दलहरुबीच समझदारी हुन्छ, राजनीतिक विवादले संसदलाई असर गर्दैन : सभामुख
चितवन- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् ।। आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताए ।
संसद आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । उनले भने, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।” राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।
राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनले बताए । उनले भने, “मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।” संसद् विघटनको समयमा भएका नियुक्तिका विषयमा अदालतमा बहस भइरहेको विषयमा अहिले टीकाटिप्पणी गर्नु उचित नहुने उनले जनाए ।