जातीय छुवाछुत तथा भेदभाव गर्ने ३ जना फरार अभियुक्त ३ वर्षपछि पक्राउ


काठमाडाै । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार अभियुक्त ३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका वडा नम्बर ६ बाट उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ३७ वर्षका रामचन्द्र श्रेष्ठ, २५ वर्षका नविन श्रेष्ठ र ३० वर्षका दिपक श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सूचना अधिकारी समेत रहेका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका ३ जनाले पाँचखाल नगरपालिका ६ स्थित यात्रु प्रतिक्षालयमा ३ वर्ष अघि २०७४ माघ १ गते पीडितलाई दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेका थिए ।
त्यसपछि उक्त घटना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले छुवाछूत तथा भेदभाव (कसूर र सजाय) (पहिलो संशोधन) ऐन, २०७५ अनुसार डेढ वर्ष अघि २०७६ असार १६ गते जनही ४ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
उनीहरूलाई जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि जिल्ला कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।