तरबुजामा रोग लागेपछि किसानका चिन्ता- यो साल कसरी बाँच्ने !
जनकपुरधाम । धनुषा-सिरहा जोड्ने विशाल नदी छ- कमला । यहाँका बगरमा हजारौं किसान निर्भर छन् । उनीहरू वर्षेनी करोडौंको तरबुजा, खिरा तथा अन्य तरकारी उब्जाउँछन् ।
यसवर्ष भने तरबुजामा रोग लाग्यो, नीलगाईको आतंक फैलियो । यसकारण किसानहरू खुलेर हास्न सकेका छैनन् । कमला नगरपालिका–४ बरेरबाका ४५ वर्षीय विजुलिया मुखियाले करीब १२ कट्ठा बगरमा तरबुजा रोपे । तर, फल दिने बेलामा रोग देखापर्यो, उनको मन खिन्न बन्यो ।
उनले ३५ हजार भन्दा बढी लगानी गरेका छन् तरबुजामा । पानी नपरेपछि रोग लाग्यो, विरुवा सुक्न थाल्यो । एक सातायता विरुवामा औषधि छर्किरहेका छन्, उनी । तर, औषधिले रोग मारेको छैन ।
‘रोगले विरुवा सुक्न थालेपछि सदरमुकाम पुगें । डाक्टरसँग सल्लाह गरेँ । डाक्टरले ‘लरका’ रोग लागेको भने । ३ हजारको औषधि पनि ल्याएँ । दैनिक तरबुजाको विरुवामा छर्किरहेको छु । तर विरुवा मर्न छाडेको छैन,’ उनी सुस्केरा काढ्दै भन्छन् ।
दश वर्ष भयो, बिजुलियाले बगरमा तरबुजा उब्जाइरहेको । हरदिन उनको पसिना उही बगरमा खस्छ, जहाँ उनले तरबुजाका सपना बुनेका छन्। ‘रातदिन मेहनत गर्छु । एकछिन पनि कतै जान पाउँदिन । तर रोग लागेपछि लगानी डुब्ने चिन्ताले सताएको छ,’ दुःखी सुनिन्छन् उनी ।
तरबुजाबाटै हुने आम्दानीले उनको परिवार पालिएको छ । त्यही तरबुजा पनि नफले वर्षभरि कसरी बाँच्ने ? थाहा छैन बिजुलियालाई ।
गतवर्ष आठ कट्ठा बगरमा तरबुजा खेती गरे । खेतीबाट ८० हजार आम्दानी भएको थियो । यसवर्ष १२ कट्ठामा लगाएका थिए उनले । आशा थियो- दुई लाख आम्दानी गर्ने । ‘तर रोग लागेपछि खै के पो, होला र अब !’ उनी आशा मारिदिन्छन् ।
अर्का किसान कपिलदेव मुखियाको निद्रा हराएको छ, यतिबेला । उनको पीडा पनि बिजुलियासँग मिल्दो छ । यसपालि बगरको १५ कट्ठामा तरबुजा खेती गरेका थिए, उनले । ‘चार बोरा मल, दुई ट्याक्टर प्राङ्गारिक मल, बीउमा दुई हजार खर्च गरेको छु । रात पनि यहीँ कट्छ मेरो । तर, रोग विरुवामा रोग लाग्यो, लगानी डुब्ने भयो,’ उनी चिन्तित मुद्रामा भन्छन् ।
कार्तिकमा बिरुवा रोपे । त्यसयता उनी खटिरहेका छन् बगरमा ।
यसपालि पानी नपरेका कारण रोग लागेको उनको ठम्याइ छ । ‘पानी नपरेर रोग लाग्यो । अब कसरी देला फल,’ उनी सुनाउँछन् । बिजुलिया र कपिलदेव मात्र होइन्, तरबुजाको विरुवामा रोग देखापरेपछि कमला बगरमा खेती गरेका अधिकांश किसान मर्कामा छन् । विरुवा जोगाउन उनीहरू प्रयासरत छन् । ऋण काढेर खेत गर्नेहरू भने झनै अतालिएका छन् ।
भारतको जयनगर सीमा क्षेत्रदेखि बन्दीपुरसम्म हजारौं बिघा बगरमा तरबुजा, खिरा र तरकारी खेती गर्छन् किसानहरू । आफ्नो खेत नभएकाहरू पनि बगरमा खेती गर्दै आइरहेका छन् । जसलाई न कतैबाट सहयोग आउँछ न अनुदान । यसपालि उनीहरूको एउटै चिन्ता छ- यो सालको अभाव कसरी टार्ने ?
यहाँको बगरमा वर्षेनी करोडौंको तरबुजा र खिरा उत्पादन हुने गर्थ्यो । यहाँका तरबुजा काठमाडौं लगायत अन्य ठूलो सहरमा पुग्ने गर्छ ।
नीलगाईको आतंक
विरुवामा लागेको रोगले मात्र हैन, किसानहरू नीलगाईका कारण पनि आजित छन् । किसान कपिलदेव भन्छन्, ‘पहिलेनीलगाई थिएन । अहिले त यतिधेरै आएका छन् कि एकछिन कतै गयौं भने सबै खाइदिन्छ । खै कहाँबाट आएछ !’
नीलगाई र सुँगुरबाट विरुवा जोगाउन रातभर गस्ती गर्नुपरेको उनले सुनाए । ‘यतिधेरै आतंक मच्चाएको छ कि कुनै कामले बाहिर जानुपर्दा श्रीमती वा छोरा-छोरीलाई राखेर जानुपर्छ,’ उनी सुनाउँछन् ।
‘सरकारले सहयोग गरेन’
कृषि पेशामा लागेकालाई सरकारले वर्षेनी करोडौं रुपैयाँ अनुदान दिन्छ । तर बगरमा खेती गर्ने गरिब विपन्न किसानलाई हालसम्म एक रुपैयाँ पनि सहयोग गरको छैन । सरकारले धनी किसानलाई मात्र अनुदान दिने गरेको उनीहरूको गुनासो छ ।
बिजुलिया भन्छन्, ‘यतिका वर्ष भयो कसैेले बीउ पनि सहयोग गरेका छैन ।’ उनले सुनेका छन्, सिरहा छेउको बगरमा खेती गर्नेहरूलाई एनजिओले दमकल र विउ दिने गरेको । तर, आफूहरूले ऋण लिएर खेती गर्नुपर्ने बाध्यता भएको बताउँछन् बिजुलिया ।
तरबुजा बेच्दा मात्र सहयोग गर्छु भन्नेहरू देखिने उनी सुनाउँछन् । ‘गत वर्ष प्रदेशका कृषि मन्त्री पनि आउनुभएको थियो । उहाँले यो गर्छु, त्यो गर्छु भनेर जानुभयो । त्यसपछि फेरि कहिल्यै आउनु भएन,’ उनी गुनासो पोख्छन् ।