कमलपोखरीमा विद्यासुन्दर र गगन थापा किन भए आमनेसामने ? – Nepal Press
सम्पदा पुनर्निर्माण

कमलपोखरीमा विद्यासुन्दर र गगन थापा किन भए आमनेसामने ?

प्राकृतिक पोखरीमा कंक्रिटको कमल फुलाउन लागिएको भन्दै अभियन्ताको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तत्कालीन सभासद गगन थापाले कमलपोखरीको पुनर्निमाण तत्काल रोक्न माग गर्दै गत पुस २९ गते काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेखे । तर, शाक्यले कुनै सुनवाइ नगरेपछि उनी अहिले विभिन्न अभियन्ताको साथ लिएर महानगरपालिकालाई दवाव दिइरहेका छन् ।

कमलपोखरी काठामाडौंको निर्वाचन क्षेत्र ४ मा पर्छ, जहाँबाट निर्वाचित सभासद हुन् गगन । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकासको काममा उनको चासो स्वभाविक पनि हो । कमलपोखरीको पुनर्निमाण गर्दा यसको प्राकृतिक स्वरूप मास्न लागिएको उनको दावी छ । वास्तविक पोखरी साँघुरो बनाइएको र कंक्रिटको प्रयोग गरिएको विषयमा पनि उनले आपत्ति जनाएका छन् ।

यता मेयर शाक्यले भने कमलपोखरीको डिजाइन गर्दा गगन पनि संलग्न रहेको बताएका छन् । तीन दिनअघि काठमाडौं नगरसभाको अधिवेशनलाई सम्वोधन गर्दै उनले कमलपोखरीको एक इन्च पनि जमिन अतिक्रमण नभएको पनि दावी गरे । गगनले पठाएको पत्रका सन्दर्भमा उनले अनभिज्ञता दर्शाए ।

‘उहाँले पत्र पठाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ, मैले पढ्न पाएको छैन,’ शाक्यले भने, ‘समाचारहरुमा आएका अरु कुरामा पनि सत्यता छैन ।’

कांग्रेसबाट निर्वाचित उपमेयर हरिप्रभा खड्गीले पनि आफू निर्माण रोक्नुपर्ने पक्षमा नरहेको बताएकी छन् ।

निर्माणमा ढिलाइ र विवादको चुरो

काठमाडौंका ९ पोखरीमध्ये एक कमलपोखरी लिच्छविकालीन हो । सो पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपेको ऐतिहासिक कथन छ ।

पोखरीमा कमलको फूलले ढाकेपछि यसको नामै कमलपोखरी राखिएको किंवदन्ति छ । यसैलाई आधार मान्ने हो भने यो पोखरी शताब्दी पुरानो रहेको सम्पदाविद्हरू बताउँछन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकै वर्ष छठ पर्वका दिन कमलपोखरी पुगेका विद्यासुन्दर शाक्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘पोखरी’ लाई व्यवस्थित र आकर्षक बनाउन निर्देशन दिइन् । लगत्तै मेयर शाक्यले कमलपोखरी पुनर्निर्माणको योजना बनाए ।

मेयर तातेपछि पुनर्निर्माणका लागि करीब ९ करोड ४७ लाख रुपैयाँको लागत इष्टिमेट तयार भयो । महानगरले जय धनञ्जय कँडेल जेभी कम्पनीलाई ६ करोड ३६ लाख ५९ हजार ६०४ रुपैयाँमा ठेक्का दियो ।

२०७७ साल असार १५ गतेसम्म पुनर्निर्माण सम्पन्न हुने गरी २०७६ असार १९ गते पोखरीको शिलान्यास भएको थियो । तर शिलान्यास भएको एक वर्षसम्म पनि पुनर्निर्माणको काम शुरू नभएपछि सम्पदा बचाउ अभियन्ता र स्थानीयवासीले चिन्ता व्यक्त गर्न थाले ।

एक वर्षसम्म पनि काम शुरू नभएपछि अभियन्ताहरूले महानगरलाई दबाब दिन शुरु गरे । फलस्वरुप दशैंअघि निर्माण कम्पनीले पोखरीमा भएका माछा बिक्री गरी पानी सुकायो । सम्पदा बचाउ अभियन्ताहरू रानीपोखरीको जस्तै कमलपोखरीमा पनि ज्यादती हुनसक्ने भन्दै सचेत भए ।

प्राकृतिक पोखरीमा एकाएक कंक्रिटको कमल फुलाउन लागिएको भन्दै अभियन्ताहरू जुर्मुराएका छन् । कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाई पोखरीको आकारसमेत घटाइएको अभियन्ता आलोकसिद्धि तुलाधरको दावी छ । सोमबार मध्यरातमा पोखरीभित्रै डोजर लगेर माटो अन्यत्र लगिएको उनले बताए ।

पछिल्लो समय महानगरले कमलपोखरीमा एकपछि अर्को गर्दै कंक्रिट प्रयोग गरी पुनर्निर्माण शुरू गर्न थालेको छ । यो एक हप्तामा कमलपोखरीमा ठूलै उथलपुथल भएको छ । अभियन्ताको ज्ञापन, पुरातत्व विभागको पत्र, स्थानीय सांसदको पत्र समेतलाई महानगरले लत्याएपछि कुनै उपाय नलागेर कानूनी बाटोमा पुगेको अभियन्ता तुलाधर बताउँछन् ।

‘हामीले ज्ञापनपत्र बुझाएका हौं । मेयर सा’ब अफिसमा नभएपछि सचिवलाई बुझाएका थियौं । पुरातत्व विभागको पत्र पनि छ । पत्र हातैमा परेन भन्ने बच्चा पाराको कुरा गरेर त हुँदैन नि ! मुख्य कुरा मुद्दा हो कि पत्र हो ? पत्र अनुसार काम गर्ने हो नि त ! नियत नै खराब छ । अदालतको आदेश नै नमान्ने महानगर छ’, अभियन्ता तुलाधरले भने ।

पुरातत्व विभाग र अभियन्ताले बुझाएको पत्रअनुसार महानगरले काम गर्न नरोकेपछि अभियानकर्मीले सर्वोच्च अदालतमा तत्काल काम रोक्न अन्तरिम आदेशका लागि रिट दायर गरेका छन् । अभियन्ताहरूले अतिक्रमित भएको जग्गा फिर्ता हुनुपर्ने, मिचिएको जग्गा सार्वजनिकीकरण हुनुपर्ने माग राखेका छन् ।

सर्वोच्चले अन्य मिचिएका, व्यक्तिका नाममा दर्ता भएका पोखरीहरू ‘पोखरी’ नै कायम गरिदिएको आशमा अभियन्ताहरू अदालत पुगेका हुन् । तुलाधर महानगरको अहिलेको काम रोक्ने ठूलो आश भनेकै सर्वोच्चको आदेश भएको बताउँछन् ।

सरकारको रेकर्डमा ४८ रोपनी भए पनि हाल २२ रोपनी जग्गा मात्रै कमलपोखरीको रहेको छ । हाल महानगरको डिजाइनमा कंक्रिट पोखरी बनाउने र चारैतिर डिल बनाउने भनिएको छ । तर यसअघिको पोखरीमा भने डिल नभएको दाबी गर्छन् अभियन्ता ।

महानगरले बनाएको डिजाइनमा पोखरीको बीचमा ठूलो ढलानको कमल रहेको छ जसमा बत्ती र फोहोरा हुन्छ । प्राकृतिक रूपमा फुल्ने फूलहरू हटाएर, पानी सुकाएर, माटो रातारात निकालेर मानवनिर्मित पानी राखेर, कंक्रिट ढलान गरेर कमल बनाउनुको अर्थ नहुने भन्दै सम्पदाप्रेमीहरू आन्दोलनमै उत्रिएका छन् ।

अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए । यो अभियानलाई गगन थापाको साथ छ । कमलपोखरी पुनर्निर्माणको क्रममा भइरहेको कमजोरीका सम्बन्धमा उनले कमलपोखरी संरक्षण एवं जनहित समाज, कमलपोखरी स्पोर्टस् क्लब र स्थानीय बासिन्दासँग छलफल गरेका थिए ।

महानगरले अविलम्ब सबै पक्षसँग एकसाथ छलफल गरी पोखरीको ऐतिहासिक र पर्यावरणीय पक्षलाई नबिगारी सौन्दर्यीकरणको कामलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । यो सुनिश्चित नहुँदासम्म हाल भइरहेको निर्माणको काम स्थगत गर्नुपर्ने उनको माग छ ।

‘महानगरपालिकाले यसलाई प्रतिष्ठाको विषय नबनाई, सरोकारवालाले उठाएका यथार्थ मुद्दा र पुरातत्व विभागको चासोलाई सम्बोधन गरेर मात्र अघि बढ्ने आशा छ,’ थापाले फेसबुकमा लेखेका छन् ।

महानगर भन्छ– कंक्रिटले फरक पर्दैन

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ कंक्रिटले कमलपोखरीमा असर नपर्ने दाबी गर्छन् ।

श्रेष्ठले भने, ‘यो पोखरीमा कंक्रिट प्रयोग गर्दा असर पर्दैन । पोखरी पुरानो होइन । पुरातत्वले ऐतिहासिक सम्पदा हो भनेर भनेको छैन । पहिला पनि कंक्रिट नै थियो । कसैलाई केही भएन । बिग्रेको पोखरीलाई राम्रो पोखरी बनाउने सवालमा महानगरले रोजेको हो ।’

उनले अहिले भइरहेको विरोधलाई अभियन्ताको नियत गलत भएको टिप्पणी गरेका छन् । भने, ‘स्थानीयको विरोध छैन । अभियन्ताहरूलाई खानु परेकाले यो विवाद निकालिएको हो ।’

महानगरका मेयर शाक्य भने कमलपोखरीमा लागेका अभियन्ताहरू नै कांगे्रस भएको र विवाद निकाल्न खोजेको बताउँछन् । सो क्षेत्रका निवर्तमान सांसद गगन थापाले अनावश्यक मिडियाबाजी गरेको भन्दै यथार्थ चाँडै सार्वजनिक गरिने उनले बताएका छन् ।

रोक्न पत्र पठाएका छौंः पुरातत्व विभाग

पुरातत्व विभागले भने कमलपोखरीको काम तत्काल रोक्न अनुरोध गरेको बताएको छ ।कमलपोखरीमा भएको काम रोक्न मंगलबार नै महानगरलाई पत्र पठाएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

उनले भने, ‘पत्र पठाएर पनि काम नरोके स्थलगत निरीक्षण गर्छौं । महानगरले पुनर्निर्माण गर्न लागेको कमलपोखरीमा कंक्रिट हो/होइन भनेर छलफल गर्छौं ।’

महानगरले ऐतिहासिक होइन भन्नु गलत भन्दै कमलपोखरी ऐतिहासिक सरंचना भएको कुँवरले बताए । उनी भन्छन्, ‘काठमाडौंमा कुनै पनि नयाँ पोखरी छैनन् । त्यो पोखरी पनि पुरानै हो ।’

‘कमलपोखरीमा गरिएको डिजाइन नै गलत छ’

  • आलोकसिद्धि तुलाधर, सम्पदाप्रेमी

कमलपोखरीको काम तत्काल रोक्नुपर्छ भनेर अन्तरिम आदेशका लागि हामीले सर्वोच्चमा रिट दायर गर्यौं । अरू पनि माग राखेका छौं । जस्तै त्यहाँ अतिक्रमित पोखरी वरिपरिको जग्गा सबै सार्वजनिकीकरण र फिर्ता हुनुपर्छ । पोखरीको पोखरी नै हुनुपर्छ भन्नेछ ।

अहिले सर्वोच्चबाट नै ठूलो आश छ । केही वर्षअघि मिचिएका, व्यक्तिका नाममा दर्ता भएका, स्कूलको नाममा दर्ता भएका सार्वजनिक पोखरी सर्वोच्चले ‘पोखरी’ नै कायम गरिदिएको छ । जस्तै लगनखेलको सप्तपाताल पोखरी, भक्तपुर बोडेमा रहेको पोखरीलाई पनि सर्वोच्चले ‘पोखरी’ नै कायम गरिदिएको छ ।

त्यही नजिरबाट त्यस्तै हुन्छ भन्ने आश छ । किनभने कमलपोखरी ४८ रोपनीसम्मको भएको सरकारी रेकर्ड छ । केही वर्षअघि रावल आयोग बनेको थियो ।

सरकारी सार्वजनिक जग्गाहरू मिचेर को–को व्यक्तिले हड्पेका छन् भनेर त्यसमा डिटेल अध्ययन थियो । जुन त्यतिबेला सार्वजनिक नै गरेन । त्यो अहिले पनि सार्वजनिक त भएको छैन तर हामीले पायौं । कमलपोखरीमा पनि यति जग्गा यो–यो व्यक्तिले मिचेको छ भन्ने डाटा त्यसमा छ ।

अहिले झण्डै २२ रोपनी छ । कमलपोखरीको काम अझै रोकेको छैन । तर, आपत्तिजनक कुरा जुन अस्ति सोमबार १२ बजे राति भयो । त्यो त एकदमै चोर काम भयो । अर्को कुरा डोजर पोखरी भित्रै हुलेको थियो । पोखरीभित्रको पींधको माटो झिकेर ट्रकमा लोड गरिंदै थियो ।

त्यो पींधको माटो झिकेपछि पोखरी नै सकिन्छ । जति पानी हाले पनि त्यसलाई रिभाइभ गर्न सकिंदैन । आखिरमा त्यहाँ ढलान हाल्नुपर्ने हुन्छ । ढलान गरेपछि त त्यो स्वीमिङ पुल भयो, पोखरी त रहेन नि !

महानगरको नियत नै त्यही हो कि रानीपोखरीमा काठमाडौं महानगरपालिकाले ढलान गर्न शुरू गरिसकेको थियो नि ! पछि पब्लिक दबाबमा ढलान निकालियो । त्यहाँ गर्न नपाएको रिसमा यिनीहरूले यहाँ गर्न खोजेको हो कि ? रातिराति चोर बाटो गर्न खोजेपछि नियत छर्लङ्ग भयो ।

महानगरको नियत नै खराब छ । सर्वोच्चको आदेश पनि नमान्ने भन्ने उनीहरूको नियत हो । अहिले कमलपोखरीमा उहाँहरूको डिजाइन नै गलत छ । डिजाइनमा नै कंक्रिट पोखरी बनाउने छ । जस्तो चारैतिर पोखरीको डिल हुन्छ ।

यो पोखरीमा पहिले नै शायद डिल थिएन होला । किनभने यो सिमसार क्षेत्र हुनसक्छ । भनेपछि प्राकृतिक रूपमा पानी जमेर बसेको हुनसक्छ । त्यो प्राकृतिक पोखरी हो । त्यो भयो भने डिल पनि हुँदैन । डिल थिएन भने त्यसलाई त्यसरी नै राखौं । केही बिग्रिंदैन ।

मानवनिर्मित पोखरी पहिला थियो भने त्यो डिललाई त स्टेप चाहिन्छ । मान्छे हिंड्दा भत्किन्छ । त्यो नहोस् भनेर त्यसलाई बलियो बनाउने उपाय भनेको जति पनि काठमाडौं उपत्यकामा परम्परागत पुरानो पोखरी छ त्यो डिल चाहिं इँटाको बनाउँछ । सबैभन्दा बाहिरी लेयरमा इँटा हुन्छ । त्यसले भत्किन दिंदैन । इँटाको पछाडि चाहिं कालोमाटोको लेयर राख्छ ।

इँटा र कालोमाटोको कम्बिनेसनले पोखरीमा पानी भरिसकेपछि त्यसले रिचार्जको काम गर्छ । त्यो पानी रसाएर छेउछाउका हिटी, इनारहरूमा पानी आपूर्ति गर्छ जुन नजिकको बस्तीमा भएका मान्छेले पानी पिउन पाउँछन् । जब त्यहाँ ढुंगा चलाइन्छ, सिमेन्ट प्रयोग गरिन्छ, त्यो पानीको बहाव ठ्याक्कै रोकिन्छ । प्राकृतिक पानीको इकोसिस्टम मर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर