‘मनमा खट्किन्छ, जानेबेला रवीन्द्रलाई शुभयात्रा भन्न पाइनँ’
स्मृति दिवसमामात्रै एक्लै छु भन्ने थाहा हुन्छ !
पोखरा । रवीन्द्र अधिकारी अब साथमा छैनन् भन्ने सपाट सत्य हो । तर, विद्या भट्टराईलाई त्यस्तो लाग्दैन । श्रीमान् बितेको दुई वर्ष भइसक्दा पनि उनलाई लागिरह्यो – रवीन्द्रजी मैसँग छन् ।
तर, शनिबारको दिन त्यस्तो रहेन । बिहानैबाट उनलाई कमजोरी महसूस भइरह्यो । ताप्लेजुङमा भएको हवाई दुर्घटनामा श्रीमान् गुमाएको दिन हो । जुन दुई वर्ष बितिसकेको छ । उनलाई लाग्यो, ‘सधैं म उहाँसँगै छु भनेर भ्रममा रहें । तर, वास्तवमा अहो ! म त एक्लै पो छु ।’
शनिबार पोखरा १८ ग्यार्जट शहीद स्मारकमा रहेको स्वर्गीय रवीन्द्र अधिकारीको सालिकमा रवीन्द्र स्मृति प्रतिष्ठानले दोस्रो स्मृति दिवसमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको थियो । सोही कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष तथा प्रतिनिधि सभा सांसदसमेत रहेकी विद्या भट्टराई उपस्थित भएकी थिइन् ।
कार्यक्रमपश्चात पत्रकारहरुसँग कुरा गर्दै अरुबेला आफैंलाई भ्रममा राखे पनि स्मृति दिवसका दिन आफूलाई सम्झाउन नसकेको विद्याले बताएकी हुन् ।
उनले भनिन्, ‘उहाँले पहिले बोलेका कुरा सुन्दा पनि साथमै हुनुहुन्छ भन्ने लाग्छ । तर, यस्तो दिनमा रियालिटी यही हो भनेर मान्नुपर्छ । यतिबेला मलाई असाध्यै पीडा हुन्छ ।’
अरुबेला रवीन्द्र घरबाट कुनै काम विशेषले बाहिर निस्किंदा सधैं शुभयात्रा भन्थिन् । तर, दुर्घटना भएको दिन उनले श्रीमान्लाई बिदाइ गर्न पाइनन् । त्यही कुराले उनलाई अहिलेसम्म पिरोल्ने उनी बताउँछिन् ।
विद्या भन्छिन्, ‘अरुबेला सधैं शुभयात्रा भन्थें बिदाइ गर्थें । तर, त्यो दिन शुभयात्रा भन्न पाइनँ, जानेबेला उहाँको अन्तिम अनुहार पनि हेर्न पाइनँ ।
‘रवीन्द्र मेरो मिल्ने साथी ’
त्यो वास्तवमै अकल्पनीय दुर्घटना थियो । त्यो कुरा (दुर्घटना) अहिले पनि मलाई हो भन्ने लाग्दैन । जब स्मृति दिवस आयो तबमात्रै मलाई असाध्यै पीडा महसूस भयो । अरुबेला म भ्रममा बाँचिराखेकी हुन्छु ।
उहाँ मेरो सधैं साथी हो । कहिल्यै पनि श्रीमान सम्झिइनँ । र, अर्को कुरा वस्तुसँग उहाँलाई कहिल्यै तुलना गरिनँ । मानवीय सम्बन्ध त्यसमा पनि रेस्पेक्टफुल सम्बन्ध हामीसँग थियो । मलाई कुनै कुराको अभाव थिएन । उहाँ सधैं मेरो साथीकै रुपमा रहनुभयो ।
उहाँले सधैं अरुलाई प्रेरणा दिनुहुन्थ्यो । उहाँको राम्रो पक्ष भनेको सबैलाई आफैं जिउन सक्नुपर्छ भनेर प्रेरणा दिइरहनुहुन्थ्यो । मलाई पनि जहिल्यै त्यही कुरा भनिरहनुहुन्थ्यो ।
हिजो राजनीतिमा सँगै थियौं । विवाहपछि सल्लाहै गरेर फरकफरक ठाउँमा पर्यौं । उहाँले जहिले पनि आफ्नो पहिचान बनाइराख्नुपर्छ भनिरहनुहुन्थ्यो । त्यो कुरा म एकदमै मिस गर्छु । जब मलाई एकदमै गाह्रो हुन्छ, उहाँबाट एकदमै धेरै प्रेरणा लिन्छु ।
अर्को कुरा भनेको उहाँले मलाई सधैं हरेक कुरामा सिकाउनुहुन्थ्यो । संघर्षसँग कहिल्यै पनि हार मान्नुहुन्न भन्नुहुन्थ्यो । लाञ्छना, आरोप भन्ने कुरा जीवनमा परिरहन्छन् । त्यो कुराले नै मान्छेलाई बलियो बनाउँछ भनेर सिकाउनुहुन्थ्यो ।
अप्ठेरा परिस्थितिमा विचलित हुनुहुँदैन, विचलित भइयो भने जिउन सकिंदैन । मान्छेले म एक्लै पनि बाँच्नु पर्छ भनेर सोच्नुपर्छ भनेर उहाँ भनिरहनुहुन्थ्यो । त्यतिबेला यस्ता कुरा किन गर्या होला भन्ने लाग्थ्यो । तर, उहाँसँग प्रश्नोत्तर त गरिनँ । अहिले मलाई लाग्छ यस्तै हुनका लागि रैछ ।
अहिले पनि उहाँ साथमै हुनुहुन्छ भन्ने लाग्छ । हरेक कुरामा भौतिक शरीर साथमा छैन । तर, हरपल नेतृत्व गरिराख्नुभएको छ भन्ने लाग्छ ।
‘शुभयात्रा भन्न पाइनँ’
उहाँका विभिन्न कार्यक्रमको सेड्युअल थियो । एउटा जर्मन जाने सेड्युअल थियो । जर्मन जाने तयारीका लागि हामी सल्लाह गर्दै थियौं । सुटकेश मिलाउनु पर्यो नि भनेर मैले भन्दा उहाँले भोलि फेरि उता (ताप्लेजुङ) जान्छु । त्यताबाट फर्केपछि सँगै गरौंला नि ! भनेर भन्नुभएको थियो ।
त्यसको केही दिनअघिमात्रै उहाँले आफ्नो होलबडी चेकअप गर्नुुभएको थियो । त्यसमा विशेष गरी मुटु र किड्नीको चेकअप गर्नुभएको थियो । उहाँलाई त्यही कुराले नै पोलिटिसियनलाई बढी समस्या पार्छ भन्ने लाग्थ्यो ।
तर, रिपोर्ट राम्रो आएछ । हार्ट र किड्नी दुवै राम्रो रैछ भनेर उहाँ खुसी हुनुहुन्थ्यो । भोलिपल्ट बिहान (फागुन १५ गते) पनि एकदमै फ्रेस हुनुहुन्थ्यो । बिहानै उठेर आज कस्तो फ्रेस छु नि है ! भन्नुभएको थियो । सेड्युअल अनुसार उता (ताप्लेजुङ) गएर दिउँसो एक बजे फर्किन्छु । मन्त्रालय गएर घर फर्किंदा ३ बज्छ होला भनेर उहाँले भन्नुभएको थियो ।
उहाँले ३ बजे आउँछु भनेपछि म पनि युनिभर्सिटीबाट ३ बजे नै फर्किन्छु भनें । त्यसपछि उहाँले हुन्छ नि सँगै खाजा खाऊँला नि ! भनेर भन्नुभएको थियो । त्यसपछि म माथि उक्लें उहाँ तयारी गर्न थाल्नुभयो ।
स्यानो बाबु (स्वराज अधिकारी) बिहानै स्कुल जानुपर्थ्याे। अरुबेला जहिले पनि बाबा म गएँ है भनेर जान्थ्यो । तर, त्यो दिन नभनी गएछ । आधा बाटोमा पुगेपछि फेरि फर्किएर बाबा उठ्नु भा’छ कि छैन ? मैले हग पनि गरिनँ, किस पनि गरिनँ भनेर सोध्यो । उठिसक्नु भा’छ भनेपछि कोठामा गएर बल्ल उसले हग र किस गरेर गयो ।
पछि म भान्सामा गएँ, उहाँ जानुभयो ।
सधैं उहाँ जानेबेला म घरमा छु भने प्रायः म तल झर्थें र शुभयात्रा भन्थें । तर, त्यो दिन भन्न पाइनँ । पछि तल झरेर हेर्दा उहाँ गइसक्नुभएछ । मलाई त्यो कुराले अहिले पनि त्यो घटना मैले शुभयात्रा नभनेरै हो कि भन्ने मनमा खट्किरहन्छ ।
उहाँ घरबाट निस्केको अन्तिम अनुहार हेर्न पाइनँ ।