अकोरावको साधारणसभा स्थगित, अधिकांश पदाधिकारीकाे विराेध
काठमाडौं । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव)को आज फागुन २५ गतेका लागि तय भएको सातौं अधिवेशन तथा १५ औं साधारणसभा अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
अकोरावले गएराति अबेर विज्ञप्ति जारी गरी अधिवेशन तथा साधारणसभा र निर्वाचनका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।
‘कार्यक्रमको पूर्वसन्ध्यामा केहि व्यक्तिहरु हाम्रो कार्यालयमा आएर पदाधिकारीलाई धम्क्याएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशनमा सहभागी हुने आधिकारिक प्रतिनिधिको विषयमा सुरु भएको विवाद उत्कर्षमा पुगेको र असुरक्षाको वातावरण उत्पन्न भएकाले भोलिका लागि तय भएको कार्यक्रम सन्चालन गर्न असमर्थ छौं ।’
अर्कोतिर संस्थाका अन्य पदाधिकारी, निवर्तमान अध्यक्ष, सल्लाहकार, प्रदेश संयोजक तथा विज्ञ सदस्यहरुले संयुक्त वक्तब्य जारी गरी तोकिएकै मिति र समयमा अधिवेशन हुनृ दावी गरेका छन् ।
‘देशभरबाट सामुदायिक रेडियोका प्रतिनिधिहरु काठमाडौं आइसकेको अवस्थामा मध्यरातमा अध्यक्ष र महासचिव मिलेर कपोकल्पित र भ्रामक कारण देखाई अधिवेशन रोक्ने दुस्प्रयास कुनै पनि हालतमा लोकतान्कि समाजका लागि सह्य हुन सक्दैन,’ वक्तव्यमा निएको छ, ‘संस्थाको प्रतिष्ठामा आँच आउने गरी भएको यस प्रकारको अवैधानिक क्रियाकलाप कुनै हातलमा स्वीकार्य हुन सक्दैन ।’
विज्ञप्तिमा सबै प्रतिनिधिहरुलाई निर्धारित समयमै अधिवेशनको नियमित कार्यक्रम सुरु हुनेभएकाले भ्रममा नपर्न भनिएको छ ।
निवर्तमान अध्यक्ष मोहन चापागाईं, सल्लाहकार किशोरजंग थापा, वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, उपाध्यक्ष निमेश कर्ण र भूवन सिंह, सचिव बन्दना दनुवार, लेखा संयोजक भूमिराज चापागाईं, विज्ञ सदस्यद्वय रमेश जोशी र सरोज पौडे, प्रदेश अध्यक्षहरु केपी घिमिरे (लुम्बिनी), अशोक दत्त (प्रदेश २) र दीर्धराज उपाध्याय (सुदूरपश्चिम)ले विज्ञप्ति जारी गरेका हुन् ।