गुफाबजारका दुःख- सुक्दै पोखरी, धारामै पुग्दैन पानी
इटहरी । २ हजार ८ सय ९० मिटर उचाईमा टुसुक्क बसेको छ, गुफाबजार । संखुवासभाको प्रसिद्ध गुफापोखरी किनारको बजार हो, गुफाबजार । एक आकर्षक हिल स्टेसनमा हुनुपर्ने सबै कुरा छ, गुफाबजारमा ।
जस्तो उत्तरतर्फ हेर्दा मकालु हिमालसँगै मकालु शृङ्खलाको दृष्य छ । पूर्वोत्तर हेर्दा कुम्भकर्णदेखि कञ्चनजंगा हिमालहरूको लस्कर । दक्षिणतर्फको सीमामै रहेको तेह्रथुमका पहाडी जङ्गल र गाँउबस्तीहरूको चित्ताकर्षक चित्र गुफाबजारबाटै देखिन्छ ।
गुराँसको राजधानी भनिने तीनजुरे मिल्के जलजलेको एक बिसौनी गुफाबजार ताप्लेजुङको दोभान भएर सुनसरीको चतरासम्म र्याफ्टिङ गर्ने विदेशीहरूको ट्रान्जिट पनि हो ।
तेह्रथुम संखुवासभा र ताप्लेजुङको त्रिजिल्ले बिन्दु मेन्छ्यायेम डाँडा छेवैमा भएको गुफाबजारकै वरिपरी छन् मिल्के डाँडा र लामपोखरी जस्ता संखुवासभाका पर्यटकीय चुम्बकहरू ।
प्राकृतिक सुन्दरताका थुप्रै कुरा भएको पहाडी शीरमा रहेको गुफाबजारमा नभएको कुरा पानी हो । दैनिक सयौं आगन्तुक आउने गुफाबजारका होटल व्यवसायीहरूलाई तनाव भएको कुरा पनि पानी नै हो । केही समय अगाडि गुफाबजारमा नेपाल प्रेससँग गफिएकी खनाल होटलकी सञ्चालिका हिमा खनालले भनिन, ‘यहाँको मुख्य समस्या भनेको पानी हो ।’
१४ घर भएको गुफा बजारका आधा घरमा होटल व्यवसाय छ । होटलमा आवश्यक पानी भने बजारमा छैन । धुजापाते भन्ने ठाँउको मुहानबाट आएको पानी बजारमा निरन्तर आउँछ । तर, एक घरले एक घण्टा मात्रै पानी थाप्न पाउने भएकोले पानीको लाइन लाग्नुपर्छ ।
‘पानी निरन्तर आउँछ तर सबै घरलाई सहज पानी पुग्दैन,’ गुफाबजारको सबैभन्दा पुरानो होटलकी सदस्य खनालले भनिन्, ‘थप पानी ल्याउन सके धेरै सजिलो हुने थियो ।’
साविक ननढाकी गाविस हुँदाकै मुहानको पानी अहिलेसम्म प्रयोग गरेको खनालले बताइन् । उनले भनिन्, ‘चैनपुर नगरपालिका–१ भएपछि त केही होला भनेको त्यो पनि भएन ।’
गुफाबजारसँगै जोडिएको २ हजार ९ सय १० मिटर उचाईको सुकेबजारको समस्या उस्तै छ । ४ वटा होटलहरू र केही आवासीय घर भएको सुकेबजारस्थित हिमाली होटलकी सञ्चालिका डेङ्गा शेर्पा पानीको समस्या सबैको समस्या भएको सुनाउँछिन् ।
नेपाल प्रेससँग बोल्दै शेर्पाले भनिन्, ‘प्रकृति राम्रो छ । ठाँउ पनि राम्रो छ । मान्छे धेरै आउँछन् । पानी भने समस्या छ ।’
सुक्दै छ गुफापोखरीको पानी
गुफाबजारको मुख्य आकर्षण हो, गुफापोखरी ।
खुल्ला आकाश हुँदा मकालु हिमालको आकृति पौडी खेल्ने पोखरी प्रदेश–१ का धेरै घुमन्ते को रोजाइमा पर्छ । गुफाबजार चिनाउने यही पोखरीको पानी सुक्दैछ । प्राविधिक रुपमा पोखरीमा कति पानी सुक्यो भन्ने कुनै अभिलेख छैन । तर, स्थानीयहरूको अनुभवमा देखिने गरी पानी सुकेको छ ।
गुफाबजारमै जन्मिएकी खनाल हरेक वर्ष पानीको तह घटेको बताउँछिन् । ‘केही वर्षअघिसम्म पोखरीमा टम्म पानी भरिएर पोखिन्थ्यो । अहिले पोखरी भरिन त अर्को कुरा, भएको पानी पनि घट्दैछ’, खनाल दुखेसो गर्छिन् ।
५ सय ६५ मिटिरको परिधि भएको पोखरीको पानी २०५७ साल आसपासबाट घट्न थालेको खनाल बताउँछिन् ।
गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक समेत रहेकी खनाल भन्छिन्, ‘आइयुसिएन भन्ने संस्थाले पोखरीलाई कंक्रिटको पर्खाल लाएपछि पानी सुक्न थाल्यो ।’
कंक्रिटको तारजाली लाएर सुक्न थालेको पोखरीको पानी सडक खन्न थालिएपछि झनै सकेको खनाल बताउँछिन् । सडक खन्ने भारी मेसिन सञ्चालन भएपछि पानीको तह झनै घटेको उनी बताउँछिन् । ‘प्राविधिक अध्ययन नगरी, पोखरीको चासो नगरी सडक खनियो जसले पोखरीका दुई मुहानमा एक मुहान सुक्यो’, खनाल भन्छिन्, ‘हामीले धेरै आवाज उठाँउदा पनि सुनुवाइ भएन ।’
गुफाबजारको पहिचान गुफापोखरी सुक्ने तनावमा छन् सकेबजारका युवा सन्तोस लिम्बु । आफूहरूले पोखरीभन्दा धेरै परबाट सडक लान माग गर्दागर्दै जबरजस्त गरिएको लिम्बुको दुःखेसो छ । ‘हामीले धेरैपटक आवाज उठायौँ तर सुनुवाइ भएन’, लिम्बु प्रश्न गर्छन्, ‘गुफापोखरीनै रहेन भने हाम्रो क्षेत्रको के अर्थ होला र?’
डोज़रे विकासको मात्रै पछि लागे पछि यस्तै हुन्छ ! मौलिक ठाउँहरुमा हाम्रो आफ्नै परम्परागत प्रविधि प्रयोग गरेर पनि बाटो घाटो , बाँध तटबन्ध बनाउन सकिन्छ होला। प्रकृतिलाई नखल्वल्याई ! तुलनात्मक रुपमा अलि समय लाग्ने र महँगो चाही हुन्छ होला। विचार पुर्याउनु पर्यो ! प्रकृति नै विनाश भएपछि हामी मानवको नाश हुने भैहाल्यो !