को हुन् जी न्यूजले सगरमाथाको नाममा चर्चामा ल्याएका राधानाथ सिकदर ?
इटहरी । २०६० कात्तिक ३ गते बीबीसी विश्व सेवाको अनलाइनमा एक समाचार प्रकाशित भएको थियो । ‘दि म्यान हु डिस्कभर्ड एभरेष्ट’ अर्थात ‘जसले सगरमाथा पत्ता लगाए’ शीर्षक त्यस फिचरमा भारतीय विद्वान राधानाथ सिकदरको चर्चा गरिएको छ ।
४ वर्षको प्रयासपछि तत्कालीन समयमा ‘पिक फिप्टिन्थ’ अर्थात पन्ध्रौं चुली भनिने सगरमाथाको उचाइ सिकदरले पत्ता लगाएको फिचरमा उल्लेख गरिएको छ ।
भनिएको छ, ‘सन १८५२ को एक दिन बेलायतशासित भारतका एक युवाले पहाडी क्षेत्र उत्तरी देहरादुनमा रहेको आफ्नो कार्यालयका हाकिमलाई भने- सर मैले संसारको सबैभन्दा अग्लो हिमाल पत्ता लगाएको छु ।’
तर, १७ वर्षपछि भर्खरै जी न्यूजले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको भिडियोमा विश्वको सर्वोच्च शिखरको नाम ‘माउन्ट सिकदर’ हुनुपर्ने उल्लेख गरेपछि व्यापक विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्वार्तापछि सगरमाथा क्षेत्रको कालापत्थर पुगेर जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले पुस २८ मा सगरमाथामा भारतीय दाबासहित माउन्ट एभरेष्टको नामाकरण ‘माउन्ट सिकदर’ बताएका थिए । चौधरीकै आह्वानमा सामाजिक सञ्जालमा ‘इन्डिया फर माउन्ट सिकदर’ अभियानसमेत चलाइयो ।
यता नेपालमा भने कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन कब्जा गरेको भारतले सगरमाथामा पनि ‘कब्जा’ गर्न खोज्यो भनेर तीब्र विरोध भयो । विरोध बढेसँगै सगरमाथा नेपालको भएको र नेपालबाट कसैले लान नसक्ने भन्दै पुस २९ गते अपलोड गरिएको सामग्रीमा बोली फेरे ।
यद्यपी, नेपालमा ‘सगरमाथा’ र चीनमा ‘झोमोलोङ्मा’ जस्ता आफ्ना-आफ्ना नामहरू भएपनि भारतमा भने ‘माउन्ट एभरेष्ट’ नै भनिने बताउँदै चौधरीले अब भने ‘माउन्ट सिकदर’ भन्नुपर्ने तर्कलाई जारी राखेका छन् । प्रष्टीकरण आएपनि बिनाअनुमति सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेश गरेर टेलिभिजन रिपोर्टिङ गरेको विवाद भने अहिले सम्म छ ।
एक महिनाअघिदेखि कै अभियान
सगरमाथा क्षेत्रमा पुगेर चौधरीले निर्माण गरेको भिडियो सामग्रीपछि मात्रै नेपालीमाझ ‘नोटिस’ भएको सगरमाथाको नाम फेर्ने जी न्यूजको अभियान धेरै पहिलेदेखिकै हो । २०७७ मंसिर १६ मै युट्युबमा अपलोड भएको एक सामग्रीमा उक्त अभियान शुरू भएको देखिन्छ । च्यानलले ‘एभरेष्टका नाउ माउन्ट सिकदर क्यूँ नही ?’ शीर्षकमा ११ मिनेट १६ सेकेन्डको सामग्री पस्किएको थियो । सोही अभियानको विस्तारि स्वरूपमा सगरमाथा क्षेत्रको रिपोर्टिङलाई लिन सकिन्छ ।
को हुन् सिकदर ?
सगरमाथासँग जोडिएर भारतीयमाझ आउने सिकदर भारतका प्रसिद्ध गणितिज्ञ हुन् । नेपालसँगै जोडिएको पश्चिम बंगालको कलकत्तामा जन्मिएका सिकदरको पूरा नाम राधानाथ सिकदर हो । सन् १८१३ को अक्टोबरमा बेलायतशासित भारतमा जन्मिएका सिकदर बेलायतले संचालन गरेको दक्षिण एसियाली क्षेत्रको ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेका ‘कम्प्युटर’ थिए । त्यो समयमा अहिलेको जस्तो हिसाब गर्ने यन्त्र कम्प्युटर नभएकोले हिसाब गर्ने मान्छेलाइनै कम्प्युटर चन्ने चलन थियो ।
ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेले सन् १८६५ मा तत्कालिन पिक फिप्टिन्थलाई माउन्ट एभरेष्ट भनेर नामाकरण गरेको थियो । इस्ट इन्डिया कम्पनीले संचालन गरेको सर्वे अफ इन्डियाका तत्कालीन प्रमुख एन्ड्रु वटले आफ्नै पदका पूर्वसहकर्मी जर्ज एभरेष्टको नाममा उक्त नाम राखेका थिए । दि गार्जियनले सन् २०११ को जुलाइ २१ मा लेखेको रिपोर्ट अनुसार जर्ज एभरेष्ट आफैं आफ्नो नाममा हिमालको नामाकरण भएकोमा असन्तुष्ट थिए ।
एभरेष्ट आफैं असन्तुष्ट भएको, नेपाल तथा चीनको आफ्ना-आफ्ना नाम भएको र सिकदरले उचाइ पत्ता लगाएकोजस्ता तर्क गर्दै केही भारतीयहरू माउन्ट एभरेष्टलाई माउन्ट सिकदर बनाउन भारत लाग्नुपर्ने अभियानमा छन् । जी न्यूज यसैको अभियानमा सक्रिय छ ।
सन १८७० को मे १७ मा मृत्यू भएका सिकदरलाई बेलायतको उपनिवेशबाट मुक्त भएपछि भारतले धेरै सम्मान दिएको छ । भारत सरकारले सिकदरको नाममा सन् २००४ को जुन २८ बाट हुलाक टिकट संचालनमा ल्याएको छ ।
पश्चिम बंगाल सरकारले सन २०१३ बाट राधानाध सिकदर-तेन्जिङ नोर्गे अवार्डको स्थापना गरेको छ । नेपालमा जन्मेर सगरमा आरोहण गरेका तेन्जिङ पछि भारतीय नागरिक भएका थिए । बेलायती आरोहणदलबाट सगरमाथाको पहिलो आरोहण एडभन्ड हिलारीसँगै गरेका तेन्जिङसँगै जोडेर पश्चिम बंगालले सिकदरको ब्रान्ड गरिरहेको छ ।
माओ पनि माउन्ट एभरेष्टसँग असहमत थिए, यस्तो थियो नयाँ बीपीसँग प्रस्ताव गरेको नाम
जसरी अहिले जी न्यूजलगायतका केही भारतीयहरू माउन्ट एभरेष्ट नामसँग सहमत छैनन् । ठीक त्यसैगरी चीनका महान नेता माओ पनि माउन्ट एभरेष्ट नामसँग असहमत थिए । उनले आफ्नो असहमति तत्कालीन नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग राखेका थिए । माओले राखेको प्रस्तावमा बीपी पनि सहमत भएका थिए ।
२०१६ चैत ५ (सन १९६० मार्च १८) जतिबेला सगरमाथा विवादको बारेमा पहिलो माओ र बीपीबीच उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमै माउन्ट एभरेष्टलाई नाम फेर्ने प्रस्ताव माओले गरेको माओको पुस्तक ‘अन डिप्लोमेसि’ मा समेत उल्लेख छ । सन् १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग बीपीले राखेका सगरमाथाको विवाद र नयाँ नामबारेको कुराकानी यस्तो थियो –
बीपी त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाई सगरमाथा भन्छौं । तपाईं झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरं माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भू-भाग भित्र पर्छ । तर, प्रधानमन्त्री चाउएनलाइले यो चीनभित्र पर्छ भन्नुभयो ।
माओः यसमा तपाईंले असहज मान्नु हुँदैन ।
बीपी : यो भावनात्मक प्रश्न हो ।
माओः यसलाई आधा-आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाईंको । उत्तरी भाग हाम्रो ।
बीपी : अनि चुचुरो चाहिँ के गर्नु ?
माओः त्यो पनि आधा-आधा । यसो गरे कसो हुन्छ ? यदि यो समाधान गर्न सकिँदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सीमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाईंलाई दिए भावनात्मक रूपमा हामीलाई दुःख हुन्छ । सबै हामीलाई दिए भावनात्मक रूपमा तपाईंलाई दुःख हुन्छ । हामीले सीमारेखा चुचुरोमा राख्न सक्छौं । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेष्ट त पश्चिमाहरूले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौं । चोमोलोङ्मा पनि नभनौं । यसलाइ नेपाल-चीन मैत्री हिमाल भनौं ।
बीपी : ठिकै छ ।