प्रधानमन्त्री पत्नी भन्छिन्- हाम्रो व्यक्तिगत जीवन छैन, घरको मूली मै हुँ (भिडियो)
काठमाडौं । भनिन्छ -हरेक व्यक्तिको सफलतामा एक महिलाको हात हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गर्ने हो भने उनलाई आजको स्थानमा पुग्न सबैभन्दा ठूलो टेवा प्राप्त भएको छ, श्रीमती राधिका शाक्यबाट ।
ओली आफ्नो व्यक्तिगत जीवनमा लापरवाह रहेको उनी निकटस्थ बताउने गर्छन् । न समयको ख्याल राख्छन्, न स्वास्थ्यको । राधिकाले नै उनको सबै हेरविचार गर्दै आएकी छन् । आफू लो–प्रोफाइलमा बसेर उनले ओलीको राजनीतिलाई परोक्षरुपमा सघाउँदै आएकी छिन् ।
घुन्सा फाउन्डेसनले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा उपस्थित भएकी राधिका छोटो अन्तरक्रियामा आफूहरुको दाम्पत्य जीवनका विषयमा थोरै खुलिन् । ओलीका राजनीतिक व्यस्ततालाई औंल्याउँदै उनले खासगरी २०४७ सालको परिवर्तनयता श्रीमान्–श्रीमती १०-१५ मिनेट सँगै बसेर भलाकुसारी गर्ने अवसर पनि नपाएको बताइन् ।
‘हाम्रो पर्सनल लाइफ भन्ने छैन’ उनले भनिन्, ‘तर पनि म सन्तुष्ट र खुसी छु । मैले सकेसम्म उहाँलाई अझ अगाडि बढ्न, देशको सेवा गर्न सकेको सहयोग निरन्तर रुपमा दिइराखेकी छु र दिइरहनेछु ।’
प्रधानमन्त्री पत्नीका थप भनाइ जस्ताको तस्तैः
वर्तमान प्रधानमन्त्रीज्यूसँग मैले आजको यो अवस्था प्राप्त होला भन्ने आश गरेर बिहे गरेको होइन । २०४४ सालको फागुनमा हामीले बिहे गरेका हौं । उहाँ भर्खर १४ वर्षको यातनापूर्ण जेल जीवन विताएर असारमा छुट्नुभएको थियो । फेरि समातेर लगेर मार्ने हो कि भन्ने परिस्थिति थियो । आजका नानीबाबुलाई दन्त्यकथाजस्तो लाग्न सक्छ । तर यो वास्तविकता हो ।
उहाँ तीन वर्षको हुँदा आमा वित्नुभएको रहेछ । सानै उमेरदेखि मातृवात्सल्य प्रेमबाट वञ्चित भएको कुरा मैले सुनेकी थिएँ । जेलभित्रको यातना र त्यहाँभित्रको अन्य अवस्थाले गर्दा उहाँ शारीरिकरूपमा असाध्यै कमजोर अवस्थामा हुनुहुन्थ्यो । त्यतिबेला सम्पत्तिको लागि बिहे गरेको भनौं भने केही पनि थिएन उहाँको । एउटा यस्तो दुःख पाएको, आमा गुमाएको, धन–सम्पत्ति नभएको व्यक्ति, यत्रो जेलजीवन बिताएर बाँचेर आएको नेता । मैले अरु केही गर्न नसके पनि एउटा श्रीमतीको माया दिन सक्छु, अरु केही नसके पनि भन्ने थियो ।
उहाँलाई हरतरहले सहयोग गर्न सक्छु भन्ने एउटा ठूलो आँट, विश्वास लिएर, ठूलो चुनौतीलाई स्वीकार गरेर उहाँसँग बिहे गरेको हुनाले आज उहाँले मलाई समय दिन नसके पनि मैले गुनासो गरेको छैन । मैले उहाँसँग बिहे गरेको ३३ वर्ष भइसकेको छ । आज प्रधानमन्त्री भएर मात्रै उहाँ बिजी भएको होइन । हिजो भूमिगतकालमा चाहिं आजको तुलनामा अलिकति समय थियो । यसो कुराकानी गर्ने समय हुन्थ्यो । तर २०४७ सालमा बहुदलीय व्यवस्था आइसकेपछि आजसम्मको कुरा गर्ने हो भने हामी श्रीमान्–श्रीमती बसेर दश–पन्ध्र मिनेट पनि पारिवारिक कुरा गरेका छौं जस्तो मलाई लाग्दैन ।
मैले पनि जति कुरा थाहा पाउँछु, बाहिरबाटै हो । मिडियाबाटै थाहा पाउने हो । सधैं व्यस्त भएकै देखिन्छ । आजको मान्छेहरुलाई यो जवाफ सुन्दा अचम्म लाग्छ होला । हामीले व्यक्तिगत घुमफिर, कुराकानी गर्ने अवसर कहिल्यै पाएनौं । कामकै सिलसिलामा उहाँसँग नेपालका धेरै जिल्ला गएकी छु । विदेश पनि केही–केही ठाउँमा गएकी छु । जान त हामी सँगै गइन्छ, तर उहाँको व्यस्तता जहाँ गए पनि यही हो । नेपालमा मात्र होइन विदेशमा जाँदा पनि यही हो । तसर्थ पर्सनल लाइफ भन्ने चाहिं छैन । तर त्यति हुँदाहुँदै पनि म सन्तुष्ट र खुसी छु । मैले सकेसम्म उहाँलाई अझ अगाडि बढ्न, देशको सेवा गर्नमा आफूले सकेको सहयोग निरन्तर रुपमा दिइराखेकी छु र दिइरहनेछु ।
उहाँको स्वभाव साना–साना केटाकेटीले अझ बढी मन पराउँछन् । उहाँ सबैसँग मिल्नुहुन्छ । भर्खरका बच्चादेखि बुढाबुढीसम्म उहाँको समान व्यवहार हुन्छ । हामीले घरमा रिसाएर ठुस्स परेर आजसम्म बसेको अनुभव गर्न पाएको छैन ।
(उहाँसँग) प्रत्यक्ष भेट भएपछि मान्छे परिवर्तन हुन्छ । श्रीमतीको नाताले घरको मूली मै हुँ । ठूलो स्वरले अथवा गाली गर्ने ढंगले प्रस्तुत भएको आजसम्म मैले पाएकी छैन । मलाई लाग्छ त्यस्तो हुँदैन । उहाँ विरामी भएर अस्पतालको बेडमा रहँदा पनि त्यहाँ आउने नर्स, डाक्टर र अन्य साथीभाइहरु सबैलाई हाँसीहाँसी सबैसँग मिठै ढंगले कुराकानी गर्नुहुन्छ ।
सामाजिक सन्जाल त म हेर्दिनँ, भाषणहरु सुन्ने गर्छु । उहाँको विशेषता भनौं, कुनै पनि कुरालाई उहाँले सहज रुपमा लिनुहुन्छ । कुनै पनि प्रश्नको जवाफ मिठो तरिकाले दिनुहुन्छ । यसैलाई कसैले ठट्यौली भन्छन्, कसैले उखान–टुक्का भन्छन् । उहाँमा त्यो खालको विशेषता छ । घरमा उहाँलाई भेट्न आउने मान्छेहरु पाँच–सात घण्टा कुरेर पनि भेट्नुहुन्छ । त्यत्रो समय कुर्नुपर्दा रिस पनि उठ्दो हो । तर जब प्रत्यक्ष भेट हुन्छ, त्यो कुरेको क्षणहरु बिर्सनुहुन्छ र खुसीका साथ फर्किनुहुन्छ । अहिले त हामी प्रधानमन्त्री निवासमा बसेको हुनाले उहाँसँगै धेरै प्रहरी बाबुहरुको सम्बन्ध छ, सबैसँग उहाँ मीठो वचनले कुरा गर्नुहुन्छ बोल्नुहुन्छ ।
बालक़ोट को घर कसरी बनेछ, सम्पति केहि नभको रे त बिहा हूदा !!
मिठो बोली र सवैसगको शिष्ट व्यवहार नै मानिसका पहिचान हुन! प्रधानमत्रीज्यूको जीवनीबाट म प्रभावित बने किन कि देशको अत्यन्त व्यस्थ ठाउमा हुदा पनि जे जस्ता समय आइपरेपनि त्यस्लाइ सहज समाधान गर्ने उपायको खोजि गर्न लागिपर्नु।