प्रधानमन्त्री कपमा ‘बाघ’ र ‘बाख्रा’ को भिडन्त, घरेलु क्रिकेटको ढाँचामै प्रश्न
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा राष्ट्रिय टिमका ब्याट्सम्यान विनोद भण्डारीले विष्फोटक शतक हाने । तर, खेलपछि पत्रकारहरुसँग कुरा गर्दा उनको अनुहारमा कुनै उत्साह थिएन ।
पत्रकारले सोधे पनि– शतक हानेर पनि खुशी देखिनुहुन्न किन ? विनोदको जवाफ थियो, ‘कस्तो टिमविरुद्ध हानेको भन्नेले पनि फरक पर्छ नि !’
विभागीय टिम त्रिभुवन आर्मी क्लवका कप्तानसमेत रहेका भण्डारीले गण्डकी प्रदेश विरुद्धको खेलमा शतक जोडेका थिए । आर्मी क्लवमा राष्ट्रिय खेलाडीहरुको बर्चश्व छ । गण्डकी प्रदेशको टिममा नयाँ खेलाडीहरु । यो कुनै पनि हिसाबले बराबरीको प्रतिस्पर्धा थिएन । एकप्रकारले भन्दा नतिजा पूर्वनिश्चित थियो । विनोदले आफ्नो शतकमा धेरै खुशी नमनाउनुको कारण विपक्षी कमजोर भएरै हो । अर्को विभागीय टिमविरुद्ध शतक हानेका भए सायद उनको रवाफ अर्कै हुने थियो ।
हामीले यहाँ एउटा दृष्टान्त मात्र प्रस्तुत गरेका हौं । राजधानीमा जारी प्रधानमन्त्री कपमा ३ विभागीय र ७ प्रदेश टिम सहभागी छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टिमहरु बलिया छन् । उनीहरुले विभिन्न सेवा सुविधा राखेर राष्ट्रिय खेलाडीहरुलाई हायर गरेका छन् । प्रदेशका टिमहरुको अवस्था अर्कै छ । ती टिमहरुमा प्राय सिकारु वा उदीयमान खेलाडीहरु मात्रै छन् । जब, विभागीय-विभागीय टिमबीच प्रतिस्पर्धा हुन्छ, त्यसले अलिकति रोमाञ्चकता पैदा गर्छ । तर विभागीय र प्रदेशबीचको प्रतिस्पर्धा प्राय एकतर्फी र खल्लो हुन्छ ।
मूलपानी र त्रिवि क्रिकेट मैदानमा सम्पन्न समूह चरणका खेलहरूबाट अन्तिम चार टोलीको छनोट भइसकेको छ । यी चारमध्ये तीनवटा विभागीय टिम छन् । प्रदेश टिमका लागि एउटा सिट खाली थियो, जसमा बाग्मती प्रदेशले स्थान बनायो । बाग्मती एक मात्रै प्रदेश टिम हो, जसमा राष्ट्रिय खेलाडीको बलियो उपस्थिति छ । नेपालका पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटा जस्ता हस्तीहरु बाग्मतीबाट खेलिरहेका छन् ।
लिग चरणको गणित
प्रधानमन्त्री कपको लागि समूह विभाजन हुँदै लगभग तय थियो, कुन-कुन टिम सेमिफाइनलमा जान्छन् भन्ने । समूह ‘ए’ मा सशस्त्र प्रहरी र त्रिभुवन आर्मीका साथमा प्रदेश १, प्रदेश ३ र गण्डकी थिए । पूर्वानुमान मुताबिक सशस्त्र र आर्मीले सेमिफाइनलमा स्थान बनाएका छन् । शरद भेषवाकरको कप्तानीमा रहेको सशस्त्र अपराजित रह्यो ।
यो समूहभित्र लिग चरणको प्रतिस्पर्धामा दुई विभागीय टिमले तीन प्रदेश टिमलाई कुनै मौका दिएनन् । विभागीय र प्रदेश टिमबीचका सबै खेल एकतर्फी भए ।
समूह ‘बी’ साविक विजेता नेपाल पुलिस क्लवसहित बाग्मती, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश २ समावेश थिए । र, सजिलै आकलन गर्न सकिन्थ्यो पुलिस र बाग्मतीले अन्तिम चारमा स्थान बनाउने छन् । लुम्बिनी प्रदेशले बाग्मतीसँग राेमान्चक बराबरी खेल्नुबाहेक यी दुई टिमलाई अन्य टिमले कठिन चुनौती दिन सकेनन् ।
यसरी बाग्मती प्रदेशबाहेक विभागीय टोलीसामु अन्य टोलीको केही जोर नचलेको देखिन्छ । राष्ट्रिय स्तरका खेलाडीहरुसँग भिड्न पाउँदा प्रदेश टिमका नयाँ खेलाडीहरुलाई पक्कै फाइदा भयो, तर कठिन प्रतिस्पर्धाको अभावमा राष्ट्रिय खेलाडीहरुले आफूलाई निखार्ने अवसर कम पाए । प्रदेश टिमविरुद्ध जति राम्रो खेले पनि उनीहरुले त्यसमा गौरव गर्न सकेनन् ।
नेपाली क्रिकेट ब्याटिङमा कमजोर छ । यो प्रतियोगितामा पनि अहिलेसम्म दुईवटा मात्रै शतक बनेका छन् । विनोद भण्डारी र सुनिल धमलाले हानेका दुवै शतक प्रदेश टिमविरुद्ध थिए । यसैगरी, पवन सर्राफले बनाएको कीर्तिमानी अर्धशतक पनि प्रदेश टिमविरुद्ध नै थियो ।
घरेलु क्रिकेटको त्रुटिपूर्ण ढाँचा
नेपाल अब क्रिकेटको सिकारु राष्ट्र होइन । एकदिवसीय क्रिकेटको मान्यताप्राप्त देश हो । तर, पनि नेपालको घरेलु क्रिकेटको अवस्था भने दयनीय छ ।
नेपाली खेलाडीहरुले घरेलु एकदिवसीय क्रिकेट खेल्ने अवसर निकै कम पाउँछन् । जम्माजम्मी दुईवटा राष्ट्रिय स्तरका प्रतियोगिता छन् । प्रधानमन्त्री कपबाहेक अर्को एकदिवसीय प्रतियोगिता भनेको मनमोहन मेमोरियल हो । यी दुवै प्रतियोगिताको ढाँचा उस्तै छन् । विभागीय र प्रदेश टिमबीच खेलाइने प्रतियोगिताले राष्ट्रिय खेलाडीहरुलाई निखार्न सकेको छैन ।
एकातर्फ अन्तर्राष्ट्रिय खेलको अनुभव प्राप्त तथा सेना-प्रहरीबाट विभिन्न सेवा सुविधा पाएका खेलाडीहरुले भरिएका बलिया विभागीय टिम । अर्कोतर्फ क्रिकेट सिक्दै गरेका र म्याच फीसमेत नपाउने खेलाडीहरुको प्रदेश टिम । उनीहरुको स्तरमा ठूलो अन्तराल हुन्छ । त्यसैले एकदिवसीय प्रतियोगिताको भिडन्त पनि बाघ र बाख्राको जस्तो भइदिन्छ ।
यसपालि मात्रै होइन, यसअघिका तीनवटै प्रधानमन्त्री कपमा विभागीय टिमको दवदवा रहँदै आएको छ । विभागीय बाहेकका टिमले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न मात्र होइन, फाइनलमा पुग्न समेत सकेका छैनन् । यसले पनि राष्ट्रिय प्रतियोगिताको ढाँचामा पुनरावलोकनको आवश्यकता महसूस हुन्छ ।
जब कुनै प्रतियोगितामा सहभागी टिमहरुको स्तरमा धेरै अन्तराल हुन्छ, त्यसले समग्र प्रतियोगिताकै स्तर खस्किन पुग्छ । नेपालमा टि–२० क्रिकेटमा फ्रेन्चाइज प्रतियाेगिताहरु केही वर्षदेखि भइरहेका छन् । ती प्रतियोगितामा सहभागी टिमहरुको स्तरमा धेरै भिन्नता नहुने भएकाले प्रतियोगिता पनि रोमाञ्चक हुन्छ । तर, एकदिवसीय खेल्ने बलिया क्लवहरु छैनन् । त्यसैले राम्रा क्रिकेटहरु विभागीय टिममा आवद्ध हुनुको विकल्प हुँदैन ।
विभागीय टिमले खेलाडीहरुलाई मासिक तलव दिने गर्छन् । नियमित अभ्यासको लागि पनि विभागीय टिममा सहज वातावरण हुन्छ । केही समयअघि सम्म पारस खड्का, ज्ञानेन्द्र मल्लहरु पनि विभागीय टिममै थिए । अहिले उनीहरु बाग्मतीमा आएकाले टिम बलियो भएको छ ।
क्यान भन्छः भविष्यमा पुनर्विचार हुन सक्छ
नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल प्रधानमन्त्री कपमा भएका प्रतिस्पर्धाहरु एकतर्फी हुँदै आएको स्वीकार्छन् । यसलाई कसरी प्रतिस्पर्धात्मक बनाउन सकिन्छ भन्ने कुरामा भविष्यमा पुनर्विचार हुनसक्ने उनको भनाइ छ ।
‘अहिले हामीसँग भएको ढाँचा यही हो । भविष्यमा यसलाई कसरी अझ प्रतिस्पर्धात्मक बनाउने भन्नेमा छलफल गर्न सकिएला । विभागीय टोलीले निश्चित संख्यामा मात्रै राष्ट्रिय खेलाडी खेलाउन पाउने जस्ता मापदण्ड ल्याउन पनि सकिन्छ,’ उनले नेपाल प्रेससँग भने ।
प्रदेशको तयारी नै अपर्याप्तः महबुब आलम
अहिले प्रदेश २ बाट खेल्ने कीर्तिमानी भेट्रान क्रिकेटर महबुब आलम प्रदेशका टिमहरुले प्रतियोगिताका लागि पर्याप्त तयारी नै गर्न नपाउने बताउँछन् ।
उनी भन्छन्, ‘हामी जम्मा ५–७ दिनको तयारी गरेर खेल्न आउँछौं । विभागीय टिमहरु नियमित अभ्यास गरिरहेका हुन्छन् । त्यसैले स्तर फरक हुनु स्वाभाविक हो । हामीलाई पनि त्यही स्तरको सुविधा र अभ्यासको वातावरण भए यही फर्म्याटमा पनि कडा प्रतिस्पर्धा हुन सक्छ ।’
विभागीय टोलीले क्रिकेट बाहेक अन्य कुरा नै सोच्नु पर्दैन, क्रिकेट मात्रै खेल्ने उनीहरूको कार्य हो । र, त्यो वातावरण विभागले मिलाइदिएको छ ।