‘छोरा गोलीले ढल्यो, खत हाम्रो छातीमा बस्यो’ – Nepal Press
‘छोरा गोलीले ढल्यो, खत हाम्रो छातीमा बस्यो’
शहीद परिवारको वेदना
समर्पण श्री २०७७ माघ १६ गते १४:००
२०७७ माघ १६ गते १४:००

पनौती । पनौती सहरकोे गल्ली छिचोल्दै जाँदा पुगिन्छ– शताब्दी पुरानो घर । सोमबार मध्यान्न हामी पुग्दा घरको आँगनमा आमाछोरा (आशामाया ताम्राकार र गोविन्द ताम्राकार) हाम्रै प्रतीक्षामा थिए ।

‘म सगुनको बुवा, उहाँ हजुरआमा’ गोविन्दले चिनाए । छोटो भलाकुसारीपछि हामी उक्लियौं घरको दोस्रो तल्लामा रहेको साँघुरो कोठामा । कोठा छेवैमा जोडिएको पूजाकोठा देखाउँदै हजुरआमाले भनिन्, ‘सगुन पहिले यहीँ सुत्थ्यो ।’

भित्तामा सगुन ताम्राकारको चम्किलो तस्वीर छ । तस्वीर मालाले सजिएको छ । हजुरआमाले दराजमा थन्किएका पुरानो एल्बम् झिकिन् । र औंलाहरूले सुम्सुुम्याउँदै देखाइन्, ‘उसका फोटाहरू हेर्यो कि भक्कानो छुट्छ ।’

आशामाया एकाएक मलिन देखिइन् । ८० हिँउद खेपेकी हजुरआमाका अनुहार बुढ्यौलीले मुजा परेका छन् । त्यसमाथि आफ्नो रहरलाग्दो नातिलाई अल्पायूमा गुमाउँनु पर्दाको पीडा पनि उनको अनुहारमा पढ्न सकिन्छ ।

१५ वर्षअघिको त्यो कहालीलाग्दो क्षणले आशामायालाई अहिले पनि सताइरहन्छ, झस्काइरहन्छ ।

०००

त्यो दिन दिउँसो १ बजेको थियो । एक जना साथीले गोविन्दको नाम लिँदै बोलाए, ‘गाविन्द जी तल आउनुस् ।’

हतास मुद्रामा देखिएको साथीलाई उनले अतालिँदै सोधे, ‘के भयो र ?’

‘तपाईंको छोरा सगुन आन्दोलनमा गएको थियो । उसलाई गोली लागेछ,’ साथीले एकै श्वासमा भने ।

गोविन्द लत्रक्क गले । उनको ओठ मुख सुकिसकेको थियो । उनी आमालाई गुहार्दै ‘क्वाँ क्वाँ’ रुन थाले । परिवारमा सबै अचेतजस्तै भए । हजुरआमाले शान्त्वना दिँदै भनिन्, ‘पर्ख बाबु नरोऊ । म गएर बुझ्छु ।’

गोविन्दलाई सपना जस्तो लागिरहेको थियो । उनले सगुनको मामालाई फोन गरेर सोधे । गोली लागेको हो भन्ने जवाफ आएपछि उनी निसास्सिए । तर, गोविन्दले विश्वास गर्न सकिरहेका थिएनन् ।

उनले ठानेका थिए, गोली लागे पनि छोरा हस्पिटलमै होला । गोविन्द र हजुरआमा आशामायालाई कलंकी लगियो । त्यहाँ लहरै छोपिएका शवका बाकस थिए । जब गोविन्दले छोराको शव देखे जमिनमा ढले । हजुरआमा मुर्छा परिन् ।

चीर निद्रामा गएका सगुनका छातीमा गोलीले प्वाल परेको थियो । भक्कानिँदै हजुरआमाले भनिन्, ‘मेरो नातिलाई लागेको गोली मलाई देऊ । कस्तो गरी त्यसलाई लागेको, कति छट्पटायो होला । लेऊ म हेर्छु ।’

सगुनको शवलाई बनेपामा ल्याएपछि श्रद्धाञ्जलि सभा बस्यो । ‘शहीद सगुन अमर रहोस्’ भन्ने नाराले सहर गुन्जियो ।

बाल्यकालमा सगुन खेलौनाका सौखिन थिए । एकदिन हजुरआमाले खेलौना बन्दुक किनेर ल्याइदिइन् । बन्दुक पाएपछि सगुन फुरुङ्ग भए । अनि हातका औंलाले प्लास्टिकको ट्रिगर दबाउँदै भन्न थाले– म आर्मी बन्छु ।

आर्मी बनेर गोली चलाउने उनको रहर उमेरसँगै झांगिँदै थियो । नागरिकता लिन काभ्रेको धुलिखेल पुग्दा पनि बुबालाई भनेका थिए– म आर्मी बनेर देशको सेवा गर्छु र तपाईंको पनि ।

देशमा २०६२/०६३ को दोस्रो जनआन्दोलनले बृहत् रुप लिँदै थियो । आन्दोलन चर्किंदै जाँदा सगुन काठमाडौंमा रहेको मामाघरमा थिए । सडकमा लागेका नाराले उनलाई तान्यो । किशोरवयका सगुन थामिन सकेनन् । आन्दोलनमा मिसिन थाले । आन्दोलनमा नजानू भनेर हजुरबाको हप्काइ खाए पनि उनको मन मान्दैन थियो ।

वैशाख ७ गते कलंकीको जनलहरमा उनी सामेल भए । प्रहरी हस्तक्षेप हुँदाहुँदै जुलुस अघि बढ्यो । अचानक भीडमा प्रहरीले अन्धाधुन्द गोली बर्सायो । कोलाहल मच्चियो । त्यति नै बेला एउटा तन्नेरी शरीर सडकमा गल्र्याम्म ढल्यो । त्यो शरीर अरु कसैको नभई उही सगुन ताम्राकारको थियो । सानोमा नक्कली बन्दुकको ट्रिगर दबाउने उनको छातीमा सक्कली ट्रिगर दबियो । १८ वर्षका कलिला सगुन त्यसपछि उठेनन् ।

गत वर्ष छोरा सगुनको सालिक नियाल्दै बुबा गोविन्द ताम्राकार धरधरी रोए । पनौती मल्पीमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथचन्दकै लहरमा सगुनको सालिक उठाइएको थियो । शहीद छोराको कलिलो अनुहार सालिकमा देखेपछि उनी थामिन सकेनन् ।

०००

सगुन सानै छँदा उनको बा गोविन्द र आमा अलग्गिएका थिए । उनी बरोबर मामाघर र घर गर्थे । नागरिकता बनाउने बेला सगुनसँग गोविन्द धुलिखेल आएका थिए । नागरिकता लिएको दिन सगुनले होटलमा खाजा खाएको पैसा आफैंले तिरेका थिए ।

त्यतिबेला उनले बुबा र हजुरआमालाई भनेका थिए– ‘म त नागरिक भइसकें । अब त पैसा मैले नै तिर्न सक्नुपर्छ ।’

छोराको जिम्मेवारीबोध भरिएको जवाफ सुन्दा गोविन्द पुलकित भएका थिए ।

अहिले पनि धुलिखेल जाँदा सगुनकी हजुरआमा राजमार्ग छेवैको त्यो होटल देख्दा मुर्छा पर्छिन् । गोविन्दले खर्च दिन खोज्दा पनि सगुनले लिएनन् ।

बुवासँग सगुन ।

‘बुबा खर्च मसँगै छ । तपाईंलाई चाहिन्छ, राख्नुस्,’ भनेर पन्छाए ।

त्यसरी नागरिकता लिएर काठमाडौं गएको सगुन फेरि फर्किएनन् ।

‘छोरालाई एकपटक गोली लाग्यो । तर मेरो छातीमा खत जीवनभर बसिरह्यो,’ गोविन्द सुँक्सुकाउँदै भन्छन् ।

छोरा गुमाएपछि गोविन्दका दिन बेहोसीमा बिते । उनलाई लागिरह्यो– कतै छोरा बाबा भनेर बोलाउन आइ पो हाल्छ कि !

छोरा गुमाएपछि उनी कहिले भट्टीमा बसेर रक्सी पिउँथे । कहिले गाँजा खाएर झम्म हुन्थे । घरसम्म आउन उनको पाइला सर्दैन थिए । ‘सम्झाएर पनि सम्झन सक्दैन थियो मन । २ वर्ष जीवन अन्धकार भयो,’ गोविन्द सुनाउँछन् ।

छोराको पीडा विर्सन उनी घरबाट टाढा गए, सुर्खेत । तर, अशान्तीले छाडेन । सुर्खेतमा २ वर्ष बसे । त्यसपछि चरिकोट गए । त्यहाँ पनि एक वर्ष होटल लाइनमा काम गरे । काम गरिरहँदा मन एकाएक भारी भएर आउँथ्यो । अनि लाग्थ्यो– छोरा गुमिसक्यो, अब कसको लागि गर्नु !

जहाँ पुगे पनि छोराको यादले आलो घाउलाई चहर्याइरहन्थ्यो ।

‘दोस्रो विहे गरेपछि सगुनको भाइ जन्मियो । सानो छोराको आँखामा सगुनलाई पाएँ । अनि विस्तारै शान्त हुन थालें,’ गोविन्द सुनाउँछन् । पहिलो श्रीमतीबाट उनकी एक छोरी पनि छन् ।

गोविन्द अहिले ६० वर्षका भए । बुढेसकालले उतिसारो काम गर्न सक्दैनन् । जग्गा जमीन छैन । दश नङ्ग्रा खियाएर मजदुरी नगरी चुलोमा आगो बल्दैन । शहीद परिवारलाई राज्यले उपेक्षा गरिरहेको गोविन्दको दुःखेसो छ ।

‘शहीद परिवार त भन्यो । तर हाम्रो दुःखलाई फर्केर सरकारले हेरेन,’ उनी दुःखेसो पोख्छन् ।

सुरुमा सरकारले शहीद परिवारको लागि भनेर १० लाख सरकारले दियो । सगुनको बाले ५ लाख पाए । बासँग छुट्टिएकी सगुनकी आमाले ५ लाख पाइन् । त्यसपछि शहीद परिवारलाई सम्झन शहीद दिवस नै पर्खनुपरेको छ ।

शहीद दिवसमा सगुनका बा र हजुरआमालाई सभाका कार्यक्रममा लगिन्छ र खादा ओढाइन्छ । ३ सय ६५ दिनमा एक दिन एक मिनेट शहीद सगुन लगायतका तमाम शहीदहरूको सम्झनामा मौनधारण गरिन्छ । त्यतिबेला कवि स्वप्निल स्मृतिका ‘एक मिनेट मौनधारण’ कविताको पंति सम्झनामा आउँछः

संसारको सबैभन्दा सरल काम

ज्ञात–अज्ञात शहीदप्रति

एक मिनेट मौनधारण हो

गोविन्द आफैं दश नंग्रा खियाउँछन् । बुढेशकाल लाग्दै जाँदा पनि उनले मजदुरी छाडेका छैनन् । मजदुरी गर्नुमा त उनको गुनासो छैन । तर, एउटा पीडाले उनलाई सधैं गाँजिरहन्छ– नेताहरूले शहीदको रगतमाथि खेलवाड गरे ।’

निरङ्कुश राजतन्त्रविरुद्ध लड्दा दोस्रो जनआन्दोलनमा सगुनसहित २५ जनाले सहादत प्राप्त गरेका थिए । तीमध्येका सगुन उमेरले सबैभन्दा कान्छा हुन् ।

देशमा भइरहेको अशान्तीले झन् पीडा दिएको छ गोविन्दलाई । यतिबेला उनको एउटै कामना छ– अहिलेसम्म जति जनाको सन्तान शहीद भए भए…! अब उप्रान्त कसैको छोरा शहीद हुनु नपरोस् ।’

फाेटाे/भिडियाे: निशान्त सिंह गुरुङ्ग