कोही ललिपप बनाउँदै, कोही ड्राइभिङ सेन्टर चलाउँदै
सरकारी नीतिप्रति महिला उद्यमी आभार
काठमाडौं । इलामकी दीपा गुरुङले २०६९ सालदेखि ‘ग्रीनसिटी इलाम ललिपप्’ उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योग संचालन गर्नुअघि उनी अरूकै ललिपप् उद्योगमा काम गर्थिन् । त्यहींबाट सिकेको सीपले उनलाई उद्यमीको बाटोमा डोर्यायो ।
भन्छिन्, ‘एक वर्ष अरूको उद्योगमा काम गर्दा कसरी ललिपप् बनाउने भनेर सिकें र पछि आफैंले उद्योग स्थापना गरें । उद्योग स्थापना समयमा अलि डर लागेको थियो । तर, विस्तारै मेरो उद्योगबाट उत्पादित ललिपप्ले बजार लिन थाल्यो । पछि त, उद्योग संचालन गर्न धेरै सजिलो भयो ।’
उनको अनुभवमा पहिलाभन्दा अहिले महिलाले उद्योग सञ्चालन गर्न सजिलो छ । उनले ५ लाख रुपैयाँ लगानीमा ६ जना कर्मचारी राखेर उद्योग शुरू गरेकी थिइन् । अहिले लगानी बढाएर ३५ लाख रुपैयाँ पुर्याएकी छिन् । उनको उद्योगमा अहिले ४० जनाले रोजगारी पाएका छन् ।
गुरुङ भन्छिन्– काम शुरू गर्दा धेरै कठिनाइ भए पनि अहिले सबैले ‘सफल उद्यमी’ भन्दा खुशी लाग्छ । आज सबैले ‘राम्रो गरिस्’ भन्ने गरेका छन् ।
आफैंले काम गर्न खोज्दा सहयोग नगर्नेहरू पनि अहिले ‘नयाँ उद्योग खोल्नका लागि के–के गर्नुपर्छ’ भनेर जानकारी लिन आउने गरेको उनी बताउँछिन् ।
०००
काभ्रेकी लक्ष्मी थापा मगर पनि ‘सफल महिला उद्यमी’को रूपमा परिचित छिन् । ड्राइभिङ सेन्टर र होटल सञ्चालन गरेकी लक्ष्मीले सेन्टर सञ्चालन गर्न खोज्दा ‘समाजमा महिलाले ड्राइभिङ सेन्टर चलाउँदा बिग्रिन्छन्’ भन्ने गरेका थिए । तर, अहिले उनी अरूका लागि आदर्श पात्र बन्न पुगेकी छन् ।
१३ वर्षअघि ५ लाख रुपैयाँमा शुरू गरेको ड्राइभिङ सेन्टरबाट करीब ३० हजारले ड्राइभिङ सिकिसकेका छन् । उनको ड्राइभिङ सेन्टरमा २० जनाले रोजगारी पाएका छन् भने राम्रो मुनाफा समेत कमाएकी छन् ।
ड्राइभिङ सेन्टर शुरू गरेको तीन वर्षपछि उनले होटलमा पनि हात हालिन् । ३ लाख रुपैयाँको लगानीमा होटल सञ्चालन गर्दा उनले पाँच जनालाई रोजगारी दिएको तर कोरोनाको समयमा होटल बन्द भएकोले आफू समस्यामा परेको उनले बताइन् ।
उनी भन्छिन्, ‘महिलाले काम शुरू गर्दा राम्रो हुँदैन भन्ने गरेका छन् । तर काम गर्दा सफल भएपछि राम्रो गरिस् भन्नेहरूको कमी हुने रहेनछ । मैले व्यवसाय शुरू गर्दा छोरी बिग्रन लागि भनेर घरकाले भन्ने गर्थे । र, ड्राइभिङ सेन्टरमा नै आए । केटाहरूले जिस्काउने पनि गरेका थिए । अहिले जिस्काउनेहरू पनि राम्रो कमाइ गरेको देखेर दंग परेका छन् ।’
उनको बुझाइमा महिलालाई काम शुरू गर्न अझै पनि गाउँ, घर र समाज नै बाधक रहेको छ ।
०००
रूपा श्रेष्ठले समूहमा मिलेर पधमी उद्योग प्रशिक्षण केन्द्र र पाथीभारा घरेलु प्रशिक्षण केन्द्र सञ्चालन गरेकी छिन् । शुरूमा पधमी उद्योग प्रशिक्षण केन्द्र ७ जना महिलाले ९० हजार लगानी गरेर सञ्चालनमा ल्याएको उनले बताइन् । केन्द्रले सिटीईभीटीबाट प्रशिक्षणको प्याकेज ल्याएर प्रशिक्षण दिने गरेको श्रेष्ठले बताइन् ।
पाथीभारा घरेलु प्रशिक्षण केन्द्रमा तीन जनाको समूहले ५० हजार लगानी गरेर अचार र झोलालगायतको वस्तु उत्पादन शुरू गरेको उनले बताइन् । उनको समूहले १० वर्षअघि शुरु गरेको उद्योगमा ३० जनाले रोजगार पाएका छन् ।
उनको समूहले ‘बजार कोसेली घर’ पनि सञ्चालनमा ल्याएको छ ।
०००
एसएलसी दिएपछि भक्तपुरकी सबिका त्वानाबासुले परिवारले चलाइरहेको हार्डवेयर व्यवसायलाई नै निरन्तरता दिने सोच बनाइन् । उनको पूरै परिवार व्यवसायी थियो । परिवारमा केही काम गरेन भने मान्छे बिग्रिन्छ भन्ने प्रचलनै रहेको सबिका बताउँछिन् ।
१३ वर्षअघि ३ लाख रुपैयाँमा हार्डवेयर शुरू गरेकी त्वानाबासुले अहिले करोडौंको बनाएकी छन् ।
उनी भन्छिन्, ‘बजारमा सफल व्यवसायी हुन ठूलै संघर्ष र कामलाई निरन्तरता दिनुपर्छ । म एकल महिला हुँ । मैले बजारमा अन्य हार्डवेयरले भन्दा धेरै गरेकी छु तर पनि मलाई स्थान दिइँदैन । शायद एकल महिला भएर हुनसक्छ । समाजमा एकल महिलालाई हेर्ने परिपाटी नै नकारात्मक रहेको छ ।’
अहिले उनले पाँच जनालाई रोजगारी दिएकी छिन् । बैंकले महिला र पुरुष व्यवसायीलाई समान व्याज लिन नहुने उनको तर्क छ । यही कारणले पनि महिलाहरू उद्योग वा व्यवसायको क्षेत्रमा आउन नसकेको उनको बुझाइ छ ।
नेपाल ल क्याम्पसमा एलएलबी दोस्रो वर्षमा अध्ययन गरिरहेकी उनी कानूनकी विद्यार्थी समेत हुन् ।
यससँगै पछिल्लो समय नेपालमा उद्योग सञ्चालन गर्ने महिलाको संख्या बढेको छ । राज्यले महिलाको नाममा उद्योग, कम्पनी दर्ता गर्दा छुट दिने व्यवस्था गरेका कारण पनि महिला उद्यमी बढेका हुन् । विभिन्न बैंकले महिला उद्यमीका लागि १५ लाख रुपैयाँसम्म बिना धितो ऋणको व्यवस्था गरिएको छ । कम्पनी र उद्योग नवीकरणमा समेत सरकारले छुट दिइरहेको छ ।
नेपाल महिला उद्यमी महासंघका अनुसार अहिले देशमा साना, मझौला तथा ठूला गरी चार हजार महिला उद्यमी छन् ।