डा. भट्टराईको टिप्पणीः ओलीले अरुको शिकारमा घाँस हाल्दैछन्
काठमाडौं । सरकारमा जाने विषयलाई लिएर जनता समाजवादी पार्टीभित्र अन्तरद्वन्द्व सुरु भएका बेला सो पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग मिल्न नसकिने अभिव्यक्ति दिएका छन् । ‘जो जे पनि खान उद्यत बनेको’ भन्दै उनले आफ्नै पार्टीका नेतामाथि घुमाउरो कटाक्ष पनि गरेका छन् ।
ट्विटरमार्फत डा. भट्टराईको अडान सार्वजनिक भएको हो । सर्वोच्चको फैसलापछि केपी ओलीले एक मिनेट पनि सत्तामा बस्न नमिल्ने उनको जिरह छ ।
ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको उनले टिप्पणी गरेका छन् । डा. भट्टराईले लेखेका छन्ः अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ? किन नबुझेको ? डा. भट्टराईले ट्विटमा ‘ओली हटाउँ देश बचाउँ’ ह्यासट्यागसमेत प्रयोग गरेका छन् ।
अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ
— Baburam Bhattarai (@brb1954) March 10, 2021