कोरोनाको ‘हटस्पट’ नै बनेका हुन् त विद्यालय ? – Nepal Press

कोरोनाको ‘हटस्पट’ नै बनेका हुन् त विद्यालय ?

काठमाडौं । आइतबार नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय शैक्षिक संस्थाहरू कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गइरहेको बताए ।

गौतमका अनुसार कोरोना संक्रमण नेपालमा पुनः उकालो लाग्दै जाँदा संक्रमितहरूमा सीमा नाकाबाट नेपाल आउनेहरू र होटलमा काम गर्ने कर्मचारी धेरै छन् । यससँगै स्कुल वा कलेज पढाउने शिक्षकहरू पनि संक्रमित भइरहेको उनले बताए ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाका अनुसार टेकुमा केही दिनअघि एक जना कोरोना संक्रमित शिक्षक भर्ना भएका थिए । उनीपछि ५/६ जना शिक्षकमा कोरोना संक्रमण देखिएको थियो ।

जनस्वास्थ्यविद् डा समीरमणि दीक्षितको भनाइमा विद्यालय कोरोनाको हटस्पट बन्दै जानु पनि स्वभाविक हो । सामान्य रुघोखोकीदेखि अन्य भाइरस पनि विद्यालयबाटै देखिन सुरु गर्ने भएकाले विद्यालयका शिक्षक र विद्यार्थी संक्रमित बन्न सक्ने उनी बताउँछन् ।

‘विद्यालयमा एकै ठाउँमा धेरै विद्यार्थी घुलमिल गर्ने माहोल बन्छ । संक्रमित बच्चामा संक्रमणको लक्षण देखिन्न । उनीहरूले एकले अर्कालाई सार्न सक्छन् । कोही न कोही व्यक्तिले घरभित्र लिएर जान सक्छ,’ दीक्षित भन्छन् ।

स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्यो

काठमाडौंको निजी विद्यालयमा आफ्नो छोरा पढाइरहेका एक अभिभावक चिन्तामा छन् । संक्रमण बढेसँगै बच्चालाई स्कुल पठाउन उनलाई सकस छ ।

‘बिहान स्कुल पठाएको छोरा साँझ आउँदा रुघाखोकीले ग्रस्त भयो । केही दिन स्कुलै पठाएनौं,’ ती अभिभावकले भने, ‘नपठाउने पनि कति दिन ? स्कुलमा पढाइ भइरहेकै छ ।’

अहिले स्कुलहरूमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न छाडेर यस्ता समस्याहरू देखिन थालेको विज्ञहरू बताउँछन् ।

‘स्कुलमा अहिले मास्क लगाउने र दुरी कायम गर्ने मापदण्ड पालना भएका छैनन् । त्यसकारण शिक्षक र बालबालिकामा समस्या देखिएको छ,’ उनी भन्छन् ।

प्रवक्ता डा गौतम स्कुलमा कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताउँछन् । ‘धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने लगायतका नियम त छन् । तर त्यसको कार्यान्वायन पक्ष धेरै फितलो भएकाले समस्या देखिन थालेको छ । मास्कको प्रयोग राम्रो भए पनि शैक्षिक संस्थामा उचित हात धुने व्यवस्था नभएको लगायतका गुनासा छन्,’ उनी भन्छन् ।

सबै शैक्षिक संस्थामा हात धुन उचित व्यवस्थापन, मास्क अनिवार्य प्रयोग, एक अर्काबीच दुई मिटर दुरी कायम राख्न र शैक्षिक संस्थालाई जोखिम मुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

डा बाँस्तोला लक्षण देखिएका शिक्षक तथा विद्यार्थीहरूलाई स्कुल नपठाइ आइसोलेसनमा बसाउनुपर्नेमा जोड दिन्छन् ।

‘शंकास्पद लक्षण देखिएमा शिक्षक र बालबालिका दुवैलाई स्कुल पठाउनु भएन । अरु स्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्नुपर्छ,’ उनी सुझाउँछन् ।

शैक्षिक सत्रमा पर्ला असर ?

लामो समय कोरोना महामारीकै कारण ठप्प भएको शैक्षिक सत्र गत माघबाट सुचारु भयो । स्थानीय तहको निर्णयअनुसार बन्द भएका कतिपय स्कुल त भर्खरै मात्र खुलेका छन् । तर, पुनः संक्रमण बढिरहँदा, स्कुल नै हटस्पट बन्ने सम्भावना भइरहँदा शैक्षिक सत्रमा प्रभाव पर्ने देखिएको छ ।

शिक्षा मन्त्रालयका अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र नयाँ शैक्षिक सत्र असारबाट सञ्चालन गर्ने योजना छ । तर, महामारी बढ्दै जाने हो भने शैक्षिक सत्रलाई निश्चय नै असर पार्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । यद्यपि, अहिलेको अवस्थामै रहने हो भने शैक्षिक सत्रमा खासै समस्या नपर्ने उनको भनाइ छ ।

शिक्षाविद् विद्यानाथ कोइराला विद्यालयहरू अनिवार्य खोल्ने हो भने महामारी भयावह हुने बताउँछन् ।

‘शैक्षिक सत्रलाई सुरुदेखि नै अन्योल बनाइयो । मैले पहिल्यैदेखि नै भन्दै आइरहेको कुरा हो, स्कुल नियमित खोल्नु पर्दैन,’ उनले भने ।

कोरोना अझै लामो समय लम्बिरहने भएकाले अनिवार्य स्कुल विकल्पमा पनि शिक्षकहरूले सोच्नुपर्ने उनको आग्रह छ ।

‘इच्छा लागेका र स्वास्थ्य मापदण्ड पालना गर्नसक्ने विद्यार्थीहरू स्कुल जान्छन् । नजाने विद्यार्थीहरूलाई वैकल्पिक माध्यमबाट पढाउने तयारी शिक्षकले गर्नुप¥यो । रिसर्चका कामहरू दिनुपर्‍यो,’ कोइराला भन्छन् ।

अब पनि विकल्पबारे नसोच्ने हो भने अझै भयावह स्थिति आउन सक्ने उनको आँकलन छ ।

यद्यपि, स्कुलमा पढाइ अनिवार्य गर्ने वा नगर्ने भन्नेबारे स्थानीय तहलाई निर्णयको अधिकार भएको मन्त्रालयका प्रवक्ता शर्मा बताउँछन् । ‘विद्यालय सञ्चालनको कार्य ढाँचा छ । त्यो कार्यढाँचामा रहेर स्थानीय सरकारले निर्णय गर्छ । स्कल नियमित गर्ने वा आलोपालो गर्ने भन्नेबारे उनीहरूसँगै अधिकार छ । जनस्वास्थ्यको मापदण्ड हेरेर उनीहरूले सहजताका हिसाबले गर्न पाउँछन्,’ शर्मा भन्छन् ।

‘खोप वितरण भए समस्या हुन्न’

खोप अभियानलाई चुस्त बनाए स्कुल हटस्पट नबन्ने डा दीक्षित सुझाउँछन् । अबको खोप स्कुलका शिक्षकहरूममा लक्षित हुनुपर्ने उनको भनाइ छ ।

‘मन्त्रालयले शिक्षक र लक्षित वर्गलाई खोप दिन सक्षम भइसकेका छौं भनेर भन्नुपर्‍यो । ५५ वर्ष काटेका र अग्रपंक्तिमा रहेका सबैलाई खोप दिन सक्यो भने स्कुल बन्द गर्नुपर्ने समस्या हुन्न,’ उनी भन्छन् ।

संक्रमण अझै दुई तीन वर्षसम्म लम्बिने भएकाले राज्यले संक्रमण रोक्न खोपमै केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *