पर्यटकीय गन्तव्य बन्दै तनहुँको आँधीमूल (भिडियो)
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका- ५ मा रहेको आँधीमूल मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
गाउँपालिकाले मन्दिर आसपासका क्षेत्रमा विकास निर्माण थालेपछि यो क्षेत्र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
आँधीमूल स्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरू टाढाटाढादेखि धाउने गरेका छन् । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि छ ।
मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै तीन लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ ।
गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले यात्रा सहज बनाउन पृथ्वी राजमार्गको सत्रसयदेखि आँधीमूलसम्मको सडक कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताए ।
पृथ्वी राजमार्गको सत्रसयदेखि पैदल हिँड्दा करिब एक घण्टा लाग्छ । सवारीमार्फत् भने १५ मिनेटमै पुग्न सकिनेछ ।