‘एउटाले ट्याक्सीमा पेट्रोल छर्कियो, अर्कोले सलाई काेरेर फाल्यो, म झण्डै जिउँदै जलेको !’
काठमाडौं । कुम्भनाराणको बयान जस्ताको तस्तै-
मेरो नाम कुम्भनारायण श्रेष्ठ हो । म थापाथलीमा बस्छु । हिजो राति ११ बजे गाडी थन्क्याएँ । आज बिहान घरबाट गाडी निकालेर हिँडें । थापाथली पुगें । त्यहाँबाट मलाई मैपीको ट्रिप लाग्यो । मैपी गएँ । मैपीबाट फेरि गोंगबु ट्रिप लगें ।
त्यहाँबाट मान्छे झारें । त्यहाँ पनि राम्रै ट्रिप पर्याे । त्यहाँबाट गोंगबु फेरि जान्छु भनेर सोचें । त्यहाँ जाँदा २ जना मान्छेले हात दियो । कालो ज्याकेट लगाएका मोटो थिए । मैले ‘दाइ कता जानुपर्ने’ भनेर सोधें । उनीहरूले चाबहिल जाने भने ।
एकजना मान्छे गाडीमा चढ्यो । मलाई थाहा भएन गाडीमा पेट्रोल हाल्छ भनेर । एक जना गाडीमा चढे । मैले मिटर दबाएँ । मिटर बदाएपछि त्यो मान्छे झरेर अर्को मान्छे चढ्न लागेजस्तो गरेको थियो, सलाई कोरेर गाडीमा हालेर भाग्यो । म बेसरी आतिएँ । सिट बेल्ट खोल्छु भनेर गरेको ढाडमा तातो आइसक्यो, आगो बाहिर दन्केर पछाडि सिट बल्यो ।
बल्ल बल्ल सिट बेल्ट खोलेर भागें । गाडी बलेको दुई मिनेटमा प्रहरीहरू आइपुगे । त्यसपछि हामीले ती मान्छेलाई खोज्यौं, गल्लीहरूमा पनि खोज्यौं । अरुले गाडीमा आगो लाग्ने बित्तिकै बाइक हरायो भने । मलाई लाग्यो, उनीहरूले आगो लगाउने बित्तिकै बाइक लिएर भागे ।
ट्याक्सी आफ्नो पनि होइन । साहुको हो । कमाइ पनि सोचेजस्तो भइरहेको थिएन ।
मलाई त बन्द भन्ने नै थाहा भएन । मैले सुनेको पनि थिइनँ । आज बिहान थापाथली आउँदा मात्र बन्द भन्ने सुनेको थिएँ । त्यो पनि हो होइन थाहा थिएन । अरु गाडीहरू पनि चलिरहेका थिए । बन्द भन्ने कुुरा प्यासिन्जरको मुखबाट मात्र सुनें । जे हुनु भइसक्यो भनेर गाडीका साहुले भनेका छन् । घर धादिङ मेरो । ट्याक्सी चलाएको १५ वर्ष भयो । लकडाउनमा पनि लामो समय घर बस्नुपर्यो ।
त्यो बेलामा धेरै दुःख पाइएको थियो । ऋणहरू छन् । त्यो तिर्न सकिरहेको थिएन ।
मेरो गरिखाने भनेको ट्याक्सी थियो । अब अरुले पनि ट्याक्सी चलाउन दिन्छन् कि दिँदैनन्, थाहा छैन । सोच्दै नसोचेको घटना भयो आज । कमाइ खाने स्थिति पनि देशमा भएन अब ।
लकडाउनले गर्दा छोराछोरीको पढाइ बिग्रियो । ८ कक्षा पढ्दै गरेकी छोरी अहिले कपडा पसलमा काम गर्छिन् । दुःखजिलो गरेर कमाउँ भन्दा पनि देशमा नपाइने भइयो । अब के गर्ने हो ?