लगातार शेयर ओरालोतर्फ, लगानीकर्ता ‘पर्ख र हेर’को स्थितिमा
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५१.२३ अंकले घटेर २४०७.२६ विन्दुमा कारोबार बन्द भएको छ ।
त्यस्तै क बर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १०.१० अंकले घटेको छ ।
यस्तै आज भएको २११ कम्पनीको कारोबारमा ९९ लाख ३ हजार ७०४ कित्ताको किनबेच भएको छ । यसमा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
लामो समयदेखि बढेको शेयर कारोबार केही समयदेखि लगातार घटेको छ । देशको परिवर्तित राजनीति परिघटनाले शेयर ओरालो लागेको बताउँछन् सरोकारवाला । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको लगानीकर्ता उत्तम शर्मा बताउँछन् ।
आज अपर तामाकोसीको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । तामाकोसीको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरि नेपाल इन्फ्रास्ट्रकचर बैंकको कारोबार २७ करोड रुपैयाँ बराबरको भएको छ ।
नविल बैंकको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज चन्द्रागिरि हिल्सको शेयर मूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ । यसैगरी अपर तामाकोसीको शेयर मूल्य ९ प्रतिशतले नै बढेको छ ।