शक्तिराष्ट्रको काठमाडौं मिसन हाँक्दै महिला
कमजोर छैन महिला काँध, हाँकिरहेछन् देशदेखि नियोगसम्म
काठमाडौं- पछिल्लो समय विश्व कुटनीतिमा महिला सहभागिता बढ्दो छ । सामाजिक घुलमिल हुने स्वभावका कारण महिलाहरु विदेशमन्त्री वा कुटनीतिज्ञ हुने ट्रेन्ड पछिल्लो समय बढिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले विश्लेषण गरेका छन् ।
सरकार एवं राष्ट्रप्रमुखको भूमिकामा महिला सहभागिता बढ्दै जाँदा महिलाले कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेशी नियोगहरुसमेत सम्हाल्न थालेका छन् । संयोगवश, शक्तिराष्ट्र एवं नियोगको काठमाडौं मिसनलाई महिलाहरुले सम्हालिरहेका छन् । उनीहरुले नेपाललाई विश्वसँग जोड्ने मामिलामा भूमिका खेलिरहेका छन् ।
अहिले विभिन्न २१ मुलुकमा सरकार एवं राष्ट्रप्रमुख महिला छन् । नेपालसहित, जर्मनी, बंगलादेश, न्यूजिल्यान्ड, नर्वे, नामिबिया, ताइवान, सिंगापुर, न्यूजिल्यान्ड, आइसल्यान्ड, जर्जिया, स्लोभाकिया, डेनमार्क, फिनल्यान्ड, ग्रीसलाई महिलाले हाँकिरहेका छन् ।
शक्तिशाली नियोग, आयोग र डेलिगेट्समा समेत महिला सहभागिता बढ्दो छ । अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस, नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी, जर्मन चान्सलर एन्जेला मर्केल, बंगलादेशी राष्ट्रपति शेख हसिना वाजेद, न्यूजिल्यान्ड प्रधानमन्त्री ज्याकिन्डा आर्डेन केही प्रतिनिधि विश्व उदाहरण हुन् ।
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार महिलाले हाँकिरहेका मुलुकले सन् २०२० सम्म कोभिड–१९ विरुद्धको लडाइमा राम्रो सफलता हासिल गरेका थिए । ज्याकिन्डा आर्डेनको अगुवाइमा न्यूजिल्यान्डमा कोभिड संक्रमण शुन्य हुन पुगेको थियो ।
रोचक त के छ भने, फिनल्यान्ड, न्यूजिल्यान्ड, साल्भाडोर र युक्रेनका महिला प्रधानमन्त्रीको उमेर ४० वर्षभन्दा तल छ । ३४ वर्षिया फिनिस प्रधानमन्त्री सान्ना मारिनको मन्त्रिपरिषद्मा १२ जना महिला र सात पुरुष मन्त्री छन् । फिनल्यान्डको संसदमा ४७ प्रतिशत महिला छन् । वर्तमान प्रधानमन्त्री मारिन पछि यसअघि यातायातमन्त्री थिइन् ।
एक अन्तर्वार्तामा काउन्सिल अफ वुमन वल्र्ड लिडर्सकी अध्यक्ष लाउरा लिसवुड भन्छिन्, ‘एउटै कुरामा समानता के छ भने, महिलासँग परिवर्तनको दृढ इच्छा र संकल्प हुन्छ ।’ विश्वकै वयोवृद्ध ९४ वर्षिय मलेसियाली प्रधानमन्त्री महाथिर मोहम्मदले नयाँपुस्ताका प्रधानमन्त्रीलाई सुझाएका थिए– पाकासँग सल्लाह लिनूस र त्यसलाई आफ्नै विवेकले आकार दिएर लागु गर्नुस ।’
अहिले नेपाली परराष्ट्रमा झन्डै ५८ महिला कुटनीतिज्ञ छन् । ०६२/०६३ को जनआन्दोलनपछि समावेशीकरणको लहरले महिला कुटनीतिज्ञको संख्या बढेको हो ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा विश्व कुटनीतिमा महिलाहरु सशक्त बनिरहेको बेला नेपाल पनि सोही मार्गमा अग्रसर हुनुपर्ने बताउँछन् ।
‘पक्कै पनि समावेशी कोटा छुट्याएपछि कुटनीतिमा महिला आकर्षण बढ्दै गएको छ,’ थापा भन्छन्, ‘निजामतिमा २५ प्रतिशत महिला पुगेको बेला १५ प्रतिशत महिलाले राजदूतमा अवसर पाएका छन् । यो संख्यालाई बढाउँदै लैजानुपर्छ ।’
आफू राजदूत छँदा परराष्ट्रमा एकजना महिला मात्र कुटनीतिज्ञ रहेको सुनाउँदै उनले अहिले बढेको देख्दा खुशी लागेको बताए । अमेरिका र भारतको १४ वर्षे राजदूत भएर परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका उनले महिला राजदूतहरु केही वर्षमा वृद्धि हुने अनुमान गरे ।
पूर्वपरराष्ट्र सचिव डा. ज्ञानचन्द्र आचार्य अहिले नै कुटनीतिमा नेतृत्व वा बराबरी खोज्नेभन्दा पनि त्यो क्रमशः बढ्नुपर्ने बताउँछन् ।
अहिले नेपाली परराष्ट्रमा झन्डै ५८ महिला कुटनीतिज्ञ छन् । ०६२/०६३ को जनआन्दोलनपछि समावेशीकरणको लहरले महिला कुटनीतिज्ञको संख्या बढेको हो । लोकसेवा आयोगले ६ वटा समावेशी समूहबाट आर्थिक ०६७/०६८ देखि महिलासहितको समावेशी समूहबाट प्रतिनिधित्व गराउन थालेपछि सरकारी सेवामा महिलाको संख्या बढ्न थालेको हो ।
शक्तिराष्ट्रका मिसन हाँक्दै महिला
पछिल्लो समय शक्तिशाली मुलुक र अन्तराष्ट्रिय नियोगले पनि काठमाडौं मिसनमा महिला प्रतिनिधि खटाउन थालेका छन् । राष्ट्रसंघको नेपालस्थित कार्यालयसहित चीन, बेलायत, अष्ट्रेलिया, युरोपेली आयोग, श्रीलंका, ब्राजिल लगायतका काठमाडौं मिसनलाई महिलाले हाँकिरहेका छन् ।
उत्तरी छिमेकी मुलुक चीनको राजदूतमा होउ याङ्छी छिन् जो नेपालको राजनीतिक उतारचढावमा पनि सक्रिय हुन गरेकी छिन् । संसद विघटन, नेकपा विभाजन लगायतका महत्वपूर्ण इभेन्टमा यान्छी सक्रिय रहिन् ।
नेपालको लागि अष्ट्रेलियाली राजदूतमा फेलोसिटी भल्क हालै नियुक्त भएकी छिन् जसले केही पुस्तक समेत प्रकाशन गरेकी छिन् । युरोपेली आयोगको नेपाली राजदूतमा नोना डेप्रेज छिन् । ब्राजिलले मारिया तेरेसालाई नेपाल मिसनको जिम्मा दिएको छ ।
बेलायतको राजदूतमा निकोला पोलिट छिन् । दुईसयवर्षको नेपाल-बेलायत कुटनीतिक सम्बन्धपछि बेलायतले नेपालमा पहिलो महिला राजदूत पठाएको हो । सन् २००३ देखि बेलायतको कुटनीतिक सेवामा प्रवेश गरेकी उनले पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशकको रुपमा समेत काम गरेकी छिन् ।
काठमाडौंस्थित राष्ट्रसंघिय नियोगका अधिकांश प्रमुख र प्रतिनिधिमा पनि महिला छन् । उनीहरुले नेपाल सरकार, जनप्रतिनिधि र समुदायसँग संयोजकको रुपमा कार्य गरिरहेका छन् ।
इजिप्टकी इमान मोस्ताफा, स्वीटजरल्यान्डकी एलिजाबेथ क्याप्लर, श्रीलंकाकी हिमाली अरुणातिलका पनि महिला कुटनीतिज्ञ हुन् ।
नेपालका लागि अष्ट्रिया, कोलम्बिया, इस्टोनिया, इन्डोनेसिया, केन्या, कीर्गिस्तान, न्यूजिल्यान्ड, सोमालिया, दक्षिण अफ्रिका, युगान्डा, भेनेजुएला, यमन, जाम्बियाका गैरआवसिय राजदूतहरुमा पनि महिला छन् । नेपालका लागि राष्ट्रसंघको आवासिय राजदूतमा न्यान्ती सारा छिन् । उनी राष्ट्रसंघको लागि नेपाली संयोजक हुन् । काठमाडौंस्थित राष्ट्रसंघिय नियोगका अधिकांश प्रमुख र प्रतिनिधिमा पनि महिला छन् । उनीहरुले नेपाल सरकार, जनप्रतिनिधि र समुदायसँग संयोजकको रुपमा कार्य गरिरहेका छन् ।
अघिल्लो पटक अमेरिकाले नेपालमा अलैना बी टेप्लीज, न्यान्सी पावेल लगायतका कुटनीतिज्ञलाई राजदूत बनाएर पठाएको थियो । सन् १९६६ मा अमेरिकी राजदूतको रुपमा नेपाल आएकी क्यारोल सि लेस नेपाल आउने पहिलो अमेरिकी महिला राजदूत थिइन् । सातवर्षसम्म काठमाडौंमा राजदूतको रुपमा रहिसकेकी लेसले नेपालमै विहे समेत गरेकी थिइन् ।
अमेरिका मिसनको लागि टेप्लीज राजदूत भएर काठमाडौं आउने वित्तिकै चीनले पनि २० औं राजदूतको रुपमा यु होङलाई राजदूतको रुपमा पठायो । होङ केही समयमै फर्किएपछि होउ यान्छी काठमाडौंमा आएकी थिइन् । उनको चुनौतिको रुपमा चीनसँगको नेपाल सम्बन्धलाई ट्रयाकमा ल्याउनु थियो ।
यसअघि पनि युरोपेली युनियन, ब्राजिल, राष्ट्रसंघिय नियोग, बंगालदेश लगायतले महिलालाई नै दूत बनाएर पठाएका थिए ।
नेपालका लागि विभिन्न मुलुकमा चार नेपाली महिला राजदूत छन् । जसमा इजरायलका लागि अन्जान शाक्य, जापानमा प्रतिभा राणा, ओमानमा शर्मिला पराजुली ढकाल र स्पेन दावा फुटी शेर्पा छन् । नेपालको पहिलो राजदूत बिन्दा शाह हुन् । उनी परराष्ट्र सेवाकै थिइन् । उनले छिमेकी मुलुक भारतका लागि राजदूत बन्ने अवसर पाएकी थिइन् ।