‘भिजन एक्सलेन्स अवार्ड’बाट डाक्टर रुइत सम्मानित
नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो ।
उहाँहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गर्नुभएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
सङ्घका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताउनुभयो । सम्मानित डा रुइत तिलगङ्गा इन्ष्टिच्युट अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुनुहुन्छ भने प्राडा रामप्रसाद नेपाल आँखा अस्पताल र संघका संस्थापकमध्येका एक हुनुहुन्छ ।
त्यसैगरी डा गोपाल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं सङ्घका कार्यकारी सदस्य हुनुहुन्छ ।