मौरीकै जस्तो मिहिनेत, महझैं सफलता – Nepal Press
सफलताको कथा

मौरीकै जस्तो मिहिनेत, महझैं सफलता

काठमाडौं । न धेरै पैसा न त पुर्ख्याैली पेशाको विरासत ! तर, पनि आमा समूहमा गरेको दुई रुपैयाँ बचतले धनमाया थापालाई उद्यमको बाटोमा डोर्यायो ।

हुर्कंदै गरेका बालबच्चाका भविष्यको चिन्ताले उनलाई सताइरहन्थ्यो । यसैबीच एक दिन जिल्ला कृषि कार्यालय झापाले उनी संलग्न आमा समूहका केही महिलालाई मौरीपालन तालिम दियो । धनमाया थापा पनि सहभागी भइन् ।

उद्यमी बन्ने सपना बुन्दै गर्दा उनी के गर्ने ? के नगर्ने ? अन्योलमा थिइन् । अन्योलबीच तालिममा सहभागी भएको धनमायालाई त्यहीं तालिमले उद्यमतिर मोडिदियो ।

लोकल मौरीपालनको तालिम लिएलगत्तै उनले दुई घार मौरी ल्याएर पाल्न शुरू गरिन् । तर, उनले सोचे जस्तो सफलता हासिल गर्न सकिनन् । लोकल मौरीले व्यावसायिक उत्पादन त दिएन नै, उल्टै उडेर गए ।

तै पनि उनले हिम्मत हारिनन् । मौरीपालनलाई नै व्यवसाय बनाउने प्रण गरिन् । र, उनको प्रणलाई साथ दियो– सहारा सहकारीले । झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको सहाराले उनको व्यवसायी बन्ने अठोटलाई सघायो । सहकारीले उनलाई व्यावसायिक मौरीपालनको पाँचदिने तालिम समेत दिलायो ।

त्यही पाँचदिने तालिमले आज उनी अन्य नव मौरी पालक किसानलाई तालिम मात्र होइन, व्यवसायी नै बनाउन सक्ने भएकी छिन् ।

१२ वर्षअघि धनमायाले दुई ओटा गोला (घार) बाट मौरीपालन शुरू गरेकी थिइन् । ३२०० रुपैयाँ तिरेर भाडामा लिएका दुई घारबाट शुरू गरेकी उनीसँग आज २०२ घार मौरी रहेका छन् । जसबाट वार्षिक रूपमा तीन टन मह उत्पादन गर्दै आएकी छन् ।

उनले उत्पादन गरेको मह श्री सतासी महिला मौरी पालन सहकारी संस्थामार्फत बिक्री–वितरण हुने गरेको छ । उनी यस संस्थाकी वर्तमान अध्यक्ष पनि रहेकी छन् ।

यो वर्ष पनि उनले तीन टन मह उत्पादन गर्न सफल भइन् । जसबाट उनले १२ लाख रुपैयाँ खुद मुनाफा गरेकी छन् । अझै ४०/५० घारबाट मह निकाल्न नै बाँकी रहेको पनि उनले बताइन् ।

महबाट भएको आम्दानीले धनमायाले छोरालाई व्यवसायी बनाएकी छन् भने छोरीले पाँच वर्षअघि नै बीएस्सी नर्सिङ सकेकी छन् । उनको मौरी व्यवसायमा आंशिक रूपमा २० जनाले रोजगार पाइरहेका छन् ।

मौरीपालन व्यवसाय फस्टाउँदै गए पनि चरनको समस्या हुने धनमाया बताउँछिन् । ‘मौरी चरनका लागि ठूलो फाँटमा तोरी, फापरको खेती हुनुपर्छ । यसैगरी जंगली मह उत्पादनका लागि जंगलमा पनि फूल–फलेदो हुन आवश्यक छ । जति धेरै मौसम–मौसम अनुसारका फूल फुल्छन् त्यति नै धेरै मौरीले मह उत्पादन गर्ने गर्छन्’, उनी भन्छिन् । यो वर्ष किसानले फापर खेती कम गरेकाले मौरी पालक किसान मारमा परेको पनि बताउँछिन् ।

मौरी चरनका लागि उनले आफ्ना मौरीका घारलाई टाढा–टाढासम्म लैजाने गरेकी छन् । मौरीका लागि उपयुक्त चरन मोरङ, चितवन, दाङलगायतका ठाउँ हुन् । तोरीको मह उत्पादनका लागि मौरीलाई मोरङ र चितवन लगिन्छ ।

फापरको मह उत्पादनका लागि दाङ उपयुक्त ठाउँ भएको उनको भनाइ छ । यसरी चरनमा लैजाँदा आफू पनि त्यहाँ कोठा भाडामा लिएर बस्नुपर्ने उनी बताउँछिन् । तर सधैं आफू त्यहीं हुनुपर्छ भन्ने चाहिं नभएको उनको भनाइ छ । उनका अनुसार मौरी चरनका लागि लगिएको ठाउँमा समय–समयमा आफू गइरहने र अन्य समयका लागि कामदारको जिम्मा लगाउने गरेकी छन् ।

मौरीको स्याहारमा दिन–रात खट्दा उनी मौरीको आनीबानीसँग पनि परिचित बनिसकेकी छन् । चरनमा लैजाँदा रातको समय पारेर लैजानुपर्ने उनी बताउँछिन् । ‘रातको समयमा मौरी घारभित्र बस्ने भएकाले राति नै ट्रकमा हालेर चरन क्षेत्रसम्म पुर्याउँछौं’ उनी भन्छिन्, ‘सूर्योदय हुनासाथ चरन क्षेत्रमा छोड्छौं ।’

चरनका लागि नयाँ ठाउँमा लैजाँदा मौरीलाई पनि त्यस ठाउँमा घुलमिल हुन केही समय लाग्ने उनको भनाइ छ । ‘जति शान्त ठाउँ र फूलै फूलमा मौरी बस्न पाउँछन् त्यति नै धेरै मह पनि घारमा भित्र्याउँछन् । मौरीलाई मन पर्ने नै शान्त ठाउँ हो’, उनी भन्छिन् ।

अहिले उनी दिनरात मौरी र महकै वरिपरि हुन्छिन् । श्री सतासी महिला मौरीपालन सहकारी उनको नेतृत्वमा अगाडि बढिरहेको छ । यो सहकारीले मौरी पालन गर्न चाहनेलाई सबै सहयोग गर्दै आएको छ । सहकारीले यो वर्ष मात्र १६ टन मह उत्पादन गरेर बिक्री–वितरण गरिसकेको छ ।

मौरीपालन गरेर जीवन निर्वाह गर्छु भन्नेलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मौरीपालन जो–कोहीले गर्न सक्ने व्यवसाय हो । सानो लगानीबाट शुरू गरेर आफैं मौरी बढाउँदै लैजान सकिन्छ । यो व्यवसाय राम्ररी गर्ने हो भने यसबाट राम्रो फाइदा लिन सकिन्छ ।’ ‘महको बजार पनि राम्रो छ । कहाँ लगेर मह बेच्ने होला भन्नु पर्दैन । बजारमा महको माग अनुसारको आपूर्ति छैन’, उनी थप्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *