सीले भेट्टाए ६ दशकअघि माओले महेन्द्रसँग भनेको लक्ष्य
पंचायतका प्रारम्भिक दिनमा राजा महेन्द्रको चीनको औपचारिक भ्रमणताका माओले चीन गरिब देश भएको बताएका थिए । ‘हाम्रो देश (चीन) अझै पनि गरिबै हो । तर, थुप्रै दशकपछि हामीले अझ राम्रो भने गर्नेछौं’ सन् १९६१ को अक्टोबर ५ मा राजा महेन्द्रलाई माओले भनेका थिए, ‘मलाई लाग्छ यसको लागि ५० देखि १०० वर्ष लाग्न सक्छ ।’ माओको कूटनैतिक पुस्तक ‘अन डिप्लोमेसी’ को पृष्ठ ३६६–३६७ मा माओ र महेन्द्रको कुराकानी उल्लेख गरिएको छ ।
हुन पनि माओले भने झैं भयो । महेन्द्रसँग सन् १९६१ को अक्टोबर ५ मा कुरा भएको ठीक ६ दशकपछि सन् २०२१ मा आएर चीन गरिबीमुक्त देश भएको छ ।
चीनका शक्तिशाली राष्ट्रपति सी चिनफिङले गत बिहीबार (फागुन १३ गते) चीन गरिबीमुक्त देश भएको घोषणा गरेका थिए । चीनको विश्व टेलिभिजन सेवा सीजीटीएनका अनुसार बेइजिङमा गरिबी निवारण गरेको घोषणा सभामा बोल्दै सीले गरिबी निवारणलाई एक ‘जादू’ को संज्ञा दिंदै इतिहासमा उक्त दिन महत्वपूर्ण हुने बताएका थिए ।
माओले १०० वर्षभित्र चीनको गरिबीमा सुधार हुने बताएकोमा सीले गरिबी निवारणकै नेतृत्व गरेर देखाए । पछिल्लो आठ वर्षमा चीनले १० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।
रोचक कुरा, चीनको सत्ता कमाण्डमा सी आएको पनि ठीक आठै वर्ष भएको छ । सी सन् २०१३ को मार्च १४ (वि.सं. २०६९ चैत १) मा चीनको राष्ट्रपति बनेका हुन् । अर्थात् चीनको आक्रामक गरिबी निवारण अभियानमा सी देखिने नायकै हुन् ।
सिबादोङ गाउँ भ्रमणपछिको निर्धारित लक्ष्यले गरिबी निवारण
विश्वभरबाट तारिफ भएको चीनको गरिबी निवारणको सफलताको आक्रामक प्रस्थानविन्दु भने चीनको एक सानो गाउँ हो– सिबादोङ । उक्त गाउँमा सी राष्ट्रपति भएकै वर्ष सन् २०१३ को नोभेम्बर ३ (वि.सं. २०७० कात्तिक १७) मा भ्रमण गरे । उक्त गाउँको भ्रमणपछि सीले नयाँ कार्यक्रम ल्याए ।
‘लक्षित गरिबी निवारण’ नाम दिइएको लक्ष्य सार्वजनिक गर्नु अगाडि सन् २०१२ बाटै सीले चीनका अत्यन्तै गरिब ग्रामीण क्षेत्रहरूको भ्रमण गरेको सीजीटीएनले उल्लेख गरेको छ ।
गरिबी निवारणसँगै चीनले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सन् २०३० सम्म दिगो विकासअन्तर्गतको गरिबी निवारण लक्ष्य दशक अगाडि नै भेट्टाएको छ । यही तर्कलाई आधार मानेर सीले विश्वको गरिबी निवारणमा चीनको ७० प्रतिशत योगदान भएको बताएको चिनियाँ संचारमाध्यमहरूले उल्लेख गरेका छन् । गरिबहरूलाई पूर्वाधारविहीन क्षेत्रबाट शहरी क्षेत्रमा स्थानान्तरण गरेर, पूर्वाधार, व्यापार तथा पर्यटन क्षेत्रमा व्यापक लगानी गरेर चीनले गरिबी निवारण छिटो गर्न सकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको एक आलेखले चीनको गरिबी निवारणका प्रमुख कारणहरूमा अधिकतम वितरण तथा गरिबमैत्री विकास कार्यक्रमहरूको महत्वपूर्ण भूमिका भएको उल्लेख गरेको छ ।
आलोचकहरूले भने चीनले धेरै गरीबको चाहना विपरीत जबर्जस्त स्थानान्तरण गरेको आरोप समेत लगाउँदै आएका छन् ।
२०२१ः चीनको लागि स्वर्णिम वर्ष
सन् १९७० को दशकबाट खुला अर्थतन्त्रउन्मुख भएको चीनले चाँडै फड्को मारेको हो । सन् २००१ मा मात्रै विश्व व्यापार संगठनको सदस्य भएको चीन सन् २०१० मा आएर जापानलाई पछि पार्दै अमेरिकापछिको दोस्रो ठूलो अर्थतन्त्र बन्यो । सन् २०१४ को अन्त्यसम्ममा आएर त पर्चेजिङ पावर प्यारिटी (पीपीपी)को आधारमा चीनले अमेरिकी अर्थतन्त्रलाई समेत जितेर सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।
कोभिड–१९ महामारीले थलिएको सन् २०२० को अर्थतन्त्रको चित्र पनि चीनकै राम्रो देखिएको छ । कोभिड–१९ पछि सकारात्मक आर्थिक विकास र ठूलो अर्थतन्त्र भएको देशमा चीन मात्रै एक्लो भएको छ । सन् २०२० मा चीनले २.३ प्रतिशत अर्थतन्त्रमा वृद्धि गरेको बीबीसी अनलाइनले उल्लेख गरेको छ ।
महामारीको समयमा समेत सकारात्मक आर्थिक विकास गरेकोले सन् २०२१ मा चीनको आर्थिक धरातल बलियो बनाउने जानकारहरूले तर्क गर्न थालेका छन् । अझ यही वर्ष गरिबी निवारण घोषणा भएपछि त चीनको आर्थिक प्रोफाइल झनै बढेको धेरैको तर्क छ ।