पोषण भत्ताका लागि नागरिकता बनाउनेको भीड ! – Nepal Press

पोषण भत्ताका लागि नागरिकता बनाउनेको भीड !

रुपन्देही । स्थानीय सरकारले ५ वर्षमुनिका बालबालिकालाई मासिक पोषण भत्ता प्रदान गर्ने निर्णय गरेसँगै कपिलवस्तुमामा नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणको भीड बढ्न थालेको छ ।

पोषण भत्ताका लागि नेपाली नागरिकता अनिवार्य गरिएकाले विभिन्न पालिकाबाट यसका लागि प्रशासनमा आउन थालेका हुन् ।

आफ्ना बालबालिकाको जन्मदर्ता बनाउनका लागि विवाह दर्ता आवश्यक रहेको र विवाह दर्ताका लागि नागरिकता आवश्यक भएको कारण नागरिकताको प्रमाणपत्र लिनेहरुको भीड बढेको हो ।

यसैगरी सरकारले वैवाहिक अंगीकृत लिने भारतबाट विवाह भई आएका महिलाको भारतीय नागरिकता त्याग गर्ने सूचनाको चिठी हुलाकबाट भारततर्फ रजिष्ट्री गर्ने काम शुरु भएपछि वैवाहिक अंगीकृत नागरिकता लिने महिलाको संख्या पनि बढेको छ ।

नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारणलाई २–३ दिन लगातार जिल्ला प्रशासन कार्यालय धाइरहेका छन् । नागरिकताको प्रमाणपत्र लिन सर्वसाधारण सवेरैदेखि घण्टौंसम्म लाइन लगाएर बस्न बाध्य छन् । पोषणभत्ता प्राप्त गर्नका लागि बालबालिकाको जन्मदर्ता आवश्यक पर्ने र त्यसैका लागि यस्तो भीड बढेको स्थानीय व्यवसायी केशव कुँवरले बताए ।

राज्यले सहज ढंगबाट आफ्ना नागरिकलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्नुपर्ने हो । तर नागरिकता लिनकै लागि नागरिक यस्तो सास्ती भोग्न बाध्य छन् ।

नागरिकताको प्रमाणपत्र प्रदान गर्न ढिलाई भएको स्वीकार गर्दै आवश्यक दरवन्दीअनुसारको कर्मचारी नहुँदा सेवाप्रवाहमा थप समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् । पौडेलले सकेसम्म सेवालाई छरितो बनाउने प्रयास गरिएपनि भीड बढेपछि ढिलाइ भएको बताए ।

उनले कर्मचारी अभाव भएकाले अन्य सेवाबाट ल्याएर यो सेवा दिन थालिएको र यसलाई छरितो बनाउने प्रयास गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर