काठले हानेर बुवाको हत्या गरेको अभियोगमा पक्राउ
कास्की । कास्कीमा आफनै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका -३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
घरको भर्याङबाट लडेर जुम बहादुरको मृत्यु भएको छोराले बताएको थियो ।
तर जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको हो ।
घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ ।
उनलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।