प्रचण्ड-माधव समूहले बुटवलमा जनप्रदर्शन गर्दै, शीर्ष नेताले सम्वोधन गर्ने
रुपन्देही । नेकपाको प्रचण्ड–नेपाल समूहले आज बुटवलमा शक्ति प्रदर्शनसहित विरोध सभाको तयारी गरेको छ । पार्टीको केन्द्रीय विरोध कार्यक्रमअन्तर्गत आज लुम्बिनी प्रदेशस्तरीय विरोधसभामा सो समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
विरोधसभा अघि शक्ति प्रदर्शन गर्ने तयारी भइरहेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने विरोध सभालाई ब्यवस्थित गर्न बुटवलका बिभिन्न स्थानबाट प्रदर्शन हुने र प्रदर्शनको अगुवाई गर्ने नेताहरु समेत पार्टीले तोकेको लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले बताए ।
पश्चिम कपिलवस्तु, अर्घाखाँची र दाङसम्म, पूर्व नवलपरासी, उत्तर गुल्मी, पाल्पा तथा रुपन्देहीका दक्षिणी सबै पालिकाबाट आफ्नो समर्थकहरु उतार्ने तयारी गरेको छ ।
संयोजक गैरेका अनुसार पाल्पा, गुल्मीबाट सहभागी हुने कार्यकर्ता समर्थकहरुको जुलुस बुटवलको गोलपार्कबाट सुरु हुनेछ ।
गोलपार्कबाट हुने प्रदर्शनको अगुवाई केन्द्रीय सदस्य ठाकुर गैरे, बामदेव क्षेत्री, बसन्त घर्ती र पुरुषेत्तम घिमिरेले गर्नेभएका छन् ।
अर्को प्रदर्शन परासी, देवदह, ओमसतिया, रोहिणी, तिलोत्तमा र भैरहवाबाट आउने समर्थकहरु बुटवल राजमार्ग चौराहाबाट निस्केने छन् । राजमार्ग चौराहाको जुलुसको नेतृत्व पार्टी स्थायी समिति सदस्य घनश्याम भुसाल, घनश्याम यादव र नारायण जीसीले गर्नेछन् ।
बुटवल पश्चिम कपिलवस्तु, अर्घाखाँची, दाङ र पश्चिम रुपन्देहीको प्रदर्शन जितगढी किल्लाबाट सुरु हुने छ । पश्चिम क्षेत्रको कमाण्ड स्थायी समिति सदस्य बलदेव खनाल, ओनसरी घर्ती र राजु गुरुङले गर्ने गैरेले बताए ।
प्रदर्शनमा तोकिएको नारा मात्र लगाउन कार्यकर्ताहरुलाई निर्देशन दिइएको प्रचार प्रमुख सिद्धिचरण भट्टराईले जानकारी दिए
अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाक्लो हुस्सु लागेका कारण भैरहवा विमानस्थलमा विमान आउन नसक्ने अवस्था भए हेलिकोप्टरबाट ल्याउने तयारी गरिएको भट्टराईले बताए ।