जुट खेती संकटमा, बन्द भए ६ उद्योग – Nepal Press

जुट खेती संकटमा, बन्द भए ६ उद्योग

विराटनगर । तीन दशक अगाडिसम्म सुनसरी, मोरङ र झापा जिल्ला जुट (पट्वा) खेतीका लागि अब्बल क्षेत्र मानिन्थ्यो । यी जिल्लामा उत्पादित जुट भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो । तर यसबीचमा यहाँका किसानहरु अन्य नगदे बालीमा आकर्षित भएपछि नेपालमा जुट उत्पादन संकटमा परेको छ ।

वर्षेनी यी क्षेत्रमा जुटको उत्पादन घट्दै गएपछि कच्चा पदार्थ भारतलगायतका अन्य देशबाट आयात गर्नुपर्ने अवस्था आएको छ । झापा गौरीगंजका चक्र अधिकारीले सात वर्ष अघिसम्म पाँच बिघामा जुट खेती गर्द आएका थिए । उनले जुट लगाउँदा लगानी भन्दा कम आम्दानी भएपछि हाल धान खेती गर्दै आएका छन् ।

धान उत्पादक कृषक भनेर चिनिने अधिकारीले भने, ‘आम्दानीभन्दा लगानी बढी छ, जुट खेती गरेर फाइदा हुँदैन के गर्नु ?’

उनीमात्र होइन मोरङको सुनवर्षीका राजु महतोले पाँच वर्ष अघिसम्म ३ बिघा जग्गामा जुट खेती गर्थे, तर जुटबाट फाइदा नभएपछि उनले पनि धान खेती नै गर्न थालेका छन् । जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव हुने, खर्चिलो हुने र कम आम्दानी हुने समस्याका कारण मोरङ, सुनसरी र झापा जिल्लाका किसानहरुले विकल्प रोज्न थालेका छन् । जुट खेतीका लागि उर्बर भूमि भनेर चिनिएका जिल्लाबाट जुट खेती क्रमशः हराउँदै गएको छ ।

मोरङ, सुनसरी र झापा जिल्लामा कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुने गर्दथ्यो । अहिले जम्मा ४ हजार हेक्टरमा मात्र जुट खेती हुन्छ । मोरङ जिल्लामा ४३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टर जग्गामा जुट खेती हुने गरेको छ । छरेको १२० देखि १५० दिनसम्ममा पाटा काट्ने बेला हुन्छ । सामान्यतया बोरा, डोरी, झोला, गलैंचा र पर्दा बनाउनका लागि सनपाटको प्रयोग गरिन्छ , बजारमा अहिले पनि यसको माग उच्च छ ।

प्रदेश १ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले मोरङ, सुनसरी र झापा जिल्लामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको बताए । जुट खेतीबाट किसानहरु पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका करिब १ लाखको संख्यामा रहेका पोखरी पनि मासिदै गएका छन् । जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्नका लागि ती पोखरी निर्माण गरिएको थियो ।

जुट खेतीका लागि तयार परिएका पोखरी मासिएपछि भुमिगत पानी रिचार्ज हुने प्रकृया र जलचर जीवहरु पनि मासिएको उप्रतीले बताए । किसानहरुले खाडी (घोल)लाई पोखरीको रुपमा प्रयोग गर्ने गरेका छन् भने कतिपयले खाडी मासेर धान खेती गर्दै आएका छन् ।

अहिले मोरङ, सुनसरी र झापा जिल्लाका दक्षिणी क्षेत्र हुलाकी राजमार्गको आसपासका किसानले मात्र थोरै क्षेत्रफलमा जुट खेती गर्ने गरेका छन् । पछिल्लो समयमा किसानले चाड पर्व मनाउने खर्च जोहो गर्नका लागि मात्र थोरै जग्गामा जुट खेती गरेका छन् ।

मोरङ, सुनसरी र झापा जिल्लामा ०४३/४४ सालबाट जुट खेती सुरु गरिएको सरकारी तथ्यांक छ । विगतका वर्षमा मोरङ, सुनसरी र झापामा उत्पादन भएका जुट भारतका साथै बंगलादेशमा समेत निर्यात गरिन्थ्यो, तर अहिले ठीक उल्टो छ । अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।

कच्चा पदार्थमा भारतसँग निर्भर

मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती भएपछि जुटमा आधारित ११ वटा उद्योगहरु स्थापना भएका थिए । तर ती मध्ये अहिले कच्चा पदार्थ अभावमा ६ वटा बन्द भएका छन् । सञ्चालनमा रहेका अन्य उद्योग पनि संकटग्रस्त छन् ।

जुट उद्योगहरु बन्द भएपछि धेरैको रोजगारी र लगानी मात्रै डुबेको छैन अर्थतन्त्रमा पनि नकारात्मक असर परेको छ ।

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरु बन्द हुनुको मुख्य कारण कच्चा पदार्थ अभाव नै रहेको बताए । नेपाली उत्पादनले नपुगेपछि भारत र बंगलादेशबाट जुटको कच्चा पदार्थ आयात हुँदै आएको छ ।

‘जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै छ, त्यसको प्रत्यक्ष मार मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योगमा परेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘अहिले सबै उद्योगले आवश्यक कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याइरहेका छन् ।’

जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन गर्दा र उत्पादित बस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्दा मात्र पनि देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिने मोरङ व्यापार संघका अध्यक्ष एवं जुट उद्योगी प्रकाश मुन्दडाको भनाइ छ । उनका अनुसार अहिले पनि सुनसरी–मोरङका जुट उद्योगहरुमा १२ हजार मजदुर कार्यरत छन् । कुनै समय यो संख्या ३० हजार थियो ।

वार्षिक डेढ अर्ब रुपैयाँ विदेशिँदै

वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटबाट उत्पादन भएको वस्तु प्रयोगमा अनिवार्यता नहुँदा नेपालमा यसको खपतसमेत कम छ । जसका कारण भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उत्पादन गरेको जुटका सामाग्री ती उद्योगले आफ्नो उत्पादनको ९५ प्रतिशत भारत निकासी गर्दै आएका छन् ।

आवश्यक कच्चा पदार्थमध्ये ६५ प्रतिशत भारत र बंगलादेशबाट आयात हुन्छ । जसका कारण वार्षिक १ अर्ब ५० करोड रुपैयाँ बिदेशिने गरेको उद्योगीहरु बताउँछन् ।

अरिहन्त मल्टी फाइबर्सका प्रवन्ध निर्देशक गोबिन्द बजगाईंले आफ्नो उद्योगका लागि मात्र वार्षिक डेढ सय करोडको कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्ने गरेको बताए ।

जुट उद्योग संघका मोहनचन्द्र घिमिरेका अनुसार विराटनगरमा हाल सञ्चालनमा रहेका पाँचवटा जुट उद्योगले वार्षिक ६५ हजार मेट्रिक टन खपत गर्ने गरेका छन् । त्यसमध्ये वार्षिक ४५ हजार मेट्रिक टन भारत र बंगलादेशबाट कच्चा जुट आयात हुने गरेको छ ।

नेपालको जम्मा १८ हजार मेट्रिक टन कच्चा जुट उद्योगले प्रयोग गर्दछन् । जबकि विराटनगरमा ११ वटा जुट उद्योग सञ्चालनमा रहँदा वार्षिक १ लाख मेट्रिक टन जुट खपत हुने गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा मात्र रानी भन्सार कार्यालय र मेची भन्सार कार्यालयबाट ६१ करोड २९ हजार ६ सय ३६ रुपैयाँको ५२ हजार २ सय १६ मेट्रिक टन कच्चा जुट आयात भएको छ । जसमा रानी भन्सारबाट १८ हजार ३ सय ९७ मेट्रिक टन र मेचीबाट ३३ हजार ८ सय १९ मेट्रिक टन कच्चा जुट आयात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर