सुर्खेत बुलबुल ताल, छेवैमा बसेर लाउँला मायाजाल !
सुर्खेत । सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल… यो चर्चित गीत बन्धकी फिल्मको हो । बुलबुलेको धारामा अर्थात् बुलबुले भित्रै छायांकन गरिएको यो गीत चर्चित पनि छ । यति मात्रै होइन, बुलबुलेका नाउँमा अहिले २५ भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् ।
सुर्खेत बुलबुल ताल, माया मै सानी हुनाले छुट्यो मायाजाल बोलको २०३० को दशकमा नयाँ गीत रेडियो नेपालमा रेकर्ड भयो ।
लोक संकलक तथा वाद्यवादक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा तीसको दशकमा रेडियो नेपालमा रेकर्ड भएको थियो यो गीत । सुर्खेतकै स्रष्टा गिरीको शब्द रचनाले यो क्षेत्रको महत्व नै बढाइदियो । सुर्खेत भन्ने वित्तिकै हरेक व्यक्तिको मस्तिष्कमा बुलबुले तालकै झल्को आउने बनायो । त्यही गीतका कारण बुलबुले ताल नेपालमै चर्चित हुन पुगेको स्थानीयको भनाइ छ ।
तर बारम्बारका सरकार परिवर्तन अनि यस क्षेत्रको विकासमा खासै चासो नदिने गरिएको कारण बुलबुलेको अस्तित्व नै नामेट पो हुने हो कि भन्ने चिन्ताले यस क्षेत्रका नागरिकलाई पोलिरहन्थ्यो ।
स्थानीय सरकारसँग पर्याप्त बजेट नहुने, केन्द्र सरकारले यहाँको विकासमा खासै चासो नदिने वा यहाँको मूल नेतृत्वका नजरमा यो तालको संरक्षण तथा संरक्षण गर्ने कुरामा ध्यानै नपुग्ने, जसले गर्दा त्यहाँभित्र जोकोही पनि पुग्ने, घेरबार नहुने, असुरक्षा हुने जस्ता गुनासा जहिल्यै जिल्ला प्रहरीमा आउने गरेको इतिहास साक्षी छ । तर अहिले प्रादेशिक संरचना आइसकेपछि केही मात्रामा परिवर्तन भएको छ बुलबुले ।
बुलबुलेमा पक्की घेराबारा बनाइएको छ । बालबालिकाका लागि खेल्ने बगैंचा बनाइएको छ । धाराहरूको रंगरोगन गर्ने काम भएको छ । बुलबुले भित्रको जमीनमा थरी–थरीका बिरुवा रोपिएको छ । काठमाडौंको चन्द्रागिरिकै जस्तो लभ सायन राखिएको छ ।
पछिल्लो समयमा बुलबुले घुम्न आउनेको लाम लाग्ने गरेको छ । सार्वजनिक विदाको दिनमा अहिले हजारौं आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।
विगतको सानो ताललाई अहिले ठूलो बनाइएको छ । तर गर्नुपर्ने काम अझै धेरै बाँकी छन् । तालमा पानी भरिएको छैन । नभरिंदै ताल फोहोर बन्न शुरू भइसकेको छ । यद्यपि विकास भइरहेको समयमा नै सबै काम सम्पन्न भएन भन्नु हतारो नै होला ।
बुलबुले ताल मनोरञ्जन गर्नका लागि मात्रै होइन, चैत वैशाखको खडेरीमा काकाकुल बनेका राजधानीवासीको प्यास मेटाउँछ । नागरिकको कपडा धुने, नुहाउने स्थल पनि हो– बुलबुले ताल । कर्णाली प्रदेशकै सबैभन्दा बढी विकसित, ख्याति प्राप्त स्थान भएकै कारणले होला राराभन्दा बुलबुले तालको चर्चा देश–विदेशमा बढी छ ।
२०२९ सालभन्दा पहिले तिलपुर, कुन्टी, नयाँगाउँ, पातालगंगा क्षेत्रको सिंचाइका लागि बुलबुले ताल प्रख्यात थियो । २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो । तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै गएको छ ।
साढे ३१ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । बुलबुलेको मुख्य आकर्षण जमीन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क हो ।
तालको पूर्वतर्फ महिलाका लागि पाँच र दक्षिणतर्फ पुरुषका लागि पाँच वटा कलात्मक धारा जडान गरिएका छन् । तिनै धारामा जमीन मुनिबाट बुलबुल गर्दै निस्केको पानी संकलन भएर प्रवाहित हुन्छ ।
बुलबुले उद्यानमा वनभोज खाने स्थल पनि बनाइएका छन् । शनिबार तथा अन्य बिदाका दिन सरकारी कर्मचारी, शिक्षक, विद्यार्थी र अन्य व्यक्तिले वनभोज खाई नाचगान गरेर रमाइलो पनि गर्ने गर्छन् ।
पर्यटकीय स्थल बुलबुले उद्यानको गुरुयोजना तयार भएको छ । उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बुलबुले उद्यानलाई गुरुयोजना अनुसार अगाडि बढाइनेछ । बुलबुलेको गुरुयोजना आर्किटेक्स डिजाइन एशोसिएसन काठमाडौंले तयार पारेको हो ।
गुरुयोजना अनुसार काम भएमा हालको तालको क्षेत्रफल झण्डै दोब्बरले वृद्धि हुनेछ । करीब डेढ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले ताल गुरुयोजना अनुसार काम भएमा साढे ३ बिघा क्षेत्रफलमा फैलिनेछ ।
गुरुयोजनाको पहिलो खण्डमा स्वीमिङ पुल, टिकट घर, पार्किङ क्षेत्र, मन्दिर क्षेत्रलगायत छन् । दोस्रो खण्डमा ¥याफ्टिङ चलाउनका लागि ताल, बुलबुलेका कलात्मक धारा, ठूला कार्यक्रम गर्न मिल्ने पार्क, बालबालिकाका लागि चिल्ड्रेन पार्कलगायत छन् भने तेस्रो खण्डमा पिकनिक स्पटलगायत छन् ।
बुलबुले उद्यानभित्र टिकट घर, स्नान घर, स्वीमिङ पुल, पिकनिक क्षेत्र, डुंगा सवारी, रंगीन बगैंचा, बाल उद्यान, धार्मिक स्थललगायतका संरचना छन् । अहिले नुहाउनका लागि प्रयोग गरिएका ढुङ्गे धारालाई गुरुयोजनामा प्लाजाका रूपमा स्थापना गरिने उल्लेख छ । नुहाउनका लागि गेट नजिकै छुट्टै धारा र घर निर्माण गरिनेछ । अहिलेको वनभोज स्थललाई बाल उद्यानका रूपमा विकास गरिनेछ । उद्यानभित्र साना ठूला गरी ३०० भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने स्थल बनाइएको छ ।
उद्यानभित्र फूल र वनस्पतिका बिरुवाको नर्सरी स्थापना गरिनेछ । टिकट घरलाई उद्यानको शुरूको गेट नजिक ल्याइने छ । सोही ठाउँबाट पिकनिक, स्वीमिङलगायत सुविधाका लागि छुट्टाछुट्टै टिकट लिन सकिनेछ ।
प्रदेश संरचना भइसकेपछि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बुलबुले उद्यानलाई गुरुयोजना अनुसार नै हरेक वर्ष रकम खर्चिंदै गएको छ । पछिल्लो पाँच वर्षको अवधिमा तुलना गर्ने हो भने अहिलेको बुलबुले संरचना निर्माणमा धेरै अगाडि पुगेको छ तर पूर्ण भइसकेको भन्ने अवस्था भने छैन ।
बुलबुलेलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न प्रदेश सरकारले थप लगानी गर्न आवश्यक छ । राजधानी शहरको मुटुमा नै रहेको बुलबुले क्षेत्रको संरक्षण, सम्वद्र्धन गर्ने र बढीभन्दा बढी पर्यटकलाई त्यहाँ ल्याउने वातावरण बनाउन वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार मिलेर जानुको विकल्प छैन ।
यसलाई थप विकास गर्न सकेको खण्डमा बुलबुलेले कर्णालीकै समृद्धिमा टेवा पुर्याउने निश्चित छ ।