बागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभामा पेश हुँदै – Nepal Press

बागमतीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभामा पेश हुँदै

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेशसभा बैठकमा औपचारिक रुपमा प्रस्तुत हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अपरान्ह प्रदेशसभा बैठक बोलाएका छन् ।

माघ ७ गते शुरु भएर अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक अचानक आजै बोलाइएको हो । आजको बैठकको कार्यसूचीनै अविश्वास प्रस्ताव टेवल हुने रहेको प्रचण्ड माधव पक्षधर नेकपाकी सांसद रचना खड्काले नेपालप्रेसलाई बताइन् ।

पौडेललाई मुख्यमन्त्रीबाट हटाउन प्रचण्ड माधव पक्षधर ४५ सांसदले अविश्वास प्रस्ताव पेश गरेका छन् । ११० सदस्यीय प्रदेशसभामा सभामुखसहित नेकपाका ८० सांसद छन् ।

दलका बहुमत सदस्यले डोरमणीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएकामा यसबीचमा हस्ताक्षरकर्तामध्ये प्रकाश श्रेष्ठ र कृष्ण भूर्तेलले हस्ताक्षर फिर्ता लिएका छन् । तर हस्ताक्षर नगरेका डा रामकुमार अधिकारी र बसुन्धरा हुमागाई आफ्नो पक्षमा थपिएको खड्काले बताइन् ।

अविश्वास प्रस्ताव पारित गर्न ५६ सांसद चाहिन्छ । प्रचण्ड माधव पक्षको संख्याले नपुग्ने भएकाले नेपाली कांग्रेसको साथ आवश्यक पर्छ । कांग्रेस नेताहरु आन्तरिक छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर