हुलाकी राजमार्ग विस्तारले गति लियो, मोरङका बजार क्षेत्रमा ६ लेनको सडक – Nepal Press
विकास निर्माण

हुलाकी राजमार्ग विस्तारले गति लियो, मोरङका बजार क्षेत्रमा ६ लेनको सडक

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङ सडक खण्ड विस्तारको कामले गति लिएको छ ।

मोरङअन्तर्गत रतुवामाईदेखि विराटनगरसम्मको कुल ४३ किलोमिटर सडक ३ अर्ब ३३ करोडमा ठेक्का लागेर यही वर्षदेखि विस्तारको काम शुरू भएको हो । दुईलेनको सडकलाई विस्तार गरी चार लेन र बजार क्षेत्रमा ६ लेनको हुनेछ ।
सडक विस्तारका लागि पहिलो चरणमा भरोट भर्ने, नाला, फुटपाथसँगै कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

हुलाकी राजमार्ग योजना निर्देशनालय इटहरीका अनुसार सडक विस्तारका लागि अघिल्लो आर्थिक वर्षको कात्तिकमा चार प्याकेटमा ठेक्का लागेको थियो ।

ठेक्का लागेको तीन वर्षभित्र सक्ने गरी सडक विस्तारमा बजार क्षेत्रका ६ लेन अर्थात् साढे २८ मिटर र अन्य क्षेत्रमा ४ लेन अर्थात् १२ मिटर चौडाको सडक हुनेछ ।

योजना कार्यालयका इञ्जिनियर शिवराम देव यसअघि सो सडक दुई लनेको मात्र रहेको र जसलाई विस्तार गरी चार लेन र ६ लेनको बनाउने काम अघि बढेको बताउँछन् ।

इञ्जिनियर देवले झापासँग सिमाना जोडिएको रतुवा खोलादेखि झागींटोल १६.५ किलोमिटर, झागींटोलदेखि पिठारीगाछीसम्म ७.६ किलोमिटर, पिठारीगाछीदेखि नयाँबजार सडक १२ किलोमिटर र नयाँ बजार विराटनगरसम्म ७ किलोमिटर ठेक्का लागेको सडक तीन वर्षभित्र सम्पन्न हुने पनि जानकारी दिए ।

इञ्जिनियर देवका अनुसार सडक विस्तारका लागि पहिलो चरणमा ९५ वटा कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरी सडक कालोपत्रे गर्नका लागि भरोट हाल्ने काम पूरा भएको छ ।

इञ्जिनियर देवले हुलाकी सडकअन्तर्गत पर्ने रंगेली, नयाँबजार, कर्सिया, कटहरी बजार क्षेत्रमा नाला फुटपाथसहित ६ लेनको सडक निर्माण गरिने बताए ।

रंगेलीमा चौडा सडक

मोरङको पुरानो सदरमुकाम रंगेली बजार क्षेत्रमा ६ लेन सडक विस्तारको काम शुरू भएको थियो ।

हुलाकी राजमार्गको मोरङ खण्डअन्तर्गत रंगेलीहुँदै झापाको भद्रपुर जोड्ने सडक चार लेनको हुनेछ । रंगेली नगरपालिकाकोे कोल्डस्टोरदेखि मधुवनी चोकसम्मको ४.९ किलोमिटर सडक विस्तार गरी ६ लेनको बनाउने काम भइरहेको छ ।

कालिका–मैनाचुली–भेडेन्सी जेभीले ७९ करोड २५ लाख ८६ हजार रुपैयाँमा ठेक्का पाएर अहिले विस्तारको काम गरिरहेको छ । रंगेली सेक्सनको ७.५ किलोमिटर सडकखण्डअन्तर्गत रंगेली बजार क्षेत्रको ४.९ किलोमिटर सडक शहरी मापदण्डबमोजिम निर्माण हुनेछ ।

कालिका कन्स्ट्रक्सनका क्षेत्रीय प्रबन्धक उज्ज्वल प्रसाईंले दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम थालिएको बताए । पहिलो चरणमा पाँच किलोमिटर रिटेनिङ वाल बनाउने, माटो भर्ने तथा नालाको काम सम्पन्न भइसकेको बताए ।

रंगेली नगरपालिकाले यसअघि नै संघीय सरकार सडक डिभिजन निर्देशनालयको निर्देशनमा सडक केन्द्रदेखि १५–१५ मिटर सडक खाली गराइसकेको थियोे । सो क्रममा रंगेली बजार क्षेत्रका ८७ वटा घर भत्किएका थिए भने केही घरमा डोजर चलाएर नगरपालिकाले खाली गराएको थियो ।

मेचीको बीच भागमा पर्ने ठाउँ भएकाले १९४५ सालमा मोरङको सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यस बेलादेखि रंगेली चर्चामा आयो । १९७२ सालदेखि रंगेली सामान्य बजार र खरीद–बिक्रीको केन्द्र बन्यो ।

१९४६ सालमा तत्कालीन प्रधानमन्त्री वीरशमशेरले सरदार कालिदास कोइरालालाई प्रथम बडाहाकिमको रूपमा रंगेली पठाउँदा रंगेलीको विकासको थालनी भएको जानकारहरू बताउँछन् ।

१९४७ सालमा रंगेली अस्पताल स्थापनासँगै काठ महल, वन जाँच, अमिनी, माल, कचहरी, गोश्वारा, जेललगायत स्थापना गरियो ।

१९७१ सालमा चन्द्रशमशेरले रंगेलीबाट सम्पूर्ण सरकारी कार्यालय विराटनगर सार्ने निर्णय गरेपछि विराटनगर सदरमुकाम बन्यो ।

हुलाकी सडकको इतिहास

हुलाकी राजमार्ग पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा, मोरङ जिल्लामा ४८/४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर पर्छ । झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली–केचना ४० किलोमिटर, मोरङमा कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीमा कल्याणपुर–वसाइनहुँदै ब्रह्मपर्टी १८ किलोमिटर सहायक राजमार्ग छ ।

पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो ।

राणाकालदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटोलाई पद्मशमशेरले अघि बढाएका थिए । त्यसकारण यो सडकलाई पद्मरोड पनि भनिन्छ । यो तराई मधेशका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । यो सडक पूर्व–पश्चिम ९७५ किलोमिटर फैलिएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट मधेशका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किलोमिटरमा ३२ वटा सहायक राजमार्गहरू छन् । यी सबै जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७९२ किलोमिटर पुग्छ ।

तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमण गर्दै हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति चाहिं २०६१ सालमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *