किसान रुवाउँदै भारत, रिहानालाई गाली गर्दै भारतीय – Nepal Press

किसान रुवाउँदै भारत, रिहानालाई गाली गर्दै भारतीय

भारतको संसदले गएको सेप्टेम्बर २०२० मा कृषि सम्बन्धी दुईवटा ऐन पारित गर्‍यो, जसको विरोधमा देशभरका किसानले थालेको आन्दोलन अहिलेसम्म थामिएको छैन । अमेरिकी पप स्टार रिहानादेखि पोर्न स्टार मिया खलिफासम्मले ट्विट गरेपछि भारतीय किसान आन्दोलनप्रति विश्वभरको चासो बढेको छ ।

कृषि उपजको मूल्य निर्धारण, बिक्री तथा भण्डारणसम्बन्धी तीनवटा कानून सरकारले ल्याएको थियो । संसदले कानून पारित गरेलगत्तै किसानको विरोध शुरू भएको हो । उनीहरूले ‘भारत बन्द’ सहित आन्दोलनका अनेक प्रयोग गर्दै आएका छन् । किसान आन्दोलन अहिले राजधानी नयाँदिल्लीमा केन्द्रित छ ।

किसानसम्बन्धी संगठन र तिनका प्रतिनिधिहरूले ऐन फिर्ता लिनेबाहेक अरू कुनै पनि विषयमा सहमति हुन नसक्ने बताएका छन् । किसान नेताहरूले भारतीय सर्वोच्च अदालतले कृषि कानूनलाई लिएर दिएको अन्तरिम आदेश र सर्वोच्चले नियुक्त गरेको कमिटीलाई पनि स्वीकार गरेका छैनन् ।

किसानको विरोधपछि भारत सरकारले गत २१ जनवरीमा १८ महिनाका लागि कानून स्थगन गर्ने प्रस्ताव किसान नेताहरूसामु राखेको थियो । त्यसलाई पनि उनीहरूले मानेनन् । १४ अक्टोबर २०२० देखियता सरकार र किसान नेताहरूबीच वार्ताको लामै शृंखला चलिसकेको छ, तर कुनै समाधान निस्केको छैन । सरकार किसानसँग जति पनि वार्ता गर्न तयार छ, तर माग पूरा गर्न तयार छैन ।

कांग्रेस आईलगायत विपक्षी पार्टीहरूले किसानको आन्दोलनलाई समर्थन गरेका छन् । केही सेलिब्रिटी, खेलाडीहरू विभाजित छन् । बरु अमेरिकालगायतका विदेशी सेलिब्रिटीले यो आन्दोलनमा चासो दिन थालेपछि भारतमा उनीहरू विरुद्ध घृणा फैलाउने अभियान चलिरहेको छ ।

कानूनको विरोध किन ?

भारत सरकारले ल्याएका तीन कृषि सम्बन्धी कानूनमध्ये पहिलोमा किसानले सूचीकृत बजारभन्दा बाहिर आफ्नो उत्पादन बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी बिक्री गर्दा उनीहरूले प्रान्तीय कर बुझाउनुपर्ने छैन । दोस्रो कानूनअनुसार किसानले जग्गा लिजमा लिएर खेती गर्न र आफैंले बेच्न सक्नेछन् । यस्तै, तेस्रो कानूनअनुसार भण्डारणबाहेक अन्न, खाने तेल, दाल, प्याजलगायतको बिक्रीलाई असामान्य परिस्थितिबाहेक खुला गरिएको छ ।

यसबाट किसानहरूलाई धेरै विकल्प प्राप्त हुने र मूल्यमा पनि प्रतिस्पर्धा हुने सरकारको तर्क छ । तर, किसानकै हितका लागि भन्दै ल्याइएको कानूनलाई किन किसानले स्वीकार्न सकेनन् त ? धेरै किसान यी कानूनले अहिले आफूहरूले उपभोग गरिरहेको सुविधासमेत खोसिने विश्वास गर्छन् ।

भारतीय किसानहरूले कृषि उपज व्यापार एवं वाणिज्य कानूनमा उल्लिखित न्यूनतम समर्थन मूल्य हटाउने व्यवस्था खारेजीको माग गरेका छन् । पञ्जाब र हरियाणामा सरकारले न्यूनतम समर्थन मूल्यमा आफ्नो उब्जनी खरिद गर्दा त्यहाँका किसान निकै लाभान्वित छन् । नयाँ कानूनले न्यूनतम समर्थन मूल्य तोक्नु नपर्ने व्यवस्था गरेपछि उनीहरू आक्रोशित बनेका हुन् । सबै प्रकारका बालीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने किसानको माग छ । बाहिर बिक्री गर्नुपर्‍यो भने ठूलो नोक्सानी हुने चिन्तामा छन् उनीहरू ।

अर्को कानूनमा उल्लिखित करार खेतीसम्बन्धी व्यवस्था किसानमैत्री नभएको र निजी व्यापारी पोस्ने किसिमको भएको भन्दै किसानले विरोध जनाएका छन् ।

व्यापारीले ठूलो परिमाणमा खाद्यान्न भण्डारण गर्ने व्यवस्थाले व्यापारीबाट कालोबजारी हुने र आफूहरूले उचित मूल्य नपाउने किसानको भनाइ छ ।

यता भारतका प्रान्तीय सरकारहरूलाई अर्कै चिन्ता छ । उनीहरू यो कानूनले राज्य सरकारको बजार राजस्वमा कमी आउन सक्ने गुनासो गरिरहेका छन् । भारतीय जनता पार्टी बाहेकको सरकार रहेका राज्यले यो कानूनलाई समर्थन गरेका छैनन् ।

भारतका विभिन्न राज्यमा १ देखि ८.५ प्रतिशतसम्म बजार कर लगाउने गरिएको छ । सूचीकृतभन्दा बाहिरका बजारमा प्रान्तीय कर नतिरी बिक्री गर्न पाउने व्यवस्थाले आफूहरूलाई आर्थिक नोक्सानी हुने प्रान्तहरूले गुनासो गरेका छन् । साथै, अन्नभण्डारको विषयमा पनि उनीहरू सशंकित छन् ।

रिहानाको ट्विटले हंगामा

भारतीय किसान आन्दोलनको चर्चा भारतभित्रै सीमित थियो । आन्दोलनको आवाज देशबाहिर नसुनियोस् भनेर सरकारले सकेसम्म कठोरता अपनाउँदै आएको छ । फेसबूक/ट्विटरका सामग्रीलाई समेत भारतले निगरानी गरिरहेको छ र सरकारको खिलाफमा आएका सामग्री हटाउन पनि दबाब दिइरहेको छ । यी सबैका बाबजुद आन्दोलनलाई अन्तर्राष्ट्रियकरण हुनबाट उसले रोक्न सकेन ।

पप गायिका रिहानाले भारतीय किसानको आन्दोलनप्रति सहानुभूति दर्शाउँदै एउटा ट्विट गरेपछि यसले संसारभरका मानिसको ध्यानाकृष्ट भएको हो । रिहानाको ट्विटले भारतमा हंगामा नै मच्चिएको छ । भारतीयहरू उनीविरुद्ध खनिएका छन् । स्वीडिस अभियन्ता ग्रेटा थन्बर्गले पनि यस विषयमा ट्विट गरेपछि उनी पनि भारतीयहरूको निशानामा परेकी छन् ।

रिहानाको ट्विटपछि भारत सरकारले आफ्नो संयम गुमाउँदै कडा प्रतिक्रिया जनायो । हुन त रिहानाले ट्विटमा आफ्नो धारणा प्रस्तुत गरेकी थिइनन् । किसान आन्दोलनको एउटा भिडियो सेयर गर्दै उनले यति मात्र लेखेकी थिइन्, ‘यसबारे हामी किन बोलिरहेका छैनौं !’

रिहानाले यति लेख्नासाथ भारत सरकार उत्तेजित बन्यो । भारतीय विदेश मन्त्रालयले प्रेस रिलिज जारी ग¥यो, जसमा रिहानाको नाम उल्लेख नगरिकन उनको ट्विटलाई सेलिब्रिटी प्रपोगाण्डाको संज्ञा दिइएको थियो ।

विज्ञप्तिमा भनिएको थियो, ‘यस्ता विषयहरूमा टिप्पणी गर्नुअगाडि हामी आग्रह गर्छाैं कि तथ्यहरू पत्ता लगाइयोस् र मुद्दालाई राम्ररी बुझियोस् । प्रख्यात हस्तीहरू सनसनीपूर्ण सोसल मिडिया ह्यासट्याग र टिप्पणीहरूमा लोभिनु न सही हो, न जिम्मेवारीपूर्ण ।’

प्रायः सरकारलाई काँधमा बोकेर हिंड्न बानी परेका भारतीय मिडिया र सेलिब्रिटीहरू पनि त्यसपछि रिहानामाथि खनिन थाले । सरकारका मन्त्रीहरू, खेलाडी, फिल्मी कलाकारदेखि गायक–गायिकासम्मले सरकारको चाकडी गर्दै रिहानाको खिलाफमा ट्विट गरे । यस्ता ट्विटलाई विदेशमन्त्री एस जयशंकरले आनन्दपूर्वक रि–ट्विट गरिरहे । यसले मुद्दा अझै सघन बन्यो ।

सरकारविरोधी र तटस्थ व्यक्तिहरूले चाहिं विदेशी सेलिब्रिटीको ट्विटमा भारत सरकारले अनावश्यक प्रतिक्रिया दिएको भनेर आलोचना गरिरहेका छन् । सरकारले भारतीय सेलिब्रिटीहरूलाई आफ्नो समर्थनमा लेख्न लगाएको आरोप पनि लागेको छ ।

भारतीय राष्ट्रिय कंग्रेसका नेता शशी थरुरले ट्विट गरेका छन्, ‘सरकारको हठ र अलोकतान्त्रिक रवैयाका कारण भारतको छविमा अन्तर्राष्ट्रियस्तरमा ह्रास आएको छ । केही स्थानीय सेलिब्रिटीलाई सरकारको समर्थनमा ट्विट गराएर यसको क्षतिपूर्ति हुँदैन ।’

पूर्व अर्थमन्त्री पी चिदम्बरम्ले विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई ‘बचकना व्यवहार’ को संज्ञा दिएका छन् ।

क्रिकेटर इरफान पठानले लेखेका छन्, ‘अमेरिकामा जर्ज फ्लोइडलाई एक प्रहरीले बर्बरतापूर्वक हत्या गरिएका बेला भारतमा हामी सबैले त्यसको निन्दा गरेका थियौं ।’

किसान आन्दोलनको समर्थनमा ट्विट गर्ने अन्तर्राष्ट्रिय सेलिब्रिटीमा भूतपूर्व पोर्नस्टार मिया खलिफा पनि थपिएकी छन् । उनले भारतमा मानवअधिकार उल्लंघन भइरहेको भन्दै आवाज उठाएकी छन् ।

खलिफा लेख्छिन्, ‘उनीहरूले नयाँदिल्ली वरपर इन्टरनेट पनि काटेका छन् । यो मानवअधिकार उल्लंघन भएन ? म भारतीय किसानहरूको पक्षमा छु ।’
खलिफालाई अहिले भारतीयहरूले नानाथरी ट्रोल गरिरहेका छन् ।

कंगनाको अनर्गल अभिव्यक्ति

रिहानाको आलोचनामा सबैभन्दा चर्को अभिव्यक्ति अपेक्षित रूपमा अभिनेत्री कंगनाले दिइन्, जो पछिल्लो समय आफूलाई अब्बल राष्ट्रवादी देखाउन सबै प्रयास गरिरहेकी छन् ।

कंगनाले एक अन्तर्वार्तामा रिहानाले कम्तीमा पनि एक सय करोड डलर लिएर त्यो ट्विट हालेको दाबी गरिन् । ट्विटरमा त उनले रिहानाविरुद्ध अपशब्द प्रयोग गर्न समेत बाँकी राखिनन् । रिहानाको करिअरदेखि लिएर उनको योग्यता र अनुहारमाथि समेत टिप्पणी गर्न भ्याइन् कंगनाले ।

एउटा ट्विटमा कंगनाले लेखेकी छन्, ‘उनी सुनिधी चौहाना वा नेहा कक्करजस्तै गायिका हुन् । उनी गाउने नाममा क्यामरा अगाडि आफ्नो नितम्ब हल्लाउन र आफ्नो (गोप्य अंगको नाम लेख्दै) देखाउन मात्र आउँछ ।’

अर्काे एउटा ट्विटमा कंगनाले रिहानालाई पोर्नस्टारको संज्ञा दिएकी छन् । उनले ग्रेटाको पनि उछित्तो काढिन् । कंगनाको हर्कत यतिसम्म बढ्दै गयो कि उनका दुईवटा ट्विटलाई ट्विटरले नै आचारसंहिता विपरीत भनेर हटाइदियो । जसमध्ये एउटा ट्विट उनले भारतीय क्रिकेटर रोहित शर्मामाथि गरेकी थिइन् ।

शर्माले ट्विटरमा लेखेका थिए, ‘भारतीय किसानले राष्ट्रको उन्नतिमा योगदान दिएका छन् र यो समस्या समाधानको लागि सबै एकजुट हुनुपर्ने आवश्यकता छ ।’
यो ट्विटलाई लिएर कंगनाले रोहितलाई ‘धोवीको कुकुर’ संज्ञा दिएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘किन सबै क्रिकेटरहरू अहिले ‘धोवीको कुकुर घरको न घाटको’ जस्तो अवस्थामा देखिएका हुन् ? सरकारले ल्याएको कानून किसानको पक्षमा छ । यसको विरोध गर्नेहरू आतंककारीका मतियार हुन् ।’

कंगनाले बलिउड अभिनेत्री तापसी पन्नुलाई गाली गर्दै लेखेको ट्विट पनि ट्विटरले हटाइदिएको छ ।

कंगनालाई इङ्गित गर्दै तापसीले लेखेकी थिइन्, ‘यदि एउटा ट्विटले तिमीहरूको एकता भत्काउँछ भने, एउटा जोकले तिमीहरूको आस्था डगमगाउँछ भने, एउटा नाटकले तिमीहरूको धार्मिक विश्वास धर्मराउँछ भने तिमीले नै आफ्नो मूल्य–मान्यतालाई सच्याउनुपर्छ, र अरूका लागि प्रपोगाण्डा टिचर बन्नुहुँदैन ।’
त्यसमा कडा प्रतिक्रिया दिंदै कंगनाले तापसीलाई ‘बी ग्रेड नायिका’ को संज्ञा दिइन् ।

कंगनाले लेखेकी थिइन्, ‘बी ग्रेडका मानिसहरूको बी ग्रेडको सोच । यो देशका बोझहरू । त्यसैले म तिमीहरूलाई ‘बी गे्रड’ भन्ने गर्छु ।’

दमनकारी मोदी, अन्तर्राष्ट्रिय समुदाय मौन

केही सेलिब्रिटीहरूले मुख खोले पनि भारतमा जारी किसान आन्दोलनलाई लिएर अन्तर्राष्ट्रिय समुदाय मौनप्रायः छ । कुनै पनि देशका आधिकारिक निकायले यसमा औपचारिक प्रतिक्रिया दिएका छैनन् । सबैले यसलाई भारतको आन्तरिक मामला मानेको पाइन्छ ।

भारतीय सरकार किसानको माग पूरा गर्ने भन्दा पनि आन्दोलन दबाउनेतर्फ उद्यत छ । दुनियाँलाई देखाउनका लागि वार्तामा बसे पनि उसले किसानको मागलाई अहिलेसम्म सकारात्मक रूपमा नलिएको विश्लेषक बताउँछन् । बरु आन्दोलनकारीमाथि धरपकड बढाइरहेको छ । आन्दोलनको पक्षमा कलम चलाउने पत्रकारसमेत पक्राउ परेका छन् । प्रदर्शन भएका स्थानमा सरकारले इन्टरनेटसमेत काटिदिने गरेको छ ।

त्यसो त कुनै पनि किसिमको आन्दोलनमा भारत सरकारको यस्तै रवैया हुने गर्छ । केही समयअघि नयाँ नागरिकता नीतिको विरोधमा भएको आन्दोलनदेखि जम्मु कश्मिरमा भएको प्रदर्शनसम्ममा भारतीय प्रहरीको आततायी रूप देखिएको थियो । हुँदा–हुँदा किसान आन्दोलनलाई पनि बलपूर्वक दमन गर्ने नीति भारत सरकारले लिएको छ ।

यस्तै हर्कतले गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रियस्तरमा अनुदार छवि बनाइरहेका छन् । संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भनेर छाती पिट्ने भारत लोकतान्त्रिक अधिकारहरूको संकुचनतर्फ वेगपूर्वक दौडिरहेको छ । खासगरी धार्मिक र जातीय अल्पसंख्यकहरू भारतमा दोस्रो दर्जाका नागरिकसरह बाँचिरहेका छन् ।

(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर