कपडा पसलमा काम दिने भन्दै युवतीलाई होटलमा पुर्याएपछि…
भक्तपुर । युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुलीका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुलीकी १९ वर्षीया मसेली भन्ने सुहाना तामाङ, नुवाकोटकी ३१ वर्षीया मुना थापा मगर, काठमाडौं ५२ वर्षीय प्रकाश ढुंगेल र ४७ वर्षीय राज कुमार सुनार रहेका छन् ।
पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते लिएर गएकी सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर काठमाडौं माकलबारीमा फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पुर्याई ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको भन्ने जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरु २ जनालाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकामाथि जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुहानाले युवतीहरुलाई काम लगाई दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने तथा अनिच्छुकलाई धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको र सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भई अभिभावकको सम्पर्कमा आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।