श्रीमानबाटै एसिड आक्रमणमा परेकी आरतीको पीडाः जिउँदो लाश झैं भएकी छु (भिडियो)
जनकपुरधाम । कात्तिक २९ गतेको ‘कालो दिन’ कहिल्यै बिर्सिने छैनन् आरती साहले । जुन दिन आफ्नै श्रीमान्ले उनको जीवन नारकीय बनाइदिए ।
आफूमाथि श्रीमान्ले एसिड प्रहार गरेको त्यो घटना सम्झिँदा अहिले पनि उनी भक्कानिन्छिन् । ज्यान बाँचे पनि आफू ‘जिउँदो लाश’ बनेको उनले बताइन् ।
जनकपुरधाम–२३ रुपैठाकी २६ वर्षीया आरतीमाथि श्रीमान् सञ्जीव साहले एसिड प्रहार गरेका थिए । घटनापछि उनले करिब तीन महिना कीर्तिपुर अस्पतालमा उपचार गराइन् । तर उनको उपचार पूरा भएको छैन ।
सरस्वती पूजाका दिन (फागुन ४ गते) जनकपुर माइत आइपुगेकी आरती अनेक पीडा झेलिरहेकी छन् । उनको उपचार अझै दुई वर्षसम्म चल्छ । उनको अनुहार, आँखा, छाती र हातमा एसिड प्रहार गरिएको थियो । एसिडको असरले उनको एउटा आँखा गुमेको छ ।
जलेको भागमा शरीरका अन्य भागबाट छाला निकालेर राखिए पनि पूर्णरुपमा निको भएको छैन । उनको हात चल्दैन । आफैं खाना खान पनि सक्दिनन् । अन्य भाग पनि सुन्निएको महसूस गर्छिन् उनी ।
चिकित्सकको सल्लाह अनुसार उनी नियमित रुपमा औषधि सेवन गरिरहेकी छन् । उनी भन्छिन्, ‘डाक्टरले तीन महिनापछि पुनः आउन भन्नुभएको छ । यहाँ आएको १५ दिन वितिसक्यो । अढाइ महिनापछि पुनः चेकअप गराउन काठमाडौं पुग्नुपर्छ ।’
०००
आरती र सञ्जीवबीच करिब पाँच वर्ष अगाडि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाहपश्चात सञ्जीवले विभिन्न बहानामा उनलाई यातना दिन थाले । त्यसपछि उनी माइत आएर बस्न थालिन् ।
माइतमा बस्दै आएकी आरतीलाई फर्किन सञ्जीवले पटक-पटक धम्की दिन थाले । त्यसपछि उनीहरुबीचको सम्बन्ध झन् बिग्रियो । आरतीले ससुराल पुगेपछि आइन्दा कुटपिट नगरोस् भन्ने चाहन्थिन् ।
तर सञ्जीवले विवाद मिलाउनुको साटो पटक–पटक धम्की दिंदा आरती ससुराल जान मानेकी थिइनन् । एक दिन माइतीघरमै बसेको बेला आरतीमाथि सञ्जीवले एसिड प्रहार गरे । आरतीलाई एसिड हान्दा छेउमै रहेकी छोरी रियामाथि पनि पर्यो । उनको हातको केही भाग पनि जलेको छ ।
‘एसिड प्रहार गरेलगत्तै जानकी हेल्थ केयर पुगेँ। तर डाक्टरले भर्ना लिन मानेनन् । उपचार गराउँदा पैसा कसले दिन्छन् भन्ने डाक्टरको प्रश्न थियो । बुवा आएपछि दिन्छु, मलाई बचाइदिनुस् भनेर बिन्ती गरेपछि बल्ल भर्ना लियो’ आरती सुनाउँछिन् ।
उनी जानकी हेल्थ केयर अस्पतालमा भर्ना भएपनि उपचार सम्भव भएन । त्यसपछि उनलाई तत्कालै कीर्तिपुर अस्पताल रिफर गरिएको थियो । त्यहाँ पुगेपछि उनको ज्यान त बाच्यो । तर उनी आफूलाई जिउँदो लाश भएको महसूस गर्छिन् ।
ऋण लिएर उपचार, भाडाको घरमा बस्दै
आरतीकी आमा सुनितादेवी जनकपुरमा तरकारी बेच्छिन् । उनी भाडामा कोठा लिएर बस्दै आएकी छन् । सोही कोठामा अहिले आरती पनि बस्छिन् । एसिड प्रहारको घटनापछि तरकारी बेच्न पनि छाड्नु परेकाले घरभाडा तिर्न पनि मुस्किल परेको सुनितादेवीले बताइन् ।
छोरीको उपचारमा अहिलेसम्म अढाइ लाखभन्दा बढी खर्च भइसकेको उनको भनाइ छ ।
‘ब्याजमा ऋण लिएका छौं । करिब अढाइ लाख खर्च भइसक्यो । अब काठमाडौं जानुपर्दा फेरि ऋण लिनुपर्छ’, सुनितादेवीले भनिन् ।
जानकी हेल्थ केयर अस्पतालमा भएको उपचार खर्च र काठमाडौंमा विभिन्न खर्च आफैंले व्यहोर्नु परेको उनले सुनाइन् ।
‘कीर्तिपुर अस्पतालबाट तिलगंगा आँखा अस्पताल जानुपर्दा ७०० रुपैया भाडा तिर्नुपर्थ्यो’ उनले भनिन्, ‘डाक्टरको सल्लाहअनुसार फलफूल र पौष्टिक तत्व भएको खाना खुवाउनुपर्यो । अहिले पनि खुवाउन भन्नुहुन्छ । तर पैसा छैन । कहाँबाट फलफूल ल्याउनू ?’
उनले कुनै सामाजिक संघसंस्थाले सहयोग नगरेको गुनासो समेत गरिन् । वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड प्रहार हुँदा ५ लाख रुपैयाँ सहयोग गरेकाे प्रदेश सरकारले आरतीलाई एक रुपैयाँ पनि सहयोग गरेकाे छैन । आरतीलाई कार्यालय सहयोगी पदमा जागिर दिने आश्वासन मात्र प्रदेश सरकारले दिएको छ ।
आफूमाथि एसिड प्रहार गर्ने श्रीमान्लाई जन्मकैद हुनुपर्ने आरतीको माग छ ।
नेपाल प्रेससँग उनले भनिन्– ‘२०/३० वर्ष वा जन्मकैद त सजाय हुन्छ नै । तर हात–खुट्टा र गर्दनमा जञ्जीर लगाएर पूरै जनकपुर घुमाइयोस् भन्ने मेरो माग छ । ताकि भोलि कसैले पनि कुनै महिलालाई एसिड प्रहार गर्ने दुस्साहस नगरोस् ।’
एसिड बेच्नेलाई पनि कडा कारबाही हुनुपर्ने उनको माग छ ।
‘एसिड फ्याक्नेभन्दा कम सजाय बेच्नेलाई दिनुहुँदैन’ उनले भनिन्, ‘२०० को एसिड १ हजार रुपैयाँ लिएर बेचेको थियो । त्यसैले बेच्नेलाई पनि कठोर सजाय दिनुपर्छ ।’
एसिड प्रहार गर्ने आरतीका श्रीमान् सञ्जीव र एसिड बिक्री गरेका औषधि व्यवसायी नागेन्द्र साहलाई प्रहरीले तत्कालै पक्राउ गर्न सफल भएको थियो । हाल दुवै जनालाई अदालतले पूर्वपक्षका लागि थुनामा पठाएको छ । दुवै जनालाई जनही १५ वर्ष कैद सजाय हुने अदालतले जनाएको छ ।