मुस्ताङी किसानको गुनासो: स्याउ फुल्न लाग्यो ! ख्वै औषधि, ख्वै अनुदान ?
पोखरा । मुस्ताङ थासाङ २, सौंरुका सोजन हिराचनलाई यतिबेला स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । मुस्ताङमै रहेर स्याउ, आलु, फापर लगायत उत्पादन गर्दै आएका उनलाई यसपालि भने अघिल्ला वर्षमाझैं उत्साह छैन ।
मुस्ताङी स्याउ, आलु, ओखर पोखरालगायत ठाउँमा निर्यात गरेर लाखौं आम्दानी गर्ने हिराचनको व्यापार यसपालि नसोचेको ओरालो लाग्यो । समयमा हिमपात नभएको र सलह किराले विरुवाको पात सखाप पारेकाले पनि व्यापार ठप्प हुन गएको उनी बताउँछन् ।
‘मुस्ताङको आलु, फापर, ओखरले बजारमा राम्रो मूल्य पाउँछ । अरुबेला यसबाटै राम्रो गुजारा गर्न सकिन्थ्यो,’ हिराचन सुनाउँछन्, ‘तर, यसपालि कोरोनाले बजार नपाएकोबेला सलह किरा आएर भएका अलिअलि पात पनि जम्मै खाइदियो ।’ ओखर र स्याउ राम्रो उत्पादनै नभएपनि आलुले भने राम्रो बजार मूल्य पाएकाले केही राहत मिलेको उनले उनाए ।
ओखर, फापरबाट व्यापार गर्न नपाएका हिराचन स्याउबाट लगानी उठाउन चाहन्थे । तर, त्यो सपना पनि सपनामै सीमित हुने हो कि भन्नेमा चिन्तित छन् । स्याउ लगायत अन्नबालीका लागि आवश्यक पर्ने कृषि सामाग्री, औषधीको अभाव हुँदा उनी चिन्तित बनेका हुन् । उनीहरुले समयमा हिमपात र कृषि सामाग्री नपाउँदा उत्पादन ८० प्रतिसत घट्ने अनुमान गरेका छन् ।
हिराचनजस्तै मुस्ताङका अधिकांश कृषकले तोकिएको कृषिउपज सामाग्री नपाउँदा चिन्तित बनेका छन् । माघ अन्तिमसम्म उपलब्ध भइसक्नुपर्ने कृषिजन्य सामाग्री तथा विषादी नपाउँदा उनीहरु अन्यौलको स्थितिमा छन् ।
‘योबेला भनेको बारीमा गएर भटाभट स्याउ बारी तयार पार्ने, लगाउने बेला हो । तर, यहीबेला कृषकले पाउनुपर्ने अनुदान र सहयोग नपाउँदा मर्कामा छौं,’ मुस्ताङक घरपजोङ ५, ठिनीका महेन्द्र थकाली गुनासो गर्छन्, ‘बिऊ, मल, विषादी, औजारहरु केही पनि पाउन सकेका छैनौं ।’
कात्तिक, मंसिर महिनामा मुस्ताङी कृषकले बोटबाट सबै पात टिपिसक्छन् । बोटबाट झरेको पात, पतिंगर झरीसकेपछि माघ, फागुनमा बगैंचा व्यवस्थापनको काम सुरु हुने कृषक सोजन हिराचन सुनाउँछन् ।
‘यहीबेला स्याउको बोटलाई मलजल गर्ने, काटछाँट गर्ने र सम्भावित रोगबाट बच्न विषादी छर्ने काम गर्छौं,’ उनले भने, ‘समयमै ती सबै स्रोत र साधन उपलब्ध नभएपछि त स्याउ फुल्न थालिहाल्छ । अनुदान र औषधि पाएकै छैनौं ।’ उनले स्याउ फुलिसकेपछि औषधि हालेर पनि काम नहुने बताए ।
मुस्ताङका किसानलाई उत्पादन बढाउनका स्थानीय तह, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आवश्यक सामाग्री उपलब्ध गराउँदै आएका छन् । तर, उनीहरुले समयमै विषादी, प्रांगारिक मल लगायत आवश्यक सामाग्री उपलब्ध गराउन नसकेको भन्दै किसान चिन्तित बनेका हुन् ।
हाम्रो जिम्मेवारी पूरा गरिसक्यौंः स्याउजोन
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउजोन) जोमसोमले भने आफूहरुले स्याउको बजारीकरणमात्रै हेर्ने र सोही अनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेको दाबी गरेको छ । किसानले दिएको आवदेनका आधारमा सबैलाई अनुदान दिइसकेको परियोजनाका मुस्ताङ प्रमुख डा सुधीर थापाले बताउँछन् ।
‘असोज कात्तिकमै हामीले सूचना निकाल्छौं । सोही सूचनाका आधारमा आवेदन आएकाको निरीक्षण गरेरमात्रै हामीले अनुदान दिने हो,’ थापाले नेपाल प्रेससँग भने, ‘यो संघीय सरकारबाट चलेको हुनाले सीमित बजेटमा काम चलाउनु पर्ने हुन्छ । त्यही अनुसार नै सबैलाई न्याय दिने गरी अनुदान वितरण गरिसकेका छौं ।’
बजारमा निलोतुथो अभाव छः कृषि ज्ञान केन्द्र
ज्ञान केन्द्र मुस्ताङले बजारमा निलो तुथोको अभावले किसानले पर्याप्तमात्रामा कृषिजन्य विषादी पाउन नसकेको जानकारी दिएको छ । स्याउ उत्पादनका लागि आवश्यक पर्ने बोर्डेक्स पेस्टर मिक्सर नामक औषधिको अभाव रहेको केन्द्रले जनाएको छ ।
‘स्याउ बगैंचा काँटछाँटपछि बोर्डेक्स पेस्टर मिक्सर औषधि प्रयोग गर्नुपर्ने हुन्छ । जुनचाहिँ चुन र निलोतथो मिसाएपछिमात्रै बन्छ,’ कृषि ज्ञान केन्द्र मुस्ताङ प्रमुख प्रकाश बास्ताकोटी भन्छन्, ‘त्यसलाई आवश्यक पर्ने निलोतुथोको बजारमा अभाव भएको देखियो ।’
बस्ताकोटीले निलोतुथो कोरोन महामारीपछि चिनबाट आउन नसकेकाले बजारमा अभाव हुन गएको बताए । ‘अहिले भारतबाट निलोतुथो ल्याएर पनि काम गर्ने कोशिस गरिरहेका छौं । माग अनुसार सप्लाई नभएकाले पूरा होइन आंशिक अभावमात्रै भएको देखियो,’ उनले भने ।
मुस्ताङमा कृषि ज्ञान केन्द्र स्थापना भएको डेढ महिनामात्रै भएको छ । यसअघि त्यहाँका किसानले म्याग्दी ज्ञान केन्द्रबाट सेवा लिँदै आएका थिए । मुस्ताङमा ज्ञान केन्द्रको शाखा हालैमात्र खुलेकाले पनि किसानको आवश्यकताबारे बुझ्न कठिनाइ भइरहको तर्क बस्ताकोटीको छ ।
टेन्डरले अल्झायो: घरपझोङ गाउँपालिका
घरपझोङ गाउँपालिकाले किसानलाई कृषिजन्य उपकरण सहुलियतमा अनुदान दिन टेन्डर आह्वान गरेको तर, टेन्डर नपर्दा ढिलाइ हुन पुगेको स्वीकारेको छ । गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले पहिलो टेन्डरमा कसैले नभरेपछि दोस्रो पटक सूचना जारी गरिएको जानकारी दिइन् ।
‘ठूलोमात्रामा सामान ल्याउनुपर्ने हुन्छ । पहिलो पटक गरेको टेन्डर नपरेको होइन, कानुनसम्मत नआएका हुन्,’ गुरुङले नेपालप्रेससँग भनिन्, ‘अहिले पुनः टेन्डर आह्वान गरेका छौं । एउटै कामका लागि पटक पटक टेन्डर आह्वान गर्दा अल्झिएका हौं ।’
अघिल्लो वर्ष भारी हिमपातका कारण ढिलाइ भएको र किसानको गुनासो बढेपछि स्थानीय जनप्रतिनिधि आफैंले कृषिजन्य सामाग्री खरिद गरेको गुरुङले जानकारी दिइन् । उनले भनिन्, ‘तर, त्यसरी गर्दा पनि विधिवत् नहुने रहेछ । उल्टै सबै समस्यामा पर्ने देखियो ।’ उनले प्रक्रियाअनुसार काम भए एक महिनाभित्र कृषकलाई कृषिजन्य सामाग्री प्रदान गर्ने गरी काम गरिरहेको सुनाइन् ।
तस्वीर सौजन्य: एसके थकाली