किसुनजीमाथिको अन्तर्घातः कोइरालाको डिजाइनमा यसरी हराइयो चुनाव – Nepal Press
सम्झनामा किसुनजी

किसुनजीमाथिको अन्तर्घातः कोइरालाको डिजाइनमा यसरी हराइयो चुनाव

नेपालमा प्रजातन्त्रका निम्ति लामो लडाईं लडेका सन्त नेता कृष्णप्रसाद भट्टराई उर्फ किसुनजी दुईपटक देशको प्रधानमन्त्री बने । तर, जनताबाट निर्वाचित भएर संसदमा पुग्न भने उनले लामो समय कुर्नुपर्यो ।

२०१५ सालको संसदीय चुनाव हारेका भट्टराई ४६ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि अन्तरिम सरकारको प्रधानमन्त्री भए । तर, २०४८ सालको संसदीय चुनावमा उनलाई तत्कालीन एमालेका महासचिव मदन भण्डारीले थोरै मत अन्तरमा हराए ।

मदनको आकस्मिक निधनपछि २०५० सालमा भएको उपनिर्वाचनमा उनी पुनः उम्मेदवार भए । तर, मदनपत्नी विद्या भण्डारीले त्यसमा पनि उनलाई हराइन् । २०५६ सालमा आएर पहिलोपटक उनले चुनाव जितेका थिए ।

२०५० सालमा काठमाडौं क्षेत्र नं. १ मा भएको उपनिर्वाचनले कांग्रेस राजनीतिमा ठूलो अर्थ राख्छ । पार्टीभित्रका मुख्य प्रतिस्पर्धी गिरिजाप्रसाद कोइरालाको अन्तर्घातले गर्दा किसुनजीले चुनाव हारेको विश्वास पुराना कांग्रेसजन गर्छन् । भट्टराईले चुनाव हारेपछि गिरिजाप्रसाद नेपाली राजनीतिमा एकछत्र शक्तिशाली बनेका थिए । त्यो चुनावमा पनि हारजितको अन्तर ठूलो थिएन । भट्टराईको स्मृति दिवसका अवसरमा आज हामी त्यो ‘अन्तर्घात’को कथा खोतल्दैछौं ।

उपनिर्वाचन लड्ने निधो

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको शंकास्पद दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । भण्डारीको निधनपछि रिक्त रहेको सांसद पदका लागि २०५० साल माघ २५ गते उप–निर्वाचनको घोषणा भयो ।

प्रारम्भमा किसुनजीले सार्वजनिक रूपमै आफू उपनिर्वाचन नलड्ने बताउँदै आएका थिए । यद्यपि उपनिर्वाचनमा उनी उम्मेदवार बन्नुपर्ने दबाब कांग्रेसभित्र बढ्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यशैलीप्रति पार्टी सभापति किसुनजी र सर्वमान्य नेता गणेशमान सिंह रुष्ट रहँदै आएका थिए । दुवै नेतासँग कोइरालाको आन्तरिक विवाद चुलिंदो थियो । यहीक्रममा आइपरेको उपनिर्वाचनको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बोलाइयो ।

कांग्रेस केन्द्रीय समितिको बैठकबाट किसुनजी सर्वसम्मत उम्मेदवार त बने तर को–को आफैंलाई हराउन लागिपरेका छन् भनेर चिन्नै सकेनन् । सक्दो सहयोगको वाचा गरेका प्रधानमन्त्री कोइरालाले किसुनजीलाई मत मागेनन् । निर्वाचनको १५ दिनअघि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै उनले किसुनजीलाई पार्टीले उम्मेदवार बनाए पनि सरकारविरुद्ध आक्रमण गर्ने अधिकार नदिएको बताए ।

बानेश्वरस्थित कांग्रेस कार्यालयमा भएको बैठकअघि किसुनजीले सिंह र कोइरालासँग छुट्टै वार्ता गरेका थिए । सोही वार्तापछि केन्द्रीय समितिको बैठकमा उनले आफू उपनिर्वाचन लड्ने घोषणा गरे । किसुनजीलाई सिंहले प्रस्ताव गरेका थिए भने कोइरालाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर्घातको कारण

२०४८ सालको निर्वाचनमा पराजित डा.रामशरण महतलाई प्रधानमन्त्री कोइरालाले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए । जब कि नेता सिंहले डा. दुर्गेशमान सिंहलाई योजना आयोगको उपाध्यक्षमा पुर्याउन चाहन्थे । तर, कोइरालाले आफ्नो चाहना पूरा नगरिदिएपछि सिंह उनीसँग असन्तुष्ट थिए । यसैबीच, कोइरालाले पार्टीमा सल्लाह नगरी भट्टराई निकट मानिने ६ जना मन्त्रीलाई बर्खास्त गरे । अनि किसुनजी पनि कोइरालासँग बिच्किए ।

यसअघि सिंह र कोइरालाबीच विवाद बढ्दा पार्टीका कार्यवाहक सभापतिका नाताले किसुनजीले मध्यस्थता गर्दै आएका थिए । उपनिर्वाचन हुने भएपछि किसुनजीलाई सांसद बनाएर प्रधानमन्त्रीमा कोइरालालाई प्रतिस्थापित गर्ने योजना सिंहको थियो । कोइरालालाई पनि किसुनजीलाई सांसद बनाएर आफ्नो प्रधानमन्त्री पद असुरक्षित नबनाउन निकटस्थहरूले सुझाव दिए । सरकार सञ्चालनमा असहयोग महसूस गरेका कोइरालामा किसुनजीले निर्वाचन जिते प्रधानमन्त्रीको दावेदार हुनसक्ने त्रास पैदा भयो । यहीकारण बालुवाटारमा ‘किसुनजी जिताएर कांग्रेस हराउने कि कांग्रेस जिताएर किसुनजी हराउने ?’ भन्ने प्रश्न जन्मियो ।

यसरी भयो अन्तर्घात

कांग्रेस केन्द्रीय समितिको बैठकबाट किसुनजी सर्वसम्मत उम्मेदवार त बने तर को–को आफैंलाई हराउन लागिपरेका छन् भनेर चिन्नै सकेनन् । सक्दो सहयोगको वाचा गरेका प्रधानमन्त्री कोइरालाले किसुनजीलाई मत मागेनन् । निर्वाचनको १५ दिनअघि रेडियो नेपाल र नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै उनले किसुनजीलाई पार्टीले उम्मेदवार बनाए पनि सरकारविरुद्ध आक्रमण गर्ने अधिकार नदिएको बताए ।

१७ मिनेट लामो सो वक्तव्यमा कोइरालाले ‘जबसम्म पार्टी सभापतिले आफू पनि सरकारको जस–अपजसको समान भागीदार हुने प्रतिबद्धता जाहेर गर्नुहुन्न तबसम्म सरकार प्रमुखको हैसियतले मैले कसरी उहाँको चुनाव प्रचारप्रसारमा भाग लिन मिल्छ ?’ भन्ने प्रश्न गरेका थिए । यति मात्र नभएर भट्टराईलाई चुनाव हराउन कोइरालाले गुप्त खेलसमेत खेले ।

बालुवाटारको डिजाइनमा नेकपा एमालेका नेता प्रदीप नेपाल, नेपाली कांग्रेसका नेता मार्सलजुलुम शाक्य र पत्रकार देवप्रकाश त्रिपाठी सम्मिलित तीन सदस्यीय रणनीतिक समिति बन्यो । यो समितिको काम किसुनजीको निर्वाचन प्रचारप्रसारका सबै गतिविधिमाथि निगरानी गर्ने, प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने र आवश्यक कदम चाल्न सिफारिश गर्ने थियो । किसुनजी हराउन २२ बुँदे रणनीतिपत्र नै तयार भएको थियो ।

किसुनजी र कोइरालाबीचको विवादमा निरपेक्ष रहने प्रयास तत्कालीन गृहमन्त्री शेरबहादुर देउवाले गरेका थिए । तर किसुनजी जिताउनसमेत देउवा खुलेर लागेनन् । गृहमन्त्रीप्रति विश्वस्त नभएपछि निर्वाचन अवधिभर प्रधानमन्त्री कोइरालाले प्रहरी प्रमुखसँग सोझो रिपोर्टिङ लिएका थिए । ‘उपनिर्वाचनको अवधिभर तत्कालीन प्रहरी प्रमुख मोतीलाल बोहराले गृहमन्त्री देउवालाई होइन सोझै प्रधानमन्त्री कोइरालालाई रिपोर्टिङ गर्थे’, जानकार बताउँछन् ।
किसुनजी हराउन प्रहरी, प्रशासन, राजनीतिक संयन्त्र मात्रै होइन युवा परिचालनका नाममा पैसा चालन समेत भएको बताइन्छ ।

‘अनामनगरको घट्टेकुलोमा रहेको केदार गिरीको घरबाट उमेश गिरीमार्फत युवाहरूलाई पैसा बाँडिन्थ्यो’, एक प्रत्यक्षदर्शीले स्मरण गरे । त्यस्तो पैसा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले बढी प्राप्त गरेका थिए ।

किसुनजीमाथि अन्तर्घात भएकै दिनदेखि कांग्रेसमा विभाजनको बीउ रोपियो । पार्टी विभाजन नहोस् भनेर निरन्तर सचेत रहेका किसुनजीले २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा सभापतिमा कोइरालालाई नै सहयोग गरे ।

किसुनजीलाई उपनिर्वाचन हराउने खेल सामान्य थिएन । किसुनजीका हरेक गतिविधिको निगरानी भइरहेको थियो । जानकारहरूका अनुसार एमाले उम्मेदवार विद्या भण्डारीले मतदातासँग गर्ने प्रतिबद्धता तत्काल पूरा गर्न सरकारी संयन्त्र नै परिचालन गरिन्थे । तर किसुनजीले गरेका प्रतिबद्धता पूरा गर्न भने सरकारी संयन्त्र आलटाल गर्थे ।

निर्वाचनकै दिन पनि कांग्रेसको गढ भनिएका बुथमा सुरक्षा परिचालन कडा पारिएको र कम्युनिष्टको गढ भएका बुथमा सुरक्षा व्यवस्था खुकुलो राखिएको बताइन्छ । यी सबै रणनीतिक काम तीन सदस्यीय रणनीतिक समितिले गथ्र्याे । मार्सलजुलुमले बालुवाटारलाई नियमित रिपोर्टिङ गर्थे । प्रधानमन्त्रीका तर्फबाट सुशील कोइराला पनि यो अभियानमा निकै सक्रिय रहे ।

अन्ततः किसुनजी चुनावमा सानो अन्तरले हारे । त्यसो त उनको पराजयमा कोइरालाको अन्तर्घात मात्र नभएर एमाले उम्मेदवार भण्डारीप्रति जबर्जस्त रूपमा उर्लिएको सहानुभूतिले पनि काम गरेको थियो ।

पत्थरको जवाफ गुलाफले

अन्तर्घातका कारण आफूले निर्वाचन हारेको बारे किसुनजी जत्तिको प्रष्ट कोही थिएनन् । काठमाडौं कांग्रेसका अधिकांश नेता–कार्यकर्ताहरू अन्तर्घातीलाई कारबाही गर्नुपर्ने पक्षमा थिए । निर्वाचनको परिणाम आएकै दिन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का तत्कालीन सभापति एवं उपनिर्वाचन प्रचार समितिका क्षेत्रीय संयोजक लोकेश ढकालको नेतृत्वमा अन्तर्घातीविरुद्ध जुलुस प्रदर्शन भयो । देशका विभिन्न ठाउँमा कोइरालाविरुद्ध नाराबाजी गरिए । एक समूहले पार्टी अफिसमा घुसेर कोइरालाको कार्यकक्षमा तोडफोड गरी पुत्लासमेत दहन गर्यो ।

प्रारम्भमा किसुनजी अनुशासनको कारबाही नगरे पार्टीमा मनपरीतन्त्र हावी हुने भन्दै थिए । तर कारबाहीको डण्डा चलाउँदा पार्टीमा दीर्घकालसम्म विवाद बढ्ने र विभाजन बढ्नसक्ने निष्कर्षमा उनी पुगे । लोकेश ढकाल नेतृत्वको कांग्रेस क्षेत्रीय कार्यसमितिले प्रधानमन्त्री कोइरालासहित ३१ जनालाई अनुशासनको कारबाही गर्न माग गरेको थियो । कांग्रेस बैठकको बाहिर सयौं कार्यकर्ताले अन्तर्घातीलाई कारबाही गर्न धर्ना दिएका थिए । यद्यपि किसुनजीले अन्तर्घातको अपराध गर्नेहरूलाई विस्मृतिमा राखेर माफी दिएको घोषणा गरे । राजनीतिक जीवनमा आफूलाई हराउन पत्थर फ्याँक्नेलाई किसुनजीले गुलाफ दिए ।

किसुनजीमाथि अन्तर्घात भएकै दिनदेखि कांग्रेसमा विभाजनको बीउ रोपियो । पार्टी विभाजन नहोस् भनेर निरन्तर सचेत रहेका किसुनजीले २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा सभापतिमा कोइरालालाई नै सहयोग गरे । आफूलाई अन्तर्घात गर्ने कोइरालालाई पार्टीको नेतृत्व नै सुम्पन सक्ने किसुनजीको आदर्श नै उनको वास्तविक पहिचान थियो ।

अन्तर्घातले अझै बिझाउँछः ढकाल

नेपाली कांग्रेसका नेता लोकेश ढकाल २०५० को उपनिर्वाचनमा कांग्रेसभित्र भएको अन्तर्घात अझै इमानदार कांग्रेसका लागि बिझाउने गरेको बताउँछन् ।

‘किसुनजी पार्टीको सभापति हुनुहुन्थ्यो । निर्वाचन हार्ने अर्को कुनै कारण थिएन । अन्तर्घातको यस्तो कुरुप खेल भयो कि कांग्रेसको अधोगति त्यही दिनबाट शुरू भयो’, ढकालको भनाइ छ ।

सो उपनिर्वाचनमा किसुनजी उम्मेदवार नबनेको भए ढकाल स्वयं दावेदार थिए । पार्टी सभापति नै लड्ने भएपछि काठमाडौं १ को कांग्रेस क्षेत्रीय सभापतिसमेत रहेका ढकालले किसुनजीलाई जिताउन सकेको मिहिनेत गरे । यद्यपि पार्टीले सर्वसम्मत निर्णय गरे पनि किसुनजीलाई पर्याप्त सहयोग भएन ।

‘किसुनजी संसदमा आउने भएपछि पक्कै प्रधानमन्त्री ताक्छन् भन्ने गिरिजाबाबुलाई पर्यो । देशवासीको नाममा गिरिजाबाबुले दिएको १७ मिनेटको मन्तव्य नै अन्तर्घातको प्रमाण थियो’, ढकाल भन्छन् । तत्कालीन समयमा किसुनजीले निर्वाचन जिते कांग्रेस विभाजन हुने चर्चा सर्वत्र चलाइएको थियो । ‘औंलामा क्यान्सर लाग्यो भने औंला काट्न डराउनुहुन्न । किसुनजीले चुनाव जितेमा कांग्रेस फुट्छ भनेर हल्ला फैलाइएको थियो’, ढकाल सम्झन्छन् ।

ढकालको बुझाइमा किसुनजीमाथिको अन्तर्घात नै कांग्रेस विभाजनको बीजारोपण थियो । ‘उपनिर्वाचनमा भएको अन्तर्घातले नै पार्टीभित्र छत्तिसे र चौहत्तरे भन्ने विभाजन कोर्‍यो । आन्तरिक विवादको यही क्रम बढेर प्रकारान्तरले कांग्रेस नै विभाजित हुनपुग्यो’, ढकालको भनाइ छ ।

दोस्रोपटक संसदभित्र अन्तर्घात

उपनिर्वाचनको प्रसंग पुरानो भइसकेको थियो । किसुनजी समेतको सहयोगमा गिरिजाप्रसाद कांग्रेसको सभापति बनिसकेका थिए । २०५६ सालको आम निर्वाचनमा कांग्रेसले पार्टीका बहुमत आए किसुनजीलाई प्रधानमन्त्री बनाउने घोषणा गर्यो ।

किसुनजीको नाममा मत मागेको कांग्रेसले बहुमत पनि ल्यायो । २०५६ जेठमा किसुनजी दोस्रो पटक मुलुकको प्रधानमन्त्री भए । माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै थियो । समाधानका लागि सरकारको पहल जारी थियो । किसुनजीलाई अगाडि सारेर बहुमत ल्याए पनि कांग्रेसभित्रबाटै किसुनजीलाई निरन्तर असहयोग रह्यो ।

सत्ता संचालनमा निरन्तर बाधा व्यहोरेका किसुनजी विरुद्ध कांग्रेसकै ६९ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए । प्रधानमन्त्रीबाट राजीनामा नदिई संसद भंग गरेर निर्वाचन घोषणा गर्नसक्ने विकल्प किसुनजीका सामु नभएको होइन । तर पार्टी विभाजन हुने र मुलुकले निकास पनि नपाउने खतरा औंल्याउँदै २०५६ साल चैत ३ गते संसदमा भावुक मन्तव्य दिएर किसुनजीले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

समयक्रममा कांग्रेस विभाजित भयो । संसद पुनःस्थापनापछि संविधानसभा निर्वाचनअघि कांग्रेस एक पनि भयो । कांग्रेसको एकतासभामा पुगेर आफू जीवनकै सबैभन्दा खुशी भएको बताएका किसुनजीले भोलिपल्टै पत्र लेखेर कांग्रेस त्यागेको घोषणा गरे । खासगरी संवैधानिक राजतन्त्रको एजेण्डा छोड्ने कांग्रेसको नीतिमा बाँचुञ्जेल किसुनजी सहमत रहेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर