समानान्तर विश्वको खोजी
एक दर्जन अन्तरिक्ष यात्री महिलामध्ये को पुग्लिन् चन्द्रमामा ?
काठमाडौं । सन् २०१५ मा काठमाडौंका सिनेमा घरमा रिलिज भएको हलिउड फिल्म ‘द मार्सियन’ले घरेलु बक्स अफिसमा ५० लाख ग्रस कमाएको थियो । म्याट ड्यामन स्टारर फिल्मले मंगल ग्रहमा छुटेको एउटा अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन गरिएको संघर्षको कथा भन्छ ।
हलिउडले रातो ग्रहमाथि ३८ वटा साइन्स-फिक्सन फिल्म बनायो । जुन फिल्मको कथ्य भनेकै मान्छेको मंगल ग्रहमा जीवन र समानान्तर विश्वको खोजीको प्रयत्न थियो । यस्तो लाग्छ, विज्ञानमा आधारित यिनै फिल्मले परिकल्पना गरेको स्वैरकल्पनालाई अहिले नासासहित शक्तिशाली राष्ट्रका अन्तरिक्ष नियोगले पछ्याउँदैछन् ।
हलिउडले लेखेको यही पटकथालाई पछ्याउँदै नासाले अभिनेता टम क्रुजलाई लिएर शून्य गुरुत्वाकर्षणमा फिल्म छायांकन गर्ने तयारी समेत गरेको छ । नासाको यो तयारीमा रकेट कम्पनी स्पेस-एक्सका मालिक इलोन मस्क पनि जोडिन आइपुगेका छन् ।
अन्तरिक्ष पर्यटनमा हातेमालो गर्ने मस्कको चाहनालाई नासाले पनि साथ दिएको छ । मस्क तिनै धनाढ्य हुन् जो मंगल ग्रहमा उपनिवेशको सपना देख्छन् र मानव सभ्यतालाई स्थापित गर्ने महत्वाकाङ्क्षा पनि ।
सन् २०२१ को फेब्रुअरी महिनामा मंगल ग्रहमा ‘ट्राफिक जाम’ भयो । मंगलमा जीवनको खोजी गर्ने र अन्तरिक्ष शक्ति बन्ने होडमा तीन राष्ट्रले प्रक्षेपण गरेका यान एक साताको अन्तरमा मंगलमा प्रवेश गरे । नासा र युरोपेली युनियनको संयुक्त मिसनले प्रक्षेपण गरेको पर्सिभिअरेन्स स्पेसक्राफ्ट शुक्रबार बिहान मंगलको जेजेरो क्रेटरमा अवतरण गर्यो ।
गतसाता रातो ग्रहमा पुगेका चीनको तियानवेन-१ र संयुक्त अरब एमिरेट्सको होप स्पेसक्राफ्ट अहिले कक्षमा रहेर मंगललाई परिक्रमा गरिरहेका छन् । चीनको तियानवेन–१ ले आगामी मे वा जून महिनामा सतहमा अवतरण गर्ने तयारी गरिरहेको छ ।
अहिलेसम्म मंगल ग्रहमा १४ वटा मिसनले अवतरणको प्रयास गरेका छन् तर, आठ प्रयास विफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् । सन् १९९९ र २०२१ मा मात्र अमेरिकी प्रयास सफल भएको छ ।
नासाको मिसन कस्तो छ ?
३.५ विलियन वर्ष अगाडि पानीको ठूलो ताल भएको अनुमान गरिएको क्रेटरमै नासाले यान उतारेको हो । उक्त थलोमा कुनैबेला जीव हुनसक्ने अनुमान वैज्ञानिकले गरेका छन् । सन् १९७० को दशकको भाइकिङ मिसनपछि मंगल ग्रहमा जीवनको सम्भावनाको अध्ययन गर्ने नासाको सबैभन्दा महत्वाकाङ्क्षी परियोजना हो ।
कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरण राखिएको छ । ६ वटा पांग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा तय गर्दै मंगल ग्रह नजिक पुगेको हो । उक्त क्रेटरमा नासाको यानले विगतमा जीवनको अस्तित्व रहेको बारे अध्ययन गर्नेछ ।
रोभरले चट्टानमा प्वाल पार्दै टुक्रा संकलन गर्नेछ । केही समय पछाडि प्रक्षेपण गरिएको अर्को रोभरले उक्त नमूनालाई कक्षमार्फत पृथ्वीमा ल्याउने बताइएको छ । यो प्रयत्नका लागि नासाले युरोपेली स्पेस एजेन्सीसँग सहकार्य गरेको छ । पर्सिभिअरेन्समा राखिएको एन्जेन्युइटी नामक हेलिकोप्टरले मंगलमा उडान समेत भर्नेछ । आगामी ३० दिनमा उक्त हेलिकोप्टरले पाँचवटा उडान भर्ने र मंगल सतहको उच्च गुणस्तरको तस्विर उपलब्ध गराउनेछ । एउटा ग्रहमा बसेर अर्कोमा उडान भर्ने यो पहिलो फ्लाइट हो ।
नासाका अनुसार पर्सिभिअरेन्स मिसनको मुख्य उद्देश्य मंगलको जैविकताको अध्ययन गर्नु हो । उक्त ग्रहको भूगर्भ, विगतको वातावरण र चट्टानको नमूना संकलन गर्दै मानवीय जीवनको सम्भावित अध्ययन गर्नु यसकाे उद्देश्य रहेको नासाले उल्लेख गरेको छ । नासाले सन् २०२० मा पर्सिभिअरेन्सलाई चन्द्रमादेखि मंगलसम्मको मिसनको रुपमा घोषणा गरेको थियो ।
युएईको होप अभियान
संयुक्त अरब इमिरेट्स पनि अन्तरिक्ष महाशक्ति बन्ने होडमा छ । यो खाडी मुलुकले चीनको भन्दा एकदिन अगाडि आफ्नो होप रोभरलाई मंगलको कक्षमा प्रवेश गरायो ।
युएईको यो मिसनले कक्षमा रहेर किन मंगल ग्रहले वातावरण गुमायो भन्ने सबैभन्दा बढी सोधिएका प्रश्नको उत्तर खोजी गर्नेछ । मंगलको वातावरण गुम्दा कसरी पानी र जीवन सतहमा गायब भए भन्ने तथ्यसहितले जलवायु अध्ययन गर्ने जनाइएको छ ।
मंगल विजयसँगै युएई विश्वकै पाँचौं अन्तरिक्ष महाशक्ति बनेको मोहम्मद बिन रसिद सेन्टरले उल्लेख गरेको छ । होप रोभर अहिले मंगलको सतहभन्दा १ हजार किलोमिटर माथि रहेर ग्रहलाई फन्को मारिरहेको छ । यो यानले संकलन गर्ने १ हजार जीबी क्षमताको डेटालाई अध्ययनका लागि २०० भन्दा बढी प्राज्ञिक र वैज्ञानिक संस्थालाई निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।
युएईको यानले चार प्रश्नको खोजी गर्नेछ । ती प्रश्नहरु हुन् : के मंगल ग्रहमा यसअघि जीवन थियो ? मंगल ग्रहको जलवायु इतिहास कस्तो छ ? मंगल ग्रहको वास्तविकता कस्तो थियो र कसरी विकास भयो ? के मानिसका लागि मंगल ग्रह अर्को गन्तव्य हुनसक्छ ?
मंगल ग्रहलाई उपनिवेश गराउनुअघि रातो ग्रह कसरी मान्छेको अस्तित्व अनुकूल थियो भन्ने कुरा बुझ्नुपर्छ । चन्द्रमा र अन्य ग्रहको खोजी छाडेर मंगल ग्रहमा अन्तरिक्षको होड गर्नु पछाडि पृथ्वीसँग उक्त ग्रहको समान वातावरण हुनु प्रमुख हो । होप प्रोभ यानका डेटा संकलनकर्ता म्यारम युसुफका अनुसार मिसनको मुख्य उद्देश्य भनेको मंगल ग्रहको दैनिक वातावरणको तथ्य संकलन गर्नु हो ।
यो अध्ययनले अन्य ग्रहको जलवायु अध्ययनको लागि पनि मद्दत मिल्ने अपेक्षा छ । अक्सिजन, हाइड्रोजनजस्ता ऊर्जाका अणु कसरी वातावरणमा फैलन्छन् र भाग्छन् भन्ने तथ्य पेश गर्नेछ । यसले पृथ्वीको भविष्यबारे पनि बुझ्न मद्दत मिल्न सक्छ ।
गत वर्ष आयोजित एक छलफल सत्रमा नासा र युएईका इन्जिनियरबीच भएको संवाद रोचक छ । नासाका मुख्य वैज्ञानिक जेम्स ग्रीनका अनुसार अहिले पनि मंगलको सतहमुनि जमेका हिमनदी र बरफ छन् ।
‘कुनैबेला मंगल पनि पृथ्वीजस्तै नीलो थियो । हुनसक्छ १३ प्रतिशतले त्यहाँको पानी नष्ट भयो’ ग्रीन भन्छन्, ‘उक्त ग्रह अध्ययन गर्नको लागि यो अचम्मको स्रोत हो ।’ उनका अनुसार समर याममा देखिने घाँस र मेथन ग्याँसको प्रवाहले त्यहाँ जीवन छ भन्ने पुष्टि गर्छ ।
नासाको क्यूरिओसिटी रोभरले यसअघि पनि मंगलमा अक्सिजन छ भन्ने तथ्य अगाडि ल्याइसकेको छ । ‘यसले के पनि प्रमाणित गर्छ भने समर याममा जीवन मंगलको सतह मुनि छ’ ग्रीन भन्छन्, ‘माटो तातेपछि मिथेन ग्याँस बाहिर निस्कन थाल्छ । हामी मंगलमा पनि जैविकता छ भनेर परिस्थितिको गहिरो अवलोकन गरिरहेका छौं ।’
चीनको तियानवेन-१ अभियान
चीनको मंगल यान तियानवेन–१ ले अहिले मंगल ग्रहको कक्षमा फन्को मारिरहेको छ र सतहमा अवतरणका लागि उपकरणलाई जाँच गरिरहेको छ । यसै वर्षको अन्त्यमा यो यानले सतहमा ल्यान्ड गर्ने चिनियाँ स्पेस एजेन्सीले उल्लेख गरेको छ ।
पाँच टन तौलको चिनियाँ यानसँग अर्बिटर, ल्यान्डर र रोभर संलग्न छन् । मे तथा जून महिनामा यसले ल्यान्ड गर्न सक्ने जनाइएको छ । ९२ मार्सियन डेज (पृथ्वीको ९५ दिन) मंगल सतहमा रहेर यसले खनिज, हिउँ र पानीको अध्ययन गर्नेछ ।
नेसनल स्पेस साइन्स सेन्टरका सहायक निर्देशक झोउ योङलायोका अनुसार चिनियाँ यानले मंगलको चुम्बकीय गुण र मंगलदेखि पृथ्वीसम्मको रेडियो कम्युनिकेसन प्रणालीबारे पनि थप अध्ययन गर्नेछ ।
चिनियाँ यानको अर्बिटरमा जडान गरिएको राडारले चाहिं पानी र हिउँको उत्खननसहित अध्ययन गर्ने जनाइएको छ । तियानवेनले मंगलको ध्रुवसहितका केही खास क्षेत्रमा पुगेर पानीको खोजी गर्नेछ । मंगलको सबैभन्दा ठूलो समथर भूमि युटोपिया प्लानिसियामा चिनियाँ रोभरले अवतरण गर्ने भएको छ ।
हरेक मंगल मिसनमा ल्यान्ड हुनुअघिको सात मिनेटलाई सर्वाधिक जटिल मानिन्छ । वैज्ञानिकहरु यसलाई ‘टेरर अफ सेभेन मिनेट’ भन्छन् । नासाको पर्सिभिअरेन्स रोभर अवतरणमा पनि यो एउटा ठूलो डर थियो । यस्तो डर अब चिनियाँ यान तियानवेन–१ तिर सोझिएको छ । मंगलको पातलो वातावरणमा यान अलग हुँदा उच्च तापक्रमको सामना गर्नुपर्ने हुन्छ । मंगलको वातावरणको अनिश्चितताको कारण पनि अवतरण गर्ने क्रममा भयंकर अनिश्चितता र खतरा हुन्छ ।
चिनियाँ यानले ल्यान्ड गर्नुअघि आफ्नो गतिलाई प्रतिसेकेन्ड १ सय मिटरमा सीमित गर्नुपर्ने हुन्छ । यसो गर्दा ८० देखि १०० सेकेन्ड लाग्न सक्छ । मंगलको सतहभन्दा सय मिटर (३२८ फिट)भन्दा माथि यान पुग्दाको स्थितिलाई होभर चरण भनिन्छ ।
यो सबैभन्दा जोखिमपूर्ण क्षण हो । चिनियाँ स्पेस एजेन्सीका अनुसार उसको यानका लागि अवतरण समय भनेको ९ मिनेट हो । जुन क्षणमा ११ हजार मिटर प्रतिघण्टामा उडिरहेको यानले आफूलाई ढिलो तुल्याउनुपर्छ ।
चीनका इन्जिनियर के कुरामा विश्वास गर्छन् भने उनीहरु ‘सात मिनेटको आतङ्क’ भनिने एउटा कुख्यात अवस्थालाई सामना गर्न सक्षम छन् । मंगलको वायुमण्डलबाट त्यसको सतहसम्म पुग्न कुनै पनि अन्तरिक्ष यानलाई लाग्ने समयलाई सात मिनेटको आतंकको रुपमा चिनिन्छ । चिनियाँ वैज्ञानिक यो यान मंगल ग्रहमा कम्तीमा ९० दिन रहोस् भन्ने चाहन्छन् । मंगल ग्रहमा २४ घन्टा ३९ मिनेटको एकदिन हुन्छ । तियानवेन–१ ले मंगलमा खिचेको तस्विर पृथ्वीमा पठाइसकेको छ ।
अब चन्द्रमामा मान्छे पठाइने
नासाले सन् २०२४ मा चन्द्रमामा मान्छे पठाउने योजना सार्वजनिक गरेको छ । यसका लागि २८ अर्ब अमेरिकी डलर खर्च हुने उल्लेख छ । यो मिसन अन्तर्गत चन्द्रमाको सतहमा महिलालाई ओराल्ने योजना समावेश छ । आर्टिमस नाम दिइएको त्यो अन्तरिक्ष कार्यक्रममा पाँच दशकपछि एक महिला र एक पुरुषलाई समावेश गरिंदैछ । अन्तरिक्ष यात्रीहरु ओरिअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्नेछन् ।
एसएलएल नामक शक्तिशाली रकेटले उक्त यानलाई प्रक्षेपण गर्नेछ । नासाका प्रशासक जिम ब्रिडेन्सटिनका अनुसार उक्त २८ अर्ब डलरले आर्टिमस कार्यक्रमको चारवर्षको खर्च समेट्छ । जसमा रकेट, क्याप्सुल, मानव अवतरण प्रणाली र अन्तरिक्ष यात्रीले लगाउने परिधानको खर्च जोडिन्छ । ३.२ अर्ब डलर सन् २०२१ को मानव अवतरण प्रणालीका लागि भएको र यो रकमको ठूलो रणनीतिक महत्व छ ।
नासाका प्रशासक ब्रिडेस्टिनका अनुसार राम्रोसँग अन्तरिक्ष उडानको अनुभव भएकी र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा बसिसकेकी व्यक्तिलाई चन्द्रमामा पठाइनेछ । अन्तर्वार्ता लिइएका १२ महिला मध्येबाट उनलाई छनौट गरिने भएको छ । चन्द्रमामा जाने अन्तरिक्षयात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुईवर्ष अघि हुने बताइएको छ ।
चन्द्रमामा मानिस पठाएर ह्वाइट हाउसले अन्तरिक्षमा आफ्नो देशको अग्रता नवीकरण गर्न चाहेको छ । अमेरिकाले चन्द्रमाको दक्षिणी ध्रुवबाट हिउँ खोज्ने योजना बनाएको छ । त्यो भेटियो भने चन्द्रमामै रकेटलाई चाहिने इन्धनको रुपमा प्रयोग गर्न सकिनेछ ।
चीनले अहिले यस्तो अन्तरिक्ष यान विकास गरिरहेको छ जसमा चिनियाँ अन्तरिक्ष यात्रीहरु चन्द्रमाजस्तो भित्री अन्तरिक्ष गन्तव्यमा पुग्न सक्छन् । चीनको लक्ष्य सन् २०२४ भित्रै त छैन तर, दशकको अन्त्यसम्म उसले त्यस्तो लक्ष्य बनाउन सक्ने ठानिएको छ ।
नासाको योजनाअनुसार पहिलो चरणमा मानवरहित एउटा परीक्षण उडान सन् २०२१ को शरद याममा हुनेछ । आर्टिमस-१ नाम दिइएको उक्त यान चन्द्रमाको फेरो लगाएर फर्किनेछ । आर्टिमस-२ ले भने चन्द्रमाको परिक्रमा गर्ने त्यस्तै उडान तर यात्रुसहित गर्नेछ । यस मिसनमा थपिएको नयाँ सुविधामा रकेटबाट ओरिअन छुट्टिएपछि चन्द्रमामा अवतरण र उडानका लागि यात्रुले अन्तरिक्ष यानलाई आफै नियन्त्रणमा लिन सक्नेछन् । सन् १९६० र ७० को दशकमा अपोलो कार्यक्रमका लागि अहिलेको मुद्रास्फीति सँग समायोजन गर्दा २५० अर्ब डलरभन्दा बढी रकम खर्चिएको थियो ।
भारत दोस्रोपटक चन्द्रमामा पुग्ने प्रयासमा
पहिलो चन्द्रमा मिसन असफल भएपछि इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इस्रो)ले वर्ष २०२१ मा दोस्रोपटक चन्द्रमाका लागि प्रयास गर्दैछ । यसका लागि भारतले चन्द्रयान २ त्यसतर्फ पठाउँदैछ । यसअघि भारतले प्रक्षेपण गरेको विक्रम यान सम्पर्कविहीन भएको थियो । रुसी स्पेस एजेन्सीले लुना २५ यान अक्टोबरमा चन्द्रमामा पठाउँदैछ । यो रुसी यानले चन्द्रमामा प्राकृतिक खनिज पदार्थको खोजी गर्नेछ ।
केही निजी कम्पनीले पनि २०२१मा चन्द्रमामा यान पठाउने तयारी गरेका छन् । जर्मनीको पिटि साइन्टिस्ट, अमेरिकाको स्पेस-एक्स र अर्को अमेरिकन कम्पनी रकेट ल्याब त्यसतर्फ पठाउने तयारी गर्दैछन् । अमेरिकी निजी कम्पनी एस्ट्रोबेटिक टेक्नोलोजीले पनि जुलाइमा सातवटा रोभरसहितको यान चन्द्रमामा पठाउँदैछ ।
यसै वर्षको अन्त्यमा हब्बल टेलिस्कोपभन्दा शक्तिशाली जेम्स वेभ स्पेस टेलिस्कोप अन्तरिक्षमा पठाइँदैछ । वर्षको अन्त्यतिर फे्रन्च गुएनाबाट पठाइने टेलिस्कोपले सन् २०३० देखि काम गर्न थाल्ने अपेक्षा छ । यो टेलिस्कोपले हब्बलाई प्रतिस्थापित गर्ने भनिएको छ ।
६.५ लामो टेलिस्कोपले सौर्य मण्डलका पदार्थ, सौर्य मण्डलको दूरी र ब्रम्हाण्डको विकासमा मानवीय योगदानको अध्ययन गर्नेछ । यो टेलिस्कोप हब्बलजस्तो पृथ्वीको कक्षमा हुने छैन । यो टेलिस्कोपलाई सूर्य र पृथ्वीको कक्षमा राख्ने तयारी भैरहेको छ जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षणले सन्तुलन मिलाउन सक्छ ।
नासाले जुलाइमा ग्रहको प्रतिरक्षा परीक्षण योजना अन्तर्गत क्षुद्रग्रहको दिशालाई परिवर्तन गर्न अभ्यास गर्नेछ । यसले अन्तरिक्षमा क्षुद्रग्रहको दिशा परिवर्तन गर्न र पृथ्वीमा क्षति रोक्न मद्दत गर्नेछ । यसको लक्ष्य चाहिं चन्द्रमाभन्दा ११ मिलियन किलोमिटर पर रहेको ६५८०३ डिडिमस नामक क्षुद्रग्रहलाई रोक्नु हो जसले दिशा परिवर्तन गरेर यात्रा गर्छ । चीनले चिनियाँ अन्तरिक्ष केन्द्र निर्माणको थालनी गर्दैछ ।
फोटो फिचर : मंगल ग्रहमा ३,००० दिन बिताएको रोबोटले के खिच्यो ?
इलोन मस्क : सपनाको उडान, महत्वाकांक्षा र मंगल ग्रह
नासा यानले मंगल ग्रहमा अवतरण गरेलगत्तै महावीर पुनद्वारा ‘मीना’ रोबाेट बनाउने घोषणा
वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्
विश्वका शक्तिशाली मुलुकहरुको ध्यान अब स्पेस प्रतिस्पर्धामा हुनेछ । जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर आइसकेपछि उसको मुख्य चुनौती चीनसँग हुनेछ जसले अमेरिकालाई व्यापार, प्रविधि र अन्तरिक्ष प्रतिस्पर्धामा चुनौती दिइरहेको छ ।
मंगल ग्रह होस् या चन्द्रमा मिसनमा चीनले अमेरिकी नियोग नासालाई चुनौती दिने गरी अन्तरिक्ष कार्यक्रम लन्च गरिरहेको छ । यसको एउटा उदाहरण अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय स्पेस स्टेसनलाई चुनौती दिने गरी चीन आफूले निर्माण गर्न लागेको चिनियाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र हुनेछ । सन् २०२१ अन्तरिक्ष र बाह्य संसारमा प्रतिस्पर्धा गर्ने शक्तिराष्ट्रको एउटा प्रस्थानविन्दु हुने कुरामा दुईमत छैन ।
एजेन्सीहरुको सहयोगमा ।