सप्तकोशीमा जेटबोट चलाउने कि ‘साँस्कृतिक ढुंगो’ जोगाउने ? – Nepal Press

सप्तकोशीमा जेटबोट चलाउने कि ‘साँस्कृतिक ढुंगो’ जोगाउने ?

खुवालुङ मासिने भन्दै किराँत समुदाय आक्रोशित

विराटनगर । तमोर, अरुण र दूधकोशीको संगमस्थलमा नदी भित्रको भागमा एउटा ठूलो ढुंगो छ । उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्ने यही ढुंगो रहेको स्थान किराँत समुदायको साँस्कृतिकस्थल खुवालुङ हो, जसको अहिले निकै चर्चा छ । चर्चाको कारण हो, उक्त ढुंगो फुटाउने कि नफुटाउने भन्ने विवाद ।

२०७७ साल फागुन ८ गते विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोशीमा जेटबोट चलाउनेबारे लामो भाषण गरे । भाषणमा उनले जेटबोट चलाउने आफ्नो योजनामा तगारो बनेको सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए । त्यसपछि किराँती समुदायले निरन्तर प्रधानमन्त्रीको उक्त योजनाको विरोध गर्दै आएका छन् ।

किराँती समुदायले ‘खुवालुङ’ आफ्नो आस्थाको केन्द्र भएकाले भत्काउन नमिल्ने बताउँदै आएको छ ।

यहीबीचमा अभियन्ता तथा संस्कृतिकर्मीहरूले ‘खुवालुङ बँचाउ आन्दोलन’ शुरू गरेका छन् । उनीहरुले फागुन २४ गते कोशी चतरा पुलमा खुवालुङ क्षेत्र संरक्षण समिति, बृहत् नागरिक आन्दोलन तथा आदिवासी जनजाति साहित्यकार महासंघसहितको संयुक्त मोर्चाले प्रदर्शन गर्यो ।

सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोशी नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो पर्दछ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।

खुवालुङ संरक्षण संघर्ष समितिका संयोजक बलाराम राईले राज्य तहबाट इतिहास र आस्था बोकेका कुरा संरक्षण गर्नुपर्नेमा उल्टै मास्ने काममा अग्रसर हुने बिषय कुनै पनि हालतमा किँराती समुदायले स्विकार्न नसक्ने बताए ।

उनले आफूहरु विकास विरोधी नभएको भन्दै सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका खुवालुङ जस्ता प्रतिकात्मक वस्तुहरूको संरक्षण गर्ने जिम्मेवारी राज्यको भएको पनि बताए । राईका अनुसार धनकुटा र भोजपुर– अरुण, तमोर र दूधकोशीको संगमस्थल नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो हटाउने भन्दै त्यसको विकल्प खोज्नुपर्ने बताए ।

‘नदी किनाराको आसपासको क्षेत्रलाई फराकिलो बनाएर लानसक्ने प्रशस्त क्षेत्र छन्’ संयोजक राईले भने, ‘यतिका धेरै प्रशस्त उपाय हुँदाहुँदै ढुंगा हटाउने योजनामा सरकार लाग्नु बेठीक हुनेछ ।’

संयोजक राईका अनुसार करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ । नदीको आसापासको किनारक्षेत्रबाट नदीको बहाव क्षेत्रलाई विस्तार गरेर लगेको खण्डमा सो ढुंगो सुरक्षित हुनेछ ।

ढुंगोको इतिहास

मुन्धुम अध्येता सालिक सतासतका अनुसार किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो । जसबाट खुवालुङ भनेको पानीमा गाडिएको ढुंगा भन्ने बुझिन्छ ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे प्रष्ट उल्लेख गरिएको उनी दावी गर्छन् ।

सतासतले किराँत समुदायले कुनै कार्य (अनुष्ठान) शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ ।

विगतका मिथ्र्य, परम्पारको प्रचलनका ऐतिहासिक पाटोका आधारमा खुवालुङ किराँतीहरुको मुन्धुमिक शक्तिकेन्द्र हो । मुन्धुमअनुसार नै किराँतीको पुर्खा खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको उनले बताए ।

किराँत राईका आदिम पुर्खा मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किराँत) माइला र रिब्लबुङ (थारू) कान्छासहित तीन भाइ थिए । उनीहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा ढोका बन्द थियो । मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेपछि उनी पार गरे ।

यता माइला भाइ हर्कबुङले ढोका पार गर्न सकेनन् । उनले पनि सँगै रहेकी चेलीको कान्छी औंला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गरे । कान्छा रिब्लबुङले भने नदी पार गर्न र दाइहरू गएको बाटो पत्ता लगाउन सकेनन् । त्यसपछि उनी तराईतिर फर्किएर बसोबास गरेको कथन छ ।

जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दूधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास गरिन्छ ।

कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा र दुङमाली भए । अरुण नदी पछ्याउँदै संखुवासभा क्षेत्रमा बसोबास गर्नेहरू कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका तमोर पहिल्याउँदै त्यसैको

आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने जनविश्वास छ ।

यसरी आफूहरूका पुर्खाले मान्दै आएको खुवालुङ सांस्कृतिक सिमानाका रूपमा रहँदै आएको अध्येता सतासतको भनाइ छ ।

मुन्धुम अध्येता सतासतका अनुसार खुवालुङसंग जोडिएका धेरै धार्मिक एव सांस्कृतिक पाटो छन् । भारतका प्रशिद्ध लेखक जिकेसेनले हिस्ट्रि अफ नेपाल भन्ने पुस्तकमा खुवालुङ धार्मिक र सांस्कृतिक पक्षका बारेमा धेरै कुरा समेटेको छन् ।

उनले आफ्नो पुस्तकका किराँत समुदायको धार्मिक र साँस्कृतिक स्थलका रुपमा खुवालुङ चित्रण गरेका छन् । त्यसैगरी बराह क्षेत्रमा पिएचडी गर्ने सोम खतिवडाले पनि आफनो शोधपत्रमा किराँतीहरुको विषेश क्षेत्रका रुपमा खुवालुङ लिइने कुरालाई समावेश गरेका छन् ।

सप्तकोशीमा जल यातायात विकास समस्यै समस्या

सप्तकोशी नदीमा केही वर्ष यतादेखि जलयातायात सञ्चालन हँुदै आएको छ । मोटरबोट मार्फत् चतराबाट उत्तरी क्षेत्रको भोजपुर, धनकुटा र उदयपुरका दक्षिणी भेगसम्म जल यातायात सञ्चालन भएपछि त्यस भेगका स्थानीयलाई सुनसरी र मोरङसंगको यातायातको दूरी छोटिएको छ ।

योसँगै बराहक्षेत्रको जान र घुम्नका लागि पनि मोटरबोट सञ्चालनसँगै निकै सहज भएको छ । तर साना आकारका मोटरबोट सञ्चालन हँुदै आए पनि उदयपुर, धनकुटा र भोजपुरको सीमानामा नदीको बीच भागमा रहेको ठूलो ढुंगोका कारण जल यातायत सञ्चालनमा समस्या हँुदै आएको थियो ।

नदीको बीचमा रहेकाले यसमा पानीजहाज ठोक्किने सम्भावना देखाउँदै खुवालुङ भत्काउने सरकारको योजना छ । यद्यपि त्यो भत्काउँदैमा समस्या हल हुने स्थिति नभएको बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा समितिका अध्यक्ष विमल श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *