‘महिला आरक्षण पाएर होइन, पुरुषसँग लडेर यहाँसम्म आएकी हुँ’ – Nepal Press
अन्तर्वार्ता

‘महिला आरक्षण पाएर होइन, पुरुषसँग लडेर यहाँसम्म आएकी हुँ’

नेपाल राष्ट्र बैंकले ६५ वर्षको इतिहासमा पहिलो पटक महिला डेपुटी गभर्नर पाएको छ । इतिहासै रच्दै झापा मूलघर भएकी डा. नीलम ढुंगाना (तिमल्सिना) दुई दिनअघि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त भएकी हुन् ।

२०५४ सालमा सहायक अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेकी नीलम यो स्थानसम्म आइपुग्दा निकै उत्साहित छिन् । आफू महिला भएर भन्दा क्षमताका आधारमा यो पोजिसनमा पुगेको उनी बताउँछिन् ।
ढुंगानासँग गरिएको कुराकानी :

इतिहास रच्दै तपाईं पहिलो पटक डेपुटी गभर्नर हुनुभयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाको डेपुटी गभर्नरका रूपमा नियुक्त हुन पाउँदा अत्यन्त खुशी लागेको छ । वास्तवमा यो ठूलो उपलब्धि हो । एकजना महिला पहिलो पटक नेपालको केन्द्रीय बैंकको उच्च तहमा पुगेकी छु, यसले करोडौं नेपाली महिलालाई पनि प्रोत्साहन मिल्ने अपेक्षा गरेकी छु ।
आफ्नो अनुभव, मिहिनेत र योग्यता भएपछि राज्यले पनि कदर गर्दोरहेछ । सरकारले मेरो कार्य–क्षमताको मूल्याङ्कन गरेर नियुक्त गरेको कुराले खुशी लागेको छ ।

पहिलो पटक राष्ट्र बैंकमा प्रवेश गर्दा यहाँसम्म पुग्न सक्छु भन्ने लागेको थियो ?

निश्चय नै देशको केन्द्रीय बैंकमा आएपछि त्यसको उच्च तहमा पुग्ने अभिलाषा सबैको हुन्छ । र, मेरो पनि थियो । तर, यहाँ नै पुग्छु भन्ने चाहिं त्यो बेलामा सोचेकै थिइनँ । काम गर्दै गएपछि एक दिन पुगिन्छ कि भन्ने खालको सोचाइ चाहिं नभएको होइन ।

तपाईंसँग अन्य १६ जना पुरुष प्रतिस्पर्धी हुनुहुन्थ्यो । यो प्रतिस्पर्धामा आफूलाई कति बलियो पाउनुभएको थियो ?

कार्यकारी निर्देशकको पदमा राष्ट्र बैंकमा १७ जना थियौं । त्यसमा म एक जना मात्र महिला थिएँ । सिनियारिटी वेसिसको आधारमा म पहिलो नम्बरमा हो ।

म सधैं प्रतिस्पर्धामा विश्वास गर्ने मान्छे हुँ । महिला भइकन पनि कहिल्यै आरक्षण सिट खोजिनँ । पुरुषसँग प्रतिस्पर्धा गरेर नै आएँ । म पुरुषलाई उछिनेर नै एक नम्बरमा नाम निकाल्थें । मैले आन्तरिक होस् वा बाह्य दुवै परीक्षामा एकै पटकमा नाम निकाल्न सफल भएकी छु । बरु योपटक चाहिं म चुक्छु कि भन्ने पनि लागेको थियो । किनभने यो आफूले पढेर दिने परीक्षा मात्र थिएन । पढेर दिने हो भने त म एक नम्बरमा नै आउँथें । 

यस्तो सम्बन्ध बनाउनेमा महिलाभन्दा पुरुषको पहुँच फराकिलो हुन्छ । त्यसैले अलि डर लागेको थियो । आफ्नो योग्यता, दक्षता, अनुभव सबै भए पनि कहिलेकाहीं त्यतिले मात्र काम गर्दैन । यसको फिलिङ गराउन सक्नुपर्छ निर्णायकलाई । म त्यसमा पनि सफल भएँ ।

तपाईंको समयमा नेपालमा महिलाले पढ्ने वातावरण नै कम थियो । त्यो बेलामा पनि तपाईंले वाणिज्य विषय रोज्नुभएछ । के कारणले यो विषय छान्नुभएको थियो ?

मैले २०४१ सालमा एसएलसी पास गरेकी हुँ । त्यसवेला छोरीलाई बाहिर पढ्नका लागि पठाउने चलन थिएन । त्यसवेला दमकमा क्याम्पस खुल्यो, जहाँ एउटा मात्र संकाय थियो, कमर्श । त्यसैले म पनि कमर्समै भर्ना भएँ । त्यसबेला मैले आइकममा जिल्ला टप गरेकी हुँ ।

राष्ट्र बैंकको जागिरमा प्रवेश गर्न चाहिं कत्तिको गाह्रो भएको थियो ?

राष्ट्र बैंकमा आउनुभन्दा अगाडि म विराटनगरको एक बोर्डिङ स्कूलमा पढाउँथें । पछि स्नातकोत्तर गरिसकेपछि क्याम्पसमा पनि पढाएँ । मोरङ क्याम्पस र सोही ठाउँको पोष्ट ग्रयाजुएट क्याम्पसमा पढाउँदै गर्दा राष्ट्र बैंकमा जागिर खुल्यो ।

यो त्यस्तै २०५१ सालतिर हो । साथीभाइले राष्ट्र बैंकमा अप्लाइ गर्न सुझाव दिए । मेरो पढाइ पनि राम्रो थियो । नाम निकाल्न सक्छु जस्तो लाग्यो । त्यसवेला राष्ट्र बैंकमा जागिर खानेले काठमाडौं आएर परीक्षा दिनुपथ्र्यो । म पनि काठमाडौं आएँ । तर, त्यसवेला अहिलेकै जस्तो गरी सरकार विघटन भएको थियो । राजनैतिक अस्थिरताको अवस्थाले परीक्षा स्थगित भयो । बालुवाटारको जनशक्ति व्यवस्थापनको अगाडि एउटा रूखमा सूचना टाँसेको रहेछ । त्यही सूचना पढेर म पुनः विराटनगर फर्किएँ ।

त्यसपछि २०५४ सालमा पुनः राष्ट्र बैंकमा जागिर खुल्यो । त्यो बेला चाहिं सहायक अधिकृतमा परीक्षा दिएँ र पास पनि भएँ । मैले अरू धेरै ठाउँमा जागिरका लागि आवेदन दिएकी थिएँ । जस्तो, खाद्य संस्थान, लोकसेवा तर यी ठाउँमा त्यसवेलाको राजनीतिक परिवर्तनले कति संस्थाको परीक्षा स्थगित भयो भने कतिको परीक्षा दिएर रिजल्ट नै प्रकाशित भएन । कतिमा नाम नै निस्किएन । राष्ट्र बैंकमा आउन जुरेको रहेछ । एकै पटकमा नाम निस्कियो ।

तपाईंको पारिवारिक पृष्ठभूमि चाहिं कस्तो खालको हो ?

मेरो बुबा माध्यमिक विद्यालय निरीक्षक हुनुहुन्थ्यो । उहाँको धेरैतिर सरुवा भइरहन्थ्यो । बुबाको जागिर सँगसँगै हामी पनि विभिन्न ठाउँमा जान्थ्यौं । आमा स्कूलको शिक्षिका हुनुहुन्थ्यो ।

आमाले मलाई सानै उमेरबाट स्कूल लैजानुभयो । मैले १४ वर्षको उमेरमा झापाको दमकबाट एसएलसी दिएँ । दुई वर्ष मेरो उमेर बढाएर १६ वर्ष बनाएर एसएलसीको फारम भरेकी हुँ । घरमा आमाबुबा नै शिक्षित भएपछि पढ्ने वातावरण राम्रो थियो । तर, मैले घरको सबै काम गरेर पढेकी हुँ । घरमा भएको गाईलाई घाँस काट्ने, गोबर सोहोर्ने, पिठ्यूँमा बोकेर धान कुट्न जाने, घर लिप्नेलगायतका सबै काम गर्थें । घरको काम भ्याएर एक घण्टाको बाटो हिंडेर म स्कूल पुग्ने गर्थें ।

म घरकी जेठी छोरी । एउटी बहिनी र एउटा भाइ छ । मेरो २०४६ सालमा १९ वर्षको उमेरमा विवाह भयो । म माइतमा सानो परिवारमा हुर्केकी तर, मेरो घरमा ठूलो संयुक्त परिवार थियो । पहिलो चोटि घरका भाँडाकुँडा देखेर तर्सिएकी थिएँ म । पछि म र श्रीमान् विराटनगर आयौं । त्यहीं मैले स्नातकोत्तर गरें । त्यसबीचमा छोरी पनि भइन् । छोरीलाई हुर्काउँदै पढें । यसमा परिवारको ठूलो सहयोग रह्यो ।

स्नातकोत्तरमा समग्रमा दोस्रो स्थान पाएँ र महिलामा गोल्डमेडलिष्ट नै भएँ । त्यसपछि मोरङ क्याम्पसमा पढाउन शुरु गरें । अहिले जो अर्को डेपुटी गभर्नर हुनुहुन्छ उहाँलाई मैले नै पढाएको हो । अहिले हाम्रा एक छोरी र एक छोरा छन् । छोरी अमेरिकामा छिन् । छोरा बूढानीलकण्ठमा ए लेभलमा पढ्दैछन् ।

महिलाले घरधन्दामा नै बढी समय व्यतित गर्दै व्यावसायिक जीवनलाई अगाडि बढाउनुपर्ने हुन्छ । आजको सफलता पाउन तपाईंले यी दुवै पक्षलाई कसरी समायोजन गर्नुभयो ?

आज मैले जुन सफलता हासिल गरेकी छु त्यसमा सबैभन्दा मुख्य भूमिका मेरो श्रीमान्को छ । अहिले पनि तपाईं आफैंले देख्नुभयो नि, आएर सहयोग गरेरै बाहिर निस्कनुभयो । उहाँ अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सरस्वती क्याम्पसमा प्रोफेसर हुनुहुन्छ ।

विराटनगरमा पनि हामीले सँगै पढाएका हौं । उहाँमा म पुरुष हुँ, मैले घरको काम गर्नुहुँदैन भन्ने भावना छैन । घरको काम हामी दुबै जना मिलेर गर्ने गर्छौं । मलाई घरबाहिर निस्कन उहाँले नै प्रेरित गर्नुभएको हो । बाँकी मेरो मिहिनेत नै हो । अध्ययन, अनुसन्धान र निरन्तर कामको प्रतिफल हो ।

म पढाइमा अत्यन्त मिहिनेत गर्ने मान्छे हुँ । म रातभरि मिहिनेत गरेर पढ्थें । बिहान–दिउँसो अफिस, घर दुवै हेर्थें । काम गर्दै पढ्दै गर्ने बानीले पनि आज मलाई यस ठाउँमा पुर्याएको हो । यसमा मेरो घर–परिवार र श्रीमान्को भूमिका अत्यन्त धेरै छ । उहाँहरूको सहयोग विना शायद म यहाँसम्म आउन सक्दिनथें होला । अष्ट्रेलियाबाट स्नातकोत्तर गरेकी छु । र, भारतबाट व्यवस्थापनमा पीएचडी गरेकी हुँ ।

एउटा महिलालाई अगाडि बढ्नलाई पुरुषको सहयोग अपरिहार्य छ ?

घरको सहयोग भयो भने एउटा महिलाले जस्तोसुकै कठिन चुनौती पनि पार लगाउन सक्छिन् । घरको सहयोगी वातावरण भएन भने महिला घरबाहिर निस्कन नै सक्दिनन् । यदि घरमा सहज वातावरण नभएमा तनावको वातावरण भएमा आफूसँग क्षमता भएर पनि काम गर्न सकिंदैन । बाहिर जुनसुकै क्षेत्रमा काम गर्ने मानिस पुरुष होस् वा महिला, आफूसँग भएको पीडालाई घरमा बिसाउन सक्ने वातावरण चाहिन्छ । मेरो श्रीमान्ले मलाई सहयोग मात्र होइन, सुझाव पनि दिनुहुन्छ ।

बैंकिङ क्षेत्रमा महिलाको स्थिति कस्तो रहेको छ ? कतिको गाह्रो हुन्छ काम गर्न ?

बैंकिङ क्षेत्रमा महिलाको स्थिति सुधारिंदै गएको छ । पहिला मैले काम शुरू गर्दा औंलामा गन्न मिल्ने गरी महिलाको उपस्थिति थियो । अहिले त्यस्तो छैन । दक्ष महिला आरक्षण र खुला प्रतिस्पर्धाबाट बैंकिङ क्षेत्रमा आउनुभएको छ । काम पनि राम्रो गर्नुभएको छ । भोलिका दिनमा धेरै महिला बैंकिङ क्षेत्रको उच्च ओहोदामा पुग्ने संभावना देखिरहेकी छु ।

नेपालमा अहिलेसम्म कोही पनि महिला राष्ट्र बैंकको गभर्नर बन्न सकेको छैन । पहिलो महिला गभर्नरका रूपमा तपाईंलाई देख्न पाइएला त ?

अहिले चाहिं तत्काल मैले यस विषयमा केही सोचेको छैन । अहिले मैले आफ्नो जिम्मेवारीमा नै ध्यान केन्द्रित गर्नुपर्छ । र, प्रभावकारी ढंगले कुशलतापूर्वक काम गर्नेतिर नै मेरो ध्यान जानेछ ।

काम गर्दै गएपछि आफैं आधारहरू बन्दै जान्छन् । तर, पक्कै पनि डेपुटी गभर्नरमा आइसकेपछि भोलि गभर्नर बन्न सकिंदैन भन्ने होइन । डेपुटी गभर्नर नै गभर्नरको योग्य उम्मेद्वार हुन सक्छ । त्यसबाट भएन भने मात्र अन्य क्षेत्रबाट गभर्नर बनाउने हो । अहिले म वरिष्ठ डेपुटी गभर्नर भएकाले त्यसको सम्भावना पनि रहन्छ । गभर्नरमा प्रतिस्पर्धाको दायरा फराकिलो हुने गर्छ । त्यसैले सम्भावना छैन भन्न मिल्दैन, छ । तर, यस सोचाइमा म गइसकेकी छैन ।

प्रधानमन्त्रीको गृहजिल्लाकै व्यक्ति भएकाले तपाईंको नियुक्तिमा केहीले आशंका पनि गरेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

मानिसले कसै गर्दा पनि धर दिंदैनन् । जति राम्रो काम गर्नुस् एउटा न एउटा खोट निकालिहाल्छन् । रामायणमा सीतालाई त कसै गर्दा धर दिएनन् भने हामी त मान्छे । अनेकले अनेक कुरा गर्छन् ।

म कसले के भन्छ भन्ने होइन, आफूले के काम गरेकी छु त्यसको मात्र मूल्याङ्कन गर्छु । यो मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले राजनीतिक नियुक्ति पनि हो । १७ जना प्रतिस्पर्धी थियौं । गभर्नरले आफ्ना कार्यकारी निर्देशकको योग्यता, दक्षता, सीप, कार्यशैली, क्षमता, अनुभव, उमेर सबै कुराको मूल्याङ्कन गरेर अर्थ मन्त्रालयमा चार जनाको नाम सिफारिस गर्नुहुन्छ । त्यसपछि मात्र मन्त्रिपरिषद्ले निर्णय गर्छ ।

चार जनामध्ये पक्कै पनि मेरो योग्यताकै कारण गभर्नरले नाम सिफारिस गर्नुभएको होला । यसमा महिला भएकै कारणले वा प्रधानमन्त्रीको गृहजिल्लाको भएर डेपुटी गभर्नर भएको भन्नुहुँदैन ।

डेपुटी गभर्नर नियुक्त भएपछि कति खुशी लाग्यो ?

शुरुमा खबर पाउँदा म एकछिन त अक्क न बक्क भएँ । सास नै रोकिएजस्तो भो । वास्तवमा निकै खुशी भएँ । आफ्नो मिहिनेतले पाएको सफलतामा को खुशी हुँदैन र ?

अब डेपुटी गभर्नरका रूपमा आफूलाई प्रमाणित गर्न तपाईंका अगाडि के–कस्ता चुनौती देख्नुभएको छ ? र, भावी योजना के–के छन् ?

नेपाल राष्ट्र बैंकको उद्देश्यअनुरूप नै मैले काम गर्नुपर्ने हुन्छ । यसमा वित्तीय स्थायित्व र सुशासन कायम गर्ने कुरा, वित्तीय समावेशीकरणको कुरा, वित्तीय पहुँच बढाउने, स्वस्थ, सक्षम, सुरक्षित भुक्तानी बढाउने कुराहरू छन् । यस्तै, बैंकिङ क्षेत्रमा डिजिटलाइजेशनलाई अगाडि बढाउने, अन्य वित्तीय संस्थाहरूको समन्वय, सरकारसँगको समन्वय, हाम्रो आफ्नै आन्तरिक अडिट कन्ट्रोल प्रभावकारी बनाउने, मानव संसाधन व्यवस्थापनलगायतका विभिन्न वित्तीय क्षेत्रका कुरामा आफ्नो ध्यान केन्द्रित गर्नेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर