म्यानमारमा सू ची नजरबन्द रहँदा असनमा गुरुआमाको प्रार्थना
काठमाडौं । म्यानमारमा सेनाले सत्ता कब्जा गर्दै सोमबार लोकतन्त्रवादी नेतृ आङ सान सू चीलाई नियन्त्रणमा लियो । उनीसहित राष्ट्रपति र दर्जनौं सांसदलाई थुनामा राखिएको छ ।
नेपालसँग विशेष सम्बन्ध रहेकी सू ची पक्राउ परेको खबरसँगै यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । दुई दिनअघि काठमाडौंमा म्यानमारको सैनिक ‘कु’को विरोधमा प्रदर्शनसमेत भएको थियो । त्यसो त सू चीको चिन्ता लिने काठमाडौंमा अरू पनि छन् । कांग्रेस सभापति देउवादेखि उनलाई बौद्ध दर्शन सिकाएकी गुरुआमा धम्मावतीसम्म सू चीको विषयमा चिन्तित छन् ।
असनको बौद्ध गुम्बामा अहिले सू चीको रिहाइका लागि गुरुआमा धम्मावती र उनका भिक्षुणीले प्रार्थना गरिरहेका छन् । सू ची नेपाल आउँदा असनको यो बौद्ध गुम्बा जान्छिन् र गुरुआमाबाट आशीर्वाद लिन्छिन् ।
आफ्नी आमा खिन केइ नेपालको लागि म्यानमारको राजदूत हुँदा सू ची पहिलोपटक नेपाल आएकी थिइन् । सन् १९७३ मा पति माइकल एरिस र छोरा अलेक्जेन्डरसँग आउँदा पनि सू ची असनको विहारमा बसेकी थिइन् ।
‘राजनीतिमा सधैं उतारचढाव हुन्छ । मलाई आशा छ, उनी चाँडै हिरासतमुक्त हुनेछिन्’ धम्मावतीले सू चीको रिहाइका लागि प्रार्थना गर्दै भनेकी छिन् ।
समातेर लगेको भन्ने सुनेपछि विस्मात लागेको उनले बताइन् । बिहारमा आउँदा सू ची सामान्य मान्छे जसरी नै बस्ने गरेको उनको सम्झना छ ।
धम्मावती भन्छिन्, ‘कुनै अभिमान थिएन । अध्ययन संगोष्ठीका बच्चाहरूलाई दिनभरि अंग्रेजी सिकाउँथिन् । धेरै ध्यान गर्थिन् र धेरै किताब पढ्थिन् । त्यही भएर त उनी बीस वर्ष नजरबन्दमा बस्न सकिन् ।’
सन् २०१८ मा नेपाल आउँदा सू चीले आफूलाई जहाज लिएर बर्मा लैजान्छु भनेको स्मरण छ धम्मावतीलाई ।
जीवनको जटिल अवस्थामा सू चीले एक घन्टा गुरुआमासँग आशीर्वाद र प्रेरणा लिने गरेकी छिन् ।
‘सू ची अहिले जीवनकै कठिन अवस्थामा छिन् र पक्कै उनले यतिबेला गुरुआमालाई सम्झिएको हुनुपर्छ’ विहारकी सञ्चालिका रिना तुलाधर भन्छिन्, ‘किनभने यो विहारसँग सू चीको विशेष खालको सम्बन्ध छ ।’
दिल्लीको लेडी श्रीराम कलेजमा पढेकी सू ची भूटानको राजधानी थिम्पु र काठमाडौंमा बसिन् । उनले नेपाल र भूटानबारे दुई पुस्तक पनि लेखेकी छिन् । उनका पति माइकल एरिस तिब्बती बौद्ध धर्मका प्राज्ञ हुन् । काठमाडौंमा छँदा सू चीले उक्त विहारमा बौद्ध दर्शन र अंग्रेजी भाषा सिकेकी थिइन् । त्यतिबेला पूरा काठमाडौंमा अंग्रेजी पढाउने एक शिक्षक उक्त विहारमा थिए ।
विहारमा सबैले सू चीलाई मासु की भनेर चिन्थे । सू चीसँगै उक्त विहारमा अंग्रेजी पढेका त्रिलोचन तुलाधर र चीनकाजी महर्जन पनि अहिले उनलाई सम्झन्छन् । सू ची सानैदेखि अध्ययन र नेतृत्वमा निपुण रहेको उनीहरूको स्मरण छ ।
एशिया प्यासिफिक सम्मेलनका क्रममा सन् २०१६ मा सू चीले उक्त विहारको भ्रमण गरेकी थिइन् । कोरियन युनिफिकेसन चर्चका सन् म्योङ मुनले आयोजना गरेको उक्त सम्मेलन विवादास्पद पनि बन्यो । यही बेलाको विहार भ्रमणमा त्यहाँका पुराना विद्यार्थीसँग सू चीले भेटघाट र बाल्यकाल स्मरण गरिन् ।
यसै साता सू चीलाई नजरबन्दमा राखिएपछि उनकी गुरुआमा धम्मावतीले आफ्नी विद्यार्थीलाई सम्झन थालेकी छिन् । सू ची विहारमा आउँदा उनको छोरा अलेक्जेन्डर तीन वर्षको बच्चा थिए ।
‘पति हिमालतिर बौद्ध शिक्षा सिकाउन जाँदा विहारमा सू ची छोरासँगै बस्ने गर्थिन्’, धम्मावतीको याद ताजै छन् ।
क्युवामा जन्मिएका सू चीका पति एरिसले हिमाली बौद्ध परम्पराबारे दुई पुस्तक लेखेका छन् । सू की घरमै नजरबन्द हुँदा सन् १९९९ मा उनका पतिको अक्सफोर्डमा निधन भइसकेको छ ।
सन् २०१० मा नजरबन्द मुक्त भएकी सू चीको दलले पाँच वर्षपछि म्यानमारमा बहुमत ल्याएर चुनाव जित्यो । लोकतन्त्रको संघर्षमा योगदान दिएबापत उनले नोबेल पुरस्कार पनि जितिन् । तर, रोहिंग्या शरणार्थीलाई सम्बोधन गर्न नसकेको भन्दै उनको आलोचना भयो ।
सेनाले कु गरेर नियन्त्रणमा लिएपछि सू चीको रिहाइ माग गर्दै नेपाल सरकारले पनि वक्तव्य जारी गरेको छ । परराष्ट्र मन्त्रालयले लोकतन्त्र पुनर्बहाली हुनुपर्ने माग गर्दै निःसर्त सू चीको रिहाइ हुनुपर्ने भनेको छ ।