दुई मूर्धन्य व्यक्तित्व हुलाक टिकटमा, नामअघि डा. लेखिंदा कौतुहल
![](https://www.nepalpress.com/wp-content/uploads/2021/01/tiket_madhav-satyamohan-3.jpg)
काठमाडौं । मन्त्रिपरिषद्को गत माघ ८ गते बसेको बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गर्यो । दुई आदरणीय व्यक्तित्वहरुलाई राज्यले दिएको सम्मानलाई सबैले सराहना गरे । तर, हुलाक टिकटको तस्वीर सार्वजनिक भएपछि भने विभिन्न टीका-टिप्पणी भएका छन् ।
टिकटमा घिमिरे र जोशी दुवैको नामअगाडि ‘डा.’ लेखिएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको हो । ‘डा.’ को अर्थ डाक्टर हो, जो दुईथरी मानिसहरुले प्रयोग गर्छन् । एउटा चिकित्साशास्त्र पढेका र अर्को कुनै विषयमा विद्यावारिधि गरेका । घिमिरे र जोशी दुवै याे श्रेणीमा पर्दैनन् । यद्यपि, उनीहरू दुवै मानार्थ विद्यावारिधि प्राप्त हुन् ।
किन लेखियो डा. ?
मन्त्रिपरिषदले दुई व्यक्तित्वहरुको सम्मानार्थ उनीहरूको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णय गर्यो । मन्त्रिपरिषदको निर्णयमा उनीहरुको नाम मात्रै उल्लेख छ । मानार्थ विद्यावारिधि प्राप्त गर्नेले नामअघि डा. प्रयोग गर्ने प्रचलन सामान्यतया छैन । त्यसोभए हुलाक टिकटमा कसरी डा. थपियो त ?
यस विषयमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्मासँग जिज्ञासा राख्दा उनले अनभिज्ञता दर्शाए ।
नेपाल प्रेससँग कुरा गर्दै उनले भने, ‘मन्त्रिपरिषद्को निर्णय मैले हेरिसकेको छैन, यसमा थप केही बोल्न मिल्दैन ।’
हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता विनोदप्रसाद उपाध्याय पनि यसबारे आफूलाई जानकारी नभएको बताउँछन् ।
उच्च स्रोतका अनुसार दुई व्यक्तित्वहरुकै इच्छामुताबिक नामअघि डा. राखिएको हो । टिकट प्रकाशनको प्रयोजनार्थ दुवैतर्फबाट पठाइएको बायोडाटामा नामअघि डा. उल्लेख गरिएको स्रोतको भनाइ छ । माधव घिमिरे जीवित छँदै उनको बायोडाटा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा प्राप्त भएको थियो ।
उनीहरु दुवैजनाले मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेको आधारमा कतिपय संघ-संस्थाले सम्मानपूर्वक नामअघि डा. लेख्ने गर्थे । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा गरेको योगदान कदरस्वरूप जोशीलाई काठमाडौँ विश्वविद्यालयले विद्यावारिधि मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो । नेपाली साहित्यमा अविच्छिन्न योगदान पुर्याएका राष्ट्रकवि घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले नै २०७२ सालमा मानार्थ विद्यावारिधिको उपाधि दिएको हो । घिमिरेलाई सरकारले २०७४ माघ २६ गते नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।
‘जोशीले हुलाक टिकटमा नामअघि डा. लेख्दा राम्रो हुने मौखिक सुझावसमेत दिनुभएको थियो,’ स्रोतले भन्यो ।
सामाजिक सञ्जालको चर्चा
टिकटमा दुवै व्यक्तित्वको नामअगाडि डा. लेखिएको कतिपयलाई चित्त बुझेको छैन । सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
आम सञ्चारका प्राध्यापक भानुभक्त आचार्यले फेसबुकमा ‘मानार्थ पिएचडी र ‘पीएचडी’ फरक हुन् भन्दै आलोचनात्मक टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘मानार्थ पिएचडीलाई नामको अगाडि डा. लेख्ने कुरा उहाँहरूमाथिको मजाक हो । लेख्नै परेमा ‘मानार्थ विद्यावारिधि (फलानो विश्वविद्यालय)’ लेख्नुपर्छ ।’
मानार्थ पद सम्बन्धित विश्वविद्यालयका हकमा मात्रै लागू हुने उनको भनाइ थियो । उनले उदाहरण दिंदै लेखेका छन्, ‘नेपाली सेनाले भारतीय सेनाप्रमुखलाई मानार्थ सेनापतिको सम्मान दिने चलन छ । यसको अर्थ ऊनै नेपालको सेनाप्रमुख भन्ने होइन ।’
वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पनि हुलाकले सार्वजनिक गरेको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘उहाँहरू आफैंमा पूर्ण हुनुहहुन्छ । उहाँहरूको नाम अगाडि डा. नथपेको भए अझ बढी यथार्थ र इज्जतिलो हुन्थ्यो । जे भए पनि सरकारले गरेको यो काम प्रशंसायोग्य छ ।’
काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बालचन्द्र लुइँटेल यसरी मानार्थ विद्यावारिधिमा डा. लेख्ने चलन नभएको बताउँछन् । हुलाक टिकटमा मानार्थ विद्यावारिधिलाई डा. लेखिनु अनौठो भएको उनको भनाइ छ ।
‘यसबारे कानून त छैन । नामको अगाडि डा. किन दिएको होला जस्ताे मलाई लाग्यो । हुलाक टिकटमा माधव घिमिरे भन्दा जति मीठो हुन्छ डा. थप्दा मीठो सुनिन्न । बाहिर पनि त्यस्तो लेख्ने चलन छैन’, उनी भन्छन् ।