार्थीका कारण आर्थिक हिसाबले पनि फस्टाएका थिए । छेऊछाऊका बस्तीमा श्रम बजार निकै फस्टाएको थियो । तर, अहिले झापा र मोरङमा यो चहलपहल लगभग सकिएको छ । खाली रहेका शिविरहरूमा रुख रोपिएको छ । शिविरहरू प्रायः जंगलसँग जोडिएकाले यसलाई सामुदायिक वनमा परिणत गरिएका छन् ।
एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक गए
नेपालका विभिन्न ७ वटा शिविरमा रहेको भुटानी शरणर्थीमध्ये एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रमअन्तर्गत १ लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।
शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएपछि करिब २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान यूएनएचसीआरको छ ।
यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन् ।
नेपालमै बस्न पाउने विकल्पको माग
बेलगाँडी र पथरी शनिश्चरेमा रहेका भुटानी शरणर्थीले नेपालमै बस्न पाउने विकल्पको माग अघि सार्न थालेका छन् । पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले पुनर्बास कार्याक्रमअन्तर्गत तेस्रो मुलुक नगएका र पुनर्वास कार्यक्रम रोकिसकेकाले भुटान फर्कने आशासमेत नरहेको हुँदा उनीहरु नेपालमै बस्न चाहेका बताए ।
‘लामो समयदेखि बस्दै आएका शरणार्थीहरूले भुटान फर्कन चाहेको भए पनि पूरा हुन सकेको छैन’, उनले भने, ‘स्वदेश फर्कने आशा जीवित रहेन, हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो’।